खेलकर्मीहरुले राजनीतिक दललाई बुझाए दुरगामी प्रभाव राख्ने सुझावपत्र

काठमाडौं । नेपाल अहिले आम निर्वाचनको संघारमा उभिएको छ । राजनीतिक पार्टीहरू चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा रहेका छन् । दलहरुले घोषणापत्रमा नै आफ्ना एजेन्डालाई समावेश गरेर जाउन भन्ने उद्देश्यले खेलकर्मीहरुले विभिन्न राजनीतिक दललाई सुझावपत्र पेश गरिएको छ ।

करिब तीन दर्जन खेलकर्मीले बुझाएको सुझावपत्रमा मुलतः खेलकद आधारभुत अधिकार, पर्यटनको दिगो आधार, समृद्ध नेपालको लागि स्वस्थ नागरिकः स्वस्थ नागरिकका लागि समुदाय तथा विद्दालय तहबाटै खेलकुद, लगानी, रोजगारी तथा राष्ट्रिय गौरवका लागि खेलकुद, खेलाडी, प्राविधिक तथा खेलकुद संस्थाहरुको सुदृढिकरण, महिला शसक्तिकरण, अपांगमैत्री तथा भेट्रान खेलकुद लगायतमा जोड दिएको छ । साथै हिमाल, पहाड तथा तराईको भुगोलमा सम्भावित खेलकुद, खेलकुद नीति तथा ऐन संसोधन सहित समग्र खेल प्रशासनको सुधार लगायत समावेश गरिएको छ ।

राष्ट्रको पहिचान र राष्ट्रिय एकताको माला बोक्न सक्ने एउटा महत्वपूर्ण क्षेत्रको रुपमा रहेको खेलकुद क्षेत्र राज्यको प्राथमिकतामा पर्नुपर्छ भन्ने खेलकर्मीको साझा बुझाई हो । खेलकुदलाई संस्कृति तथा पर्यटन सँग जोडेर व्यवसायिक विकास गर्न सकिन्छ, जसलाई नीतिगत रुपमै व्यवस्था गर्नु अहिलेको आवश्यकता हो ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका कार्यालय प्रमुख डा. भिष्म अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका उप–सभापति डि.पि. अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द« गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका नेता जगन्नाथ खतिवडालाई सो सुझावपत्र बुझाईएको थियो । सुझावपत्र बुझ्दै वहाँहरुले आधुनिक समाज र राष्ट्रको मेरुदण्डको रुपमा रहेको खेलकुदलाई आफ्नो पार्टीले उच्च प्राथमिकतामा राखि घोषणा पत्रमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सुझावपत्र
श्री सभापति/अध्यक्ष ज्यू,
नेपालका राजनीतिक पार्टीहरु ।

विषयः संसदीय निर्वाचन २०८२ को घोषणापत्रमा खेल क्षेत्रलाई समावेश गर्नका लागि सुझावपत्र ।

महोदय,
हामी अहिले संसदीय निर्वाचन २०८२ को संघारमा उँभिएका छौं । नेपालका सबै प्रमुख राजनीतिक दल लगायतले आ–आफ्ना उम्मेदवार तथा एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका छन् । सबै राजनीतिक दलका फरक आस्था, विचार, दृष्टिकोण र सोहि अनुसारको प्राथमिकता हुनु स्वभाविक हो । तर राष्ट्रको पहिचान र राष्ट्रिय एकताको माला बोक्न सक्ने एउटा महत्वपूर्ण क्षेत्रको रुपमा रहेको खेलकुद क्षेत्र राज्यको प्राथमिकतामा पर्नुपर्छ भन्ने हाम्रो साझा बुझाई हो । संसारका जुनजुन देशमा खेलकुद क्षेत्र सफल छ, ती देशहरु समग्रमा सफल भएका छन् । कतिपय देशको मुल आर्थिक आधार नै खेलकुद क्षेत्र समेत रहेको छ । खेलकुदलाई संस्कृति तथा पर्यटन सँग जोडेर व्यवसायिक विकास गर्न सकिन्छ, जसलाई नीतिगत रुपमै व्यवस्था गर्नु अहिलेको आवश्यकता हो । खेलकुद क्षेत्र चलायमान हुँदा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीहरु, खेलकर्मीहरु, खेलकुदका अभियन्ताहरु सबैले आत्मसम्मान र राष्ट्रिय भावनामा गौरव महसुस गर्न सक्छन् । सँगै दिगो खेलकुद मार्फत देशको आर्थिक सामाजिक रुपान्तरण गर्न समेत सकिन्छ । सो का लागि भावी सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्न सकोस भन्ने हेतुले आफ्नो चुनावी घोषणापत्रमा समेत समावेश गरेर जावस् भन्ने अपेक्षा गर्दै तपाईंको राजनीतिक पार्टीलाई तपशिल अनुसारका सुझावहरु पेश गरेका गरेका छौं ।
सुझावहरुः
1. युवा तथा खेलकुद मन्त्रालयलाई कुल बजेटको न्यूनतम दुई (२) प्रतिशत बजेट विनियोजन गर्ने ।
2. अन्र्तराष्ट्रिय पदक विजेता खेलाडीहरुलाई सहज जीवनयापनका लागि राज्यका विभिन्न निकायमा स्थायी रोजगारीको व्यवस्था गर्ने ।
3. निजामती, प्रहरी, सेना, संस्थान, निगम आदिमा कर्मचारी व्यवस्थापन तथा पदपूर्ति गर्दा खेलकुद क्षेत्रको लागि समेत छुट्टै कोटाको व्यवस्था गरि प्रतिस्पर्धामा सामेल गराउने ।
4.  निजि, सार्वजनिक तथा सामुदायिक विद्यालय तथा विश्वविद्यालयहरुमा खेलकुद शिक्षकको अनिवार्य व्यवस्था गर्ने ।
छ। राष्ट्रिय अन्र्तराष्ट्रिय खेलाडी तथा खेल प्राविधिकहरुलाई सरकारी निकायबाट वितरण गरिने परिचयपत्रका आधारमा शिक्षा, स्वास्थ्य, यातायात तथा मनोरञ्जनका क्षेत्रमा ५० प्रतिशत (पारा तथा स्पेशल खेलक्षेत्रलाई निःशुल्क) छुटको व्यवस्था गर्ने ।
5.  हाईअल्टीच्युड, अल्पाईन तथा विन्टर स्पोर्टस सेन्टरहरुको विकास गर्दै उच्च पहाडी तथा हिमाली क्षेत्रलाई खेल पर्यटन मार्फत समृद्ध बनाउने ।
6. खेलकुदका अन्र्तराष्ट्रिय संघसंस्थाहरुको दर्ता तथा संचालनका लागि आवश्यक कानुनी व्यवस्था गर्ने ।
7. राष्ट्रिय खेल संघ वा खेलकुद क्लवहरुले खेल विकासका लागि खरिद, आयात वा अनुदानमा पैठारी गर्दा १ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मुल्य अभिवृद्धि कर लिई सहज पैठारीको व्यवस्था गर्ने ।
8.  खेलकर्मीहरूको योगदानको कदर गर्दै हाल प्रदान गरिँदै आएको पुरस्कार, प्रोत्साहन तथा सम्मान राशिलाई कम्तीमा दोब्बर बनाउने ।
9.  नेपाललाई विश्व खेलकुदको हवको रुपमा चिनाई दिगो पर्यटन प्रवद्र्धन गर्न सक्ने आधार भएको माउन्टेन स्पोर्टस गेम्सको अध्ययन, अनुसन्धान तथा पूर्वाधार निर्माणमा प्राथमिकता दिंदै आयोजनाको तयारी गर्ने ।
10.  वाटर स्पोर्टस मार्फत दिगो पर्यटन प्रर्वद्धनका लागि आवश्यक कानुन निर्माण गर्ने । तराईका तालतलैया र विभिन्न नदिहरुलाई दक्षिण एसियाली पर्यटकीय खेलस्थलको रुपमा विकास गर्ने ।
11.  राष्ट्रिय स्तरका सबै खेलहरुको दिगो विकासका लागि न्यूनतम एक अन्र्तराष्ट्रिय स्ट्यान्र्डड अनुसारको खेल पुर्वाधारको ग्यारेन्टी गर्ने ।
12.  प्रत्येक स्थानीय पालिकामा खेलग्राम तथा प्रत्येक वडाहरुमा कम्तीमा एउटा खेल मैदानको लागि आवश्यक बजेट विनियोजन गर्ने ।
13.  पारा स्पोर्टस, अपाङ्ग मैत्री खेल पूर्वाधार तथा भेट्रान खेलकुदलाई प्राथमिकता दिने ।
14.  युवाहरुलाई ईन्टरनेटको कुलतबाट जोगाउने एउटा महत्वपूर्ण माध्यम बनेको ई–स्पोर्टसलाई कानुनी दायरामा ल्याई व्यवस्थित, व्यवसायी र प्रतिस्पर्धी बनाउने ।
15.  महिला सशक्तीकरणका लागि विद्दालय र समुदाय स्तरबाट नै खेलकुदमा प्रोत्साहन गर्ने ।
16. अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी तथा एसियाली ओलम्पिक काउन्सिल बाट मान्यता प्राप्त खेलहरूलाई उच्च प्राथमिकता दिई नीति, कार्यक्रम र बजेटमा विशेष व्यवस्था गर्ने ।
17. प्रत्येक राष्ट्रिय खेलसंघलाई वार्षिक रूपमा कम्तीमा एक राष्ट्रिय तथा एक अन्र्तराष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न आवश्यक अनुदानको सुनिश्चित व्यवस्था गर्ने ।
18.बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र ठूला निजी तथा सार्वजनिक कम्पनीहरूको फण्डको कम्तीमा २० देखि ३० प्रतिशत हिस्सा खेलकुद प्रायोजनमा खर्च गर्नुपर्ने व्यवस्था गर्ने ।
19.  ऋक्च् अन्तर्गतको खेलकुद प्रायोजनमा कम्तीमा पाँच वा सोभन्दा बढी फरक–फरक प्रकृतिका खेलहरू समावेश गर्नुपर्ने मापदण्ड निर्धारण गरी खेलको विविधता र समावेशी विकास सुनिश्चित गर्ने ।
20. राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद् तथा स्थानीय तहबीच भूमिका, जिम्मेवारी र अधिकार स्पष्ट रूपमा विभाजन हुने गरी एकीकृत खेलकुद शासन  लागू गर्ने ।
21. खेलकुदका संघ–संस्थाको स्वायत्तता, पारदर्शिता र सुशासन सुनिश्चित गर्ने कानुनी प्रबन्ध गर्ने ।
22. खेलकुद क्षेत्रको समुचित विकासमा अन्तरसम्बन्ध राख्ने खेलकुद, पर्यटन, परराष्ट्र, वातावरण अर्थ लगायतका राज्यका निकायहरु तथा अन्य स्वदेशी तथा विदेशी डेभलपमेन्ट एजेन्सीको नीतिगत समन्वयका लागि विद्दमान खेलकुद नीति परिमार्जन गरी आधुनिक खेलकुद नीति निर्माण गर्ने ।
23. नेपालका राष्ट्रिय अन्र्तराष्ट्रिय खेलाडी तथा खेलक्षेत्रको ईतिहास संरक्षणका लागि विभिन्न प्रदेशमा ओलम्पिक म्युजियम बनाउने ।
24.  खेलकुदको पाठ्यक्रम व्यवस्थित र समयसापेक्ष बनाउँदै सातै प्रदेशमा प्रदेश स्तरीय खेलकुद एकेडेमी तथा एण्टीडोपिङ प्रयोगशालाको विकास गर्ने ।

धन्यवाद
सुझाव प्रस्तुतकर्ताहरुः (वर्णानुक्रमानुसार)
1. अच्युत खनाल, अध्यक्षः नेपाल स्केट बोर्ड एशोसियसन
2. अन्जन धमला, अध्यक्षः नेपाल ई–स्पोटर्स एशोसियसन
3. अरबिन्द झा, महासचिवः अखिल नेपाल कबड्डी संघ
4.  उमेश के.सी., रुल्स कमिशन काउन्सिलरः अन्तराष्ट्रिय बुद्धिचाल महासंघ
5. एकेन्द्र बहादुर कुँवर, अध्यक्षः नेपाल एडभेन्चर रनिङ फेडेरेशन
6.कालीबहादुर घर्ती, अध्यक्षः नेपाल हाप्किडो संघ
7. केशव कुमार विष्ट, पूर्व सदस्य सचिवः राष्ट्रिय खेलकुद परिषद
8.केशव श्रेष्ठ, अध्यक्षः नेपाल डान्स स्पोर्टस एशोसियसन
9. गोविन्दप्रसाद भट्टराई, कार्यकारी निर्देशकः नेपाल अटोमोबाईल एशोसियसन
10. दावा तामाङ, महासचिवः नेपाल कराँते महासंघ
11. दिपक खतिवडा, उपाध्यक्षः अखिल नेपाल फुटबल संघ
12. दिपक न्यौपाने, अध्यक्षः नेपाल बेसबल एण्ड सफ्टबल संघ
13. दिपक बहादुर सिंह, पूर्व सदस्य सचिवः सुुदुरपश्चिम खेलकुद विकास परिषद
14. दिपक देवकोटा, अध्यक्षः नेपाल रग्वी संघ
15. निरञ्जन राजवंशी, कोषाध्यक्षः ईन्टरनेशनल स्पोर्टस प्रेस एशोसियसन एसिया
16. पिताम्बर तिम्सिना, अध्यक्षः नेपाल हृयाण्डबल संघ
17. प्रतिक बहादुर खत्री, महासचिवः अल्पाईन स्पोर्टस फेडेरेशन नेपाल
18. भिम गुरुङ, अध्यक्षः नेपाल बास्केटबल संघ
19.भुपेन्द्र राई, अध्यक्षः नेपाल प्याराग्लाईडिङ तथा हृयाङग्लाईडिङ संघ
20. युवराज लामा, पूर्व सदस्य सचिवः राष्ट्रिय खेलकुद परिषद
21. रमेशकुमार पौडेल, अध्यक्षः स्पोर्टस क्लाईम्बिङ एशोसियसन
22. रमेश शिवाकोटी, महासचिवः नेपाल आर्चरी संघ
23. राजकुमार कार्की, महासचिवः नेपाल विद्दालय खेलकुद महासंघ
24. राजीव श्रेष्ठ, अध्यक्षः नेपाल ¥याफ्टिङ एण्ड क्यानोईङ एशोसियसन
25. विश्वामित्र संज्याल, निवर्तमान सदस्य सचिवः कर्णाली प्रदेश खेलकुद परिषद
26. सुवर्ण केशरी श्रेष्ठ, महासचिवः नेपाल हक्की संघ
27. सुर्य भण्डारी, निवर्तमान सदस्य सचिवः बागमती प्रदेश खेलकुद विकास परिषद
28. सुर्यबहादुर बुढाथोकी, अध्यक्षः नेपाल फुलकन्ट्याक्ट कराँते महासंघ
29.  सुर्यबहादुर भट्टराई, वरिष्ठ उपाध्यक्षः नेपाल टग अफ वार एशोसियसन
30. सोन्सी श्रेष्ठ, नेपाल ओलम्पिक म्युजियम
31. हरी धरेल, पर्यटकीय खेलकर्मी
32. हिम विक्रम के.सी., खेल संचारकर्मी

You might also like

Comments are closed.