काठमाडौं । ‘वर्ल्ड रिसाइक्लिङ डे’को अवसर पारेर खालिसिसी ले कोका–कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका लागि सुरक्षित स्थान ‘सम्मान घर’को उद्घाटन गरेको छ ।
यो सुविधा खालिसिसीको ‘WOW सेन्टर’ (Well–Being Out of Waste) भित्र स्थापना गरिएको हो । यो रिसाइक्लिङ तथा सामुदायिक नवप्रवर्तन केन्द्र हो, जसलाई कोका–कोला बेभरेजेज नेपालले सहयोग गर्दै आएको छ । यस केन्द्रले रिसाइक्लिङ प्रणाली सुदृढ बनाउनुका साथै त्यसमा योगदान गर्ने व्यक्तिहरूको जीवनस्तर उकास्ने काममा केन्द्रित छ ।
‘सम्मान घर’ नेपालका रिसाइक्लिङ प्रणालीमा फोहोर सङ्कलक महिलाले निर्वाह गर्दै आएको महत्वपूर्ण तर प्रायः अदृश्य भूमिकालाई सम्मान गर्न स्थापना गरिएको हो । यी महिलाहरूले मूल्यवान सामग्री सङ्कलन गरी सहर सफा राख्न योगदान दिए पनि उनीहरूले दैनिक रूपमा काम र बालबालिकाको हेरचाह सन्तुलन गर्न चुनौती भोगिरहेका हुन्छन् ।
नयाँ उद्घाटन गरिएको यस स्थानले बालबालिकालाई सुरक्षित र स्याहारपूर्ण वातावरण प्रदान गर्दछ, जहाँ उनीहरूले खेल्न, सिक्न र समय बिताउन सक्छन् । यसले आमाहरूलाई काम गर्दा मानसिक शान्ति र सम्मानको अनुभूति दिलाउने लक्ष्य राखेको छ ।
उद्घाटन कार्यक्रममा खालिसिसीका प्रमुख कार्यकारी अधिकृत अमुन थापाले भने, “फोहोर सङ्कलकहरू नेपालका रिसाइक्लिङ प्रणालीका मेरुदण्ड हुन्, तर उनीहरूको योगदान प्रायः ओझेलमा पर्छ । ‘सम्मान घर’ उनीहरूको भूमिकालाई मान्यता दिने सानो तर अर्थपूर्ण प्रयास हो । साथै, उनीहरूका बालबालिकालाई सुरक्षित रूपमा सिक्ने र हुर्किने स्थान उपलब्ध गराउने हाम्रो लक्ष्य हो । खालिसिसीमा हामी विश्वास गर्छौं कि चक्रिय अर्थतन्त्र निर्माण गर्नु भनेको त्यसलाई चलायमान बनाउने मानिसहरूको सम्मान र सहयोग सुनिश्चित गर्नु पनि हो ।”
देशभरका साझेदारहरूसँग मिलेर रिसाइक्लिङ प्रणाली सुदृढ बनाउन काम गर्दै आएको कोका–कोला बेभरेजेज नेपालले ध्इध् सेन्टरको विकासमा सहयोग पु¥याएको छ र वातावरणीय सुधार तथा समुदायको समग्र हितका लागि विभिन्न पहलहरूमा सहकार्य गरिरहेको छ ।
कोका–कोला बेभरेजेज नेपालकी कम्युनिटी एण्ड सस्टेनेबिलिटी म्यानेजर स्नेहा श्रेष्ठले भनिन्, “हाम्रो विश्वास छ कि प्रभावकारी रिसाइक्लिङ प्रणाली केवल पूर्वाधारमा मात्र होइन, त्यसलाई सम्भव बनाउने मानिसहरूको कल्याणमा पनि आधारित हुन्छ । ‘सम्मान घर’ले साझा र राम्रो भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ । यसले वातावरणीय प्रगति अघि बढाउनुका साथै समुदायलाई सशक्त बनाउने काम गर्छ । खालिसिसीसँगको सहकार्यमार्फत फोहोर सङ्कलक महिलाको अमूल्य योगदानलाई सम्मान गर्दै उनीहरूको परिवारका लागि सुरक्षित र स्याहारपूर्ण वातावरण सिर्जना गर्न पाउँदा हामी गौरवान्वित भएका छौं । समावेशी र दिगो समुदाय निर्माणमा हामी निरन्तर प्रतिबद्ध रहनेछौं ।”
आगामी दिनमा खालिसिसीले ‘सम्मान घर’ को अवधारणालाई विस्तार गरी फोहोर सङ्कलक परिवारहरूलाई थप सहयोग पु¥याउने योजना बनाएको छ । यस अन्तर्गत स्वास्थ्य सहयोग, बालबालिकाका लागि शैक्षिक अवसर, तथा समुदाय केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने सम्भावना बारे अध्ययन भइरहेको छ ।
यो उद्घाटनले सामाजिक उद्यम र निजी क्षेत्रबीचको सहकार्यले वातावरणीय मात्र होइन, सामाजिक रूपमा पनि समावेशी रिसाइक्लिङ प्रणाली निर्माण गर्न सकिने सन्देश दिएको छ ।






Comments are closed.