स्थानीय उत्पादनको प्रवर्द्धनमा काठमाडौं महोत्सवको योगदान रहन्छ

काठमाडौं महोत्सव र नेपाली उत्पादनको बजार विस्तारका सन्दर्भमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका सहकोषाध्यक्ष एवं शुभकामना फुटवेयरका सञ्चालक नानीराज घिमिरेसँग आर्थिक आवाजका लागि गरिएको संक्षिप्त कुराकानी ट्ठ

राजधानीमा पहिलो पटक काठमाडौं महोत्सव आयोजना भइरहेको छ । यो महोत्सवबाट निजी क्षेत्रले कस्तो लाभ लिन सक्छ ?

राजधानीमा पहिलो पटक आयोजना भइरहेको यो महोत्सवले निजी क्षेत्रमा निकै ठूलो उत्साह जगाएको छ । विशेष गरी स्थानीय उत्पादनको बजारीकरणमा यसले महत्वपूर्ण योगदान पु¥याएको हामीले महसुस गरेका छौं । यसले उद्यमीहरूलाई आफ्नो उत्पादन देखाउने एउटा ठूलो मञ्च प्रदान गरेको छ ।

महोत्सवमा कस्ता खालका उत्पादन र प्रदर्शनीलाई विशेष जोड दिइएको छ ?

स्थानीय तहले तालिम दिएर तयार गरेका उद्यमीहरूका फरक-फरक उत्पादनहरू हामीले नजिकबाट अवलोकन गर्न सक्छौं । अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बस्तुहरु बिक्री तथा प्रदर्शनीमा छन् । खाद्यान्नदेखि घरायसी अन्य विविध सामान प्रदर्शन गरिएकोछ । काष्ठकलादेखि धेरै आकर्षक बस्तुहरु महोत्सवमा समावेशन छन् । यहाँको कला र संस्कृतिको संरक्षण तथा रैथाने खानाको प्रवद्र्धनमा पनि महोत्सवले पुलको काम गरेको छ । अवलोकनकर्ताको उपस्थिति पनि निकै बाक्लो छ।

दर्शकहरूको आकर्षण र पहुँचका लागि के-कस्ता व्यवस्था गरिएको छ ?

हामीले महोत्सवमा सबैको सहज पहुँच होस् भनेर निःशुल्क प्रवेशको व्यवस्था गरेका छौं । यसले गर्दा अवलोकनकर्ताहरूलाई कुनै अतिरिक्त भार नपर्ने र उनीहरूले ढुक्कसँग नेपाली उत्पादनहरूको अवलोकन तथा खरिद गर्न सक्ने वातावरण बनेको छ ।

तपाईं सञ्चालक रहेको शुभकामना फुटवेयरको उत्पादन ‘फस्ट वाक’ सुज महोत्सवमा कसरी जोडिएको छ ?

म सञ्चालक रहेको शुभकामना फुटवेयर इन्डस्ट्रिज प्रालिको उत्पादन ‘फस्ट वाक सुज’ यो महोत्सवमा फूटवयर पार्टनरका बनेको छ । महोत्सव अवधिभर हाम्रा उत्पादनहरूको प्रदर्शनी र बिक्री कक्ष राखिएको छ । यस्ता मेला महोत्सवले नेपाली उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले हामीले सहकार्य गरेका हौं ।

फस्ट वाक सुजका विशेषताहरू के-के हुन् जसले गर्दा उपभोक्ताले यसलाई रोज्ने गरेका छन् ?

हामीले विशेष गरी स्पोट्र्स जुत्ताहरू उत्पादन र बिक्री गर्दै आएका छौं । नेपाली उपभोक्ताको आवश्यकता र रुचि बुझेर हामीले गुणस्तर, टिकाउपन र आधुनिक डिजाइनमा जोड दिएका छौं । नेपाली उत्पादनलाई नै विश्वस्तरीय बनाउने हाम्रो लक्ष्य हो । यही कारणले गर्दा नै छोटो समयमा फस्ट वाकले बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।

नेपाली उत्पादन प्रयोग गर्ने उपभोक्ताहरूलाई के भन्न चाहनुहुन्छ ?

नेपाली उत्पादनको प्रवर्द्धन हुनु भनेको देशको अर्थतन्त्र बलियो हुनु हो । हामीले गुणस्तरमा कुनै सम्झौता गरेका छैनौं । त्यसैले महोत्सवमा आएर हाम्रा स्वदेशी उत्पादनहरू हेर्न र प्रयोग गर्न म सबैमा आग्रह गर्दछु ।

You might also like

Comments are closed.