काठमाडौं । पावन पर्व महाशिवरात्रिको अवसरमा श्रद्धालु भक्तजनहरुको सुविधा तथा सेवालाई प्राथमिकतामा राख्दै Helping Hand Foundation द्वारा निःशुल्क पानी तथा जुस वितरण कार्यक्रम भोलि आयोजना गरिने भएको छ ।
भगवान शिव को आराधनाका लागि देशभरिका विभिन्न मन्दिर तथा पूजास्थलहरुमा आउने हजारौँ भक्तजनहरुको भीडलाई मध्यनजर गर्दै उक्त सेवा कार्यक्रम सञ्चालन गर्न लागिएको हो। विशेष गरी उपवास तथा व्रत बस्ने भक्तजनहरुको स्वास्थ्य, सहजता र विश्रामलाई ध्यानमा राख्दै शुद्ध पिउने पानी तथा जुस वितरण गरिने आयोजकले जनाएको छ । संस्थाका अध्यक्ष अशोक तन्डुकार का अनुसार, महाशिवरात्रि जस्तो पवित्र पर्वमा भक्तजनहरुको सेवा गर्नु नै संस्थाको मुख्य उद्देश्य रहेको छ। उनले भने, “हामीले यो कार्यक्रम पूर्ण रुपमा सेवाभावले आयोजना गरेका हौँ, जसले हजारौँ श्रद्धालुहरुलाई केही सहजता प्रदान गर्ने विश्वास गरेका छौँ।”
यस पुण्य कार्यमा Hygen Packs Nepal Pvt. Ltd. (Mania/Evil) तथा Lumati Trading (गोसाइँकुण्ड पानी) को विशेष सहयोग रहने बताइएको छ । आयोजकका अनुसार सहयोगी संस्थाहरुको सहकार्यले कार्यक्रमलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
यस कार्यक्रमका संयोजक तथा संस्थाका कोषाध्यक्ष श्री अजिता श्रेष्ठ ज्युले “महाशिवरात्रि जस्तो पवित्र र आध्यात्मिक महत्व बोकेको पर्वमा देशभरिका हजारौँ श्रद्धालु भक्तजनहरू भगवान शिवको दर्शन तथा आराधनाका लागि मन्दिरहरूमा उपस्थित हुनुहुन्छ । यस्तो अवसरमा उपवास, व्रत तथा लामो समयसम्मको प्रतीक्षाका कारण धेरै भक्तजनहरूलाई शारीरिक थकान, पानीको अभाव तथा स्वास्थ्यसम्बन्धी असहजता हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै हामीले यो निःशुल्क पानी तथा जुस वितरण सेवा कार्यक्रम सञ्चालन गरेका हौँ ।
हाम्रो सानो प्रयासले भक्तजनहरूलाई केही क्षणको विश्राम, ताजगी र सहजता प्रदान गर्न सकोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो । यस सेवामूलक कार्यमार्फत मानवता, करुणा र सेवा भावलाई व्यवहारमा उतार्ने हाम्रो प्रयास हो। ‘सेवा नै धर्म हो, सेवा नै शिव हो’ भन्ने हाम्रो मूल मन्त्रलाई आत्मसात गर्दै हामी निरन्तर समाजप्रति उत्तरदायी र सेवामुखी कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
यस कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी संस्था, दातृ व्यक्तित्व, स्वयंसेवक साथीहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सबैप्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । साथै सम्पूर्ण धर्मप्रेमी, श्रद्धालु तथा भक्तजनहरूलाई यस सेवाबाट लाभ लिन तथा कार्यक्रममा सहभागी भई सहयोग र सद्भाव प्रकट गर्न हार्दिक अनुरोध गर्दछौँ ।”
Helping Hand Foundation विगतदेखि नै सामाजिक सेवा, मानवता र धार्मिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएको संस्था हो । “सेवा नै धर्म हो, सेवा नै शिव हो” भन्ने मूल नारालाई आत्मसात गर्दै संस्थाले विभिन्न अवसरमा निःशुल्क सेवा, सहयोग तथा जनकल्याणकारी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
संस्थाले यस अवसरमा सम्पूर्ण धर्मप्रेमी, श्रद्धालु तथा भक्तजनहरुलाई कार्यक्रममा सहभागी भई निःशुल्क पानी तथा जुस ग्रहण गर्न हार्दिक अनुरोध गरेको छ। साथै आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।




Comments are closed.