पोखरामा कुनै समय डेरी उद्योग नै थिएनन् । स्थानीय उत्पादनको अभावका कारण दुधको व्यवस्थित बजार विकास हुन सकेको थिएन । तर पछिल्ला वर्षहरूमा पोखरामा डेरी उद्योगका सम्भावना उल्लेखनीय रूपमा बढेका छन् । यद्यपि, आज ‘दुध बिक्री भएन’ भन्ने गुनासो व्यापक रूपमा सुनिन थालेको छ । यसको प्रमुख कारण पोखराबाहिरका–हेटौंडा, बुटवलजस्ता स्थानका डेरीबाट ठूलो परिमाणमा दूध भित्रिनु तथा भारतबाट काँचो दुध आयात भई सस्तोमा बिक्री हुनु हो ।
प्रशोधित दूध सुरक्षित र गुणस्तरीय बनाउन कम्तीमा ७५ डिग्री सेल्सियस तापक्रममा उमालेर ४ डिग्री सेल्सियसमा चिस्याउनुपर्छ । यस प्रक्रियाबाट विभिन्न हानिकारक जीवाणु नष्ट हुन्छन् र दूध उपभोगका लागि सुरक्षित बन्छ । साथै, दूध कति समयसम्म बाहिर राख्न मिल्छ भन्ने वैज्ञानिक मापदण्ड पनि छ । सामान्यतया दूध ३ देखि ४ घण्टासम्म मात्र बाहिर राख्न मिल्छ । चिसो मौसममा जोखिम कम भए पनि गर्मीमा दूध बाहिर राख्नु अत्यन्तै जोखिमपूर्ण हुन्छ ।
यी सबै मापदण्ड पालना गर्दा उद्योगहरूको लागत बढ्छ । कतिपय अवस्थामा उद्योगभित्र पनि व्यवस्थापन र प्रविधिमा कमजोरी देखिन्छ । तर प्रशोधित दुधको बिक्री घट्दै जाँदा उद्योग बन्द हुने, राज्यको कर आम्दानी घट्ने, रोजगारी खुम्चिने र समग्र आर्थिक चलायमानता कमजोर हुने अवस्था सिर्जना भएको छ ।
यस समस्याको समाधानका लागि राज्यले स्पष्ट र बलियो नीति लिनु आवश्यक छ । दूध सबैले नियमित रूपमा सेवन गर्नुपर्ने पोषणयुक्त खाद्य पदार्थ हो भन्ने विषयमा व्यापक जनचेतना अभियान चलाउनुपर्छ । साथै, भारतबाट आयात हुने काँचो दुधको अव्यवस्थित बिक्रीमा कडाइ गर्नुपर्छ । स्वदेशी डेरी उद्योगलाई संरक्षण, प्रोत्साहन र प्रविधिमैत्री बनाउने नीति बिना दुध क्षेत्रमा आत्मनिर्भरता सम्भव छैन ।





Comments are closed.