काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य कारबाहीले मध्यपूर्वमा तनाव बढाइरहेको छ भने यसको प्रत्यक्ष प्रभाव विश्व ऊर्जा बजारमा देखिन थालेको छ। ब्रेन्ट क्रुडको मूल्य ८४ अमेरिकी डलर नजिक पुगेको छ भने अमेरिकी डब्लूटीआई ७७ डलर नाघेको छ । कतारले एलएनजी उत्पादन रोकेपछि विश्वव्यापी ग्यास मूल्य ५० प्रतिशतसम्म बढेको छ ।
नेपाल र भारत जस्ता तेल आयातमा निर्भर देशहरूमा यसको असर सिधा देखिने अनुमान गरिएको छ। भारत आफ्नो कुल तेल आवश्यकताको ८८ प्रतिशत आयात गर्ने भएकाले विश्व बजारमा बढेको मूल्यले व्यापार घाटा र मुद्रा दबाबमा असर पार्नेछ ।
नेपालमा पेट्रोलियम आपूर्ति पूर्ण रूपमा भारतमा निर्भर छ। आयल निगमका अनुसार आपूर्ति निरन्तर जारी रहँदैछ र संकटको तत्काल अवस्था छैन । निगमसँग मूल्य स्थिरीकरण कोष र भारतसँग दीर्घकालीन सम्झौता भएकोले आपूर्ति रोकिँदैन ।
तर विज्ञहरूका अनुसार नेपालको भण्डारण क्षमता सीमित भएकोले विश्व बजारमा मूल्य वृद्धि वा आपूर्ति अवरुद्ध भएमा नेपाली उपभोक्तामा इन्धन महँगो हुने र ढुवानी तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा पनि असर पर्न सक्ने चेतावनी दिइएको छ ।
नेपालको कुल वार्षिक पेट्रोलियम खपत भारतको एक दिनको खपतको बराबर मात्र भएकाले आपूर्ति रोकिँदा पनि केही दिनसम्म व्यवस्था चलाउन सकिन्छ ।



Comments are closed.