काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आफ्नो १३औं स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा व्यवसायीहरूको सहजताका लागि ‘व्यावसायिक सहायता कक्ष’ (हेल्प डेस्क) सञ्चालनमा ल्याएको छ।
त्रिपुरेश्वरस्थित महासंघको सचिवालयमा आयोजित एक विशेष समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ईश्वर कार्कीले उक्त सहायता कक्षको औपचारिक उद्घाटन गरे ।
सुन, चाँदी, रत्न तथा आभूषण व्यवसायीहरूलाई प्रचलित ऐन, कानुन र नियमहरूबारे सचेतना जगाउने, प्रशिक्षण दिने तथा व्यावसायिक प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले सहायता कक्ष उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि कार्कीले पछिल्लो समय प्रविधिको प्रयोग गरी हुने अपराध बढ्दै गएकाले व्यवसायीहरू सतर्क रहनुपर्नेमा जोड दिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले विविध समस्या समाधान तथा अपराध नियन्त्रणमा समेत हेल्प डेस्क सहयोगी हुने विश्वास व्यक्त गरे ।
सहायता कक्षले व्यवसायीहरूलाई बजारमा आइपर्ने कानुनी समस्या, सुरक्षा चुनौती र दर्ता प्रक्रिया जस्ता विषयमा तत्काल परामर्श उपलब्ध गराउने महासंघका अध्यक्ष किसान सुनारले जानकारी दिए । महासंघले नीतिगत सुधारमा काम गरिरहेको बताए । व्यवसायीहरूका समस्या समाधानका लागि हेल्प डेस्कले सहयोग गर्ने उनको भनाई छ ।

महासंघले स्थापना दिवसको अवसरमा प्रादेशिकस्तरमा तालिम, प्रशिक्षण लगायत विविध कार्यक्रम गरिसकेको महासचिव निरबहादुर विश्वकर्मा (विमल)ले जानकारी दिए ।
महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्माले लामो समयको प्रयास र छलफलपछि हेल्पडेस्क स्थापना गरिएको र व्यावसायिक सुरक्षामा हेल्पडेस्क सहयोगी हुने उनले बताए । आगामी दिनमा प्रदेश तथा जिल्लामा पनि हेल्पडेस्क स्थापना गरिने उनलेे जानकारी दिए ।




Comments are closed.