काठमाडौं । आकार फाउन्डेशनले आज ललितपुर महानगरपालिकामा एक विशेष सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै कला प्रदर्शनीका क्रममा चित्रकला बिक्री गर्न सफल अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गरेको छ । कार्यक्रममा सहभागी कलाकारहरूको सृजनशीलता, मेहनत र उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै समावेशी कलामा उनीहरूको योगदानलाई कदर गरिएको थियो ।
कार्यक्रमका क्रममा चित्रकला बिक्री भएका कलाकारहरूले आफ्ना चित्रकला बिक्रीबाट प्राप्त पहिलो आम्दानी ग्रहण गरेका थिए, जसले उनीहरूको सृजनात्मक यात्रामा एक महत्वपूर्ण कोशेढुंगा कायम गरेको छ । आर्थिक सहयोगसँगै प्रत्येक सहभागीलाई सम्मान र प्रोत्साहनस्वरूप प्रशंसापत्र पनि प्रदान गरिएको थियो । ललितपुर महानगरपालिकाका सूचना अधिकारी देवप्रसाद गुरागाईंले कलाकारहरूलाई पुरस्कार प्रदान गर्दै उनीहरूको मौलिकता, समर्पण र कलात्मक अभिव्यक्तिको प्रशंसा गरे। साथै, यस प्रयासलाई सफल बनाउन सहयोग गर्ने स्वयंसेवकहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।
आकार फाउन्डेशन र ललितपुर महानगरपालिकाको अपाङ्गता भएका व्यक्तिहरूलाई अर्थपूर्ण अवसर मार्फत सशक्त बनाउने साझा प्रतिबद्धता अनुरुप यो कार्यक्रम गरिएको थियो । सहभागीहरूलाई कलात्मक सीपका लागि मात्र नभई कला मार्फत् आफ्नो अभिव्यक्ति प्रस्तुत गर्ने आत्मविश्वास र दृढताका लागि पनि हार्दिकतापुर्वक सम्मान गरिएको थियो। कलाकारहरूलाई गौरव, खुशी र प्रेरणाले भरिपूर्ण कार्यक्रममा सार्वजनिक रूपमा सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै आकार फाउन्डेशनका प्रतिनिधिहरूले अपाङ्गता भएका कलाकारहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र सृजनशीलताबाट आर्थिक लाभ लिन सक्ने समावेशी मञ्चहरूको महत्त्वमा जोड दिए । उनीहरुले यस्ता कदमले आत्मसम्मान वृद्धि गर्ने, सामाजिक समावेशिता प्रवर्द्धन गर्ने र समुदायको व्यापक सहभागिता बढाउने कुरा उल्लेख गरे ।
ललितपुर महानगरपालिका र आकार फाउन्डेशनबीचको सहकार्यले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता र योगदानलाई मूल्याङ्कन गर्ने अवसरहरू निरन्तर सिर्जना गर्दै आएको छ ।




Comments are closed.