निजी क्षेत्रको साझा लक्ष्य : सुदृढ महासंघ र समृद्ध अर्थतन्त्र

भक्त हमाल, कार्यकारिणी सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघ मुलुकको आर्थिक क्षेत्रको मेरुदण्ड हो, छाता संस्था हो । हामी नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभाको संघारमा छौं । उक्त साधारणसभाबाट हामी केवल नेतृत्व चयन मात्र गर्ने छैनौँ, बरु निजी क्षेत्रको भविष्यको दिशा समेत तय गर्नेछौं । महासंघको सुधार र सुदृढीकरण नै आजको मुख्य आवश्यकता हो । हामी यही संकल्पमा केन्द्रित छौं ।

हाम्रो टिम केवल व्यक्तिहरूको समूह होइन । यो साझा सोच र प्रतिबद्धताको दस्ताबेज हो । पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्मका उद्योगी–व्यवसायीहरूको प्रतिनिधित्व हुने गरी हामीले समावेशी टिम निर्माण गरेका छौँ । व्यवसायका प्रकृतिका आधारमा कार्यक्षेत्र फरक होलान्, तर हामी सबैको गन्तव्य एउटै छ, महासंघलाई अझ बढी उत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउने ।

लोकतान्त्रिक अभ्यासमा विचार फरक हुनु स्वाभाविक हो । महासंघभित्र देखिने फरक मतलाई हामीले विभाजनको रूपमा नभई समृद्धिको मार्गमा गरिने ‘स्वस्थ बहस’का रूपमा लिनुपर्छ । आजको आर्थिक शिथिलता र व्यवसायीहरूले भोगिरहेका जटिल चुनौतीहरू सामना गर्न कुनै एक व्यक्ति वा समूह पर्याप्त छैन, यसका लागि सम्पूर्ण निजी क्षेत्रको ढुकढुकी एक हुन जरुरी छ । हाम्रो लक्ष्य प्रतिस्पर्धा मात्र होइन, ‘सहकार्य’ हुनुपर्छ ।

चुनावी माहोलले संस्थालाई चलायमान बनाए पनि संस्थाको गरिमा चुनावी नतिजाभन्दा पनि माथि हुन्छ । सहमति र सहकार्यका लागि हाम्रा ढोकाहरू सधैँ खुला छन् । अन्ततः महासंघ हामी सबैको साझा घर हो । चुनावमा कसको जीत वा हार हुन्छ भन्ने गौण विषय हो, मुख्य कुरा निजी क्षेत्रको एजेन्डाले जित्नुपर्छ । जित कसैको व्यक्तिगत होइन, सम्पूर्ण निजी क्षेत्रको हुनुपर्छ ।

चुनावी मैदानमा रहँदा एक-अर्काप्रति सम्मान कायम राख्नु हाम्रो संस्कार हो । चुनावपछिको यात्रा अझ चुनौतीपूर्ण छ, जहाँ हामी सबै मिलेर निजी क्षेत्रको हितमा काम गर्नेछौं । उद्योगीहरूले ढुक्क भएर लगानी गर्ने वातावरण निर्माण, निजी क्षेत्रमैत्री कानुनका लागि सरकारसँग सशक्त संवाद, देशमै युवाहरूका लागि अवसर सिर्जना गर्ने उद्योगहरूको प्रवद्र्धन, मुलुकको जीडीपीमा निजी क्षेत्रको योगदानलाई थप मजबुत बनाउने लगायतका प्रतिबद्धतासहित हामी चुनावी अभियानमा छौं । हामीले निजी क्षेत्रको प्रतिनिधित्व गर्नेछौं भन्नेमा विश्वस्त छौं ।

आगामी निर्वाचनलाई महासंघको संस्थागत सुदृढीकरणको अवसरका रूपमा उपयोग गरौँ । आपसी हातेमालो र एकताले मात्र हामीले भोगेका समस्याको समाधान निकाल्न सक्छ । सबै उम्मेदवार साथीहरूलाई मर्यादित र सफल चुनावी यात्राको हार्दिक शुभकामना ।

(महासंघको आसन्न निर्वाचनका लागि हेमराज ढकाल नेतृत्व प्यानलको उम्मेदवारी घोषणा सभामा हमालद्वारा व्यक्त विचारको सम्पादित अंश)

You might also like

Comments are closed.