महोत्सवको रौनक कस्तो देखिरहनुभएको छ ?
महोत्सव एकदमै उत्साहजनक ढंगले अगाडि बढिरहेको छ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलज्यूबाट बुधबार उद्घाटन भएको काठमाडौं महोत्सवमा आजसम्म अवलोकनकर्ताको निकै ठुलो भिड लागेको छ । शनिबारसम्म चल्ने यो मेलामा सांस्कृतिक कार्यक्रमहरूले थप रौनकता थपेका छन्, जसले गर्दा परिवारसहित आउने दर्शकहरूको संख्या उल्लेख्य छ ।
महोत्सवमा मुख्य आकर्षण के-के छन् ?
स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिएका छौँ । काठमाडौँ महानगरका ३२ वटै वडाका मौलिक उत्पादनहरू एउटै थलोमा देख्न सकिन्छ । करिब २०० भन्दा बढी स्टलहरूमा स्वदेशी हस्तकला, कृषि उपजदेखि आधुनिक प्रविधिसम्मका सामग्री प्रदर्शनीमा छन् । स्थानीय तहका उत्पादन र स्टार्टअप उद्यमीहरूका लागि यो एक उत्कृष्ट मञ्च बनेको छ ।
सुस्ताएको अर्थतन्त्रका बीच यो महोत्सवले कस्तो सन्देश दिएको छ ?
पछिल्लो समय बजारमा केही शिथिलता देखिएको थियो । तर, यो महोत्सवले निजी क्षेत्रमा नयाँ ऊर्जा र आत्मविश्वास थपेको छ । यसले आर्थिक गतिविधि बढाउन र व्यवसायीहरूको मनोबल उच्च राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ । झन्डै एक लाख दर्शकले अवलोकन गर्ने हाम्रो लक्ष्यले व्यापारिक सञ्जाल विस्तारमा ठुलो सहयोग पुग्ने देखिन्छ ।
यो महोत्सवले उद्यम विकासमा कसरी मद्दत गर्ला ?
यो केवल किनबेच गर्ने ठाउँ मात्र होइन, यो त पब्लिक-प्राइभेट पार्टनरसिपको एउटा सफल नमुना पनि हो । स्थानीय उत्पादनको बजारीकरण र युवा उद्यमीहरूलाई लगानीकर्तासँग जोड्न यसले पुलको काम गरेको छ । यसले काठमाडौँलाई व्यापारिक र सांस्कृतिक पुनरुत्थानको केन्द्रका रूपमा स्थापित गर्नेछ भन्ने मेरो विश्वास छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
आजसम्म महोत्सव अवलोकन गर्न आउनुभएका सम्पूर्णप्रति आयोजकको तर्फबाट हामी आभारी छौं । शुक्रबार र शनिबार बिदाको दिन परेकाले महोत्सवमा बाक्लो उपस्थिति रहनेमा हामी विश्वस्त छौं । सम्पूर्णलाई महोत्सव अवलोकन गर्न र सल्लाह सुझाव दिनुहुन हार्दिक अनुरोध गर्दछु ।




Comments are closed.