काठमाडौं । एसियाली बजारमा बिहीबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर पुगेको छ, जुन करिब ९ प्रतिशतले वृद्धि भएको हो ।
ब्रेन्ट कच्चा तेल विश्व बजारमा तेलको मूल्य निर्धारणका लागि प्रयोग हुने प्रमुख बेन्चमार्कहरूमध्ये एक मानिन्छ ।
यसबीच अमेरिका, बेलायतलगायत केही देशहरूले आपतकालीन भण्डारबाट रेकर्ड मात्रामा तेल निकासी गर्ने घोषणा गरेका छन् । तर यस्तो कदमका बाबजुद पनि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्न सकेको छैन ।
उता इरानले हर्मुज जलडमरूमध्य (Hormuz Strait) हुँदै पारवहन गर्ने जहाजहरुविरुद्ध आफ्नो धम्की जारी राखेको छ । विश्वको करिब २० प्रतिशत कच्चा तेलको ढुवानी यही समुद्री मार्गबाट हुने भएकाले यसलाई अत्यन्तै रणनीतिक र संवेदनशील मार्ग मानिन्छ ।
यस कारणले पनि अन्तर्राष्ट्रिय बजारमा तेलको आपूर्ति अस्थिर हुने चिन्ता बढ्दा मूल्यमा थप दबाब परेको विश्लेषकहरूले बताएका छन् । – एजेन्सी






Comments are closed.