केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

अच्युत रेग्मी//काठमाडौं । सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौं आएका सार्वजनिक सवारीसाधनलाई पार्किङ गर्न केन्द्रीय बसपार्क (नयाँबसपार्क) निर्माण गरेको छ । ठूलो लगानीमा बसपार्क बनाइए पनि सार्वजनिक सवारीसाधन भने बसपार्क बाहिरबाटै सञ्चालन हुँदै आएका छन् ।

सार्वजनिक यातायात व्यवस्थापन तथा सुधारका लागि काठमाडौँ महानगरपालिकाको पहलमा विसं २०५० मा नयाँबसपार्क स्थापना भए पनि कतिपय सवारीसाधन भने हाल पनि नयाँबसपार्क बाहिरै पार्किङ बनाएर सञ्चालन हुँदै आएका हुन् ।

काठमाडौँ महानगरपालिकाले विसं २०८० जेठ १९ गते एक सूचना प्रकाशित गरी काठमाडौंको ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि सोही वर्षको असार १ गतेदेखि नयाँबसपार्क बाहिरबाट सञ्चालन हुँदै आएका सम्पूर्ण यात्रुवाहक सवारीसाधनलाई बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयसँगै केही सवारीसाधन नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थाले पनि केही सार्वजनिक सवारीसाधन भने हालसम्म पनि नयाँबसपार्क बाहिरबाटै सञ्चालन हुँदै आएका छन् । मधेस–प्रदेश, बागमती प्रदेशको दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, मकवानपुरलगायत स्थानमा सञ्चालन हुने सार्वजनिक सवारीसाधन नयाँबसपार्कभित्रबाट सञ्चालन हुँदैनन् ।

मधेस प्रदेशका अधिकाशं जिल्लामा जाने सवारीसाधन पशुपति, गौशाला, चावहिल र धोविखोला करिडोरबाट सञ्चालन हुन्छन् । दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र रामेछाप सञ्चालन हुने सवारीसाधन कोटेश्वरमा अस्थायी बसपार्क बनाएर सञ्चालन हुँदै आएको छ । यस्तै, रसुवा, नुवाकोट, धादिङ चल्ने सवारीसाधन माछापोखरी सडक र मकवानपुर चल्ने सवारीसाधन बल्खुबाट सञ्चालन हुँदै आएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतम नारायणी पश्चिमका सबै सार्वजनिक बस नयाँबसपार्कबाट सञ्चालन हुँदै आए पनि नारायणी पूर्व र छोटो दूरीका सवारीसाधनले भने निर्णय पालना गर्न नसकेको बताउछन् । “काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाहसहित यातायात व्यवसायी, ट्राफिक प्रहरी, लोत्से बहुउदेश्यीय प्रालिका प्रतिनिधि बसेर सबै सार्वजनिक सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय भएको थियो, उक्त निर्णय कार्यान्वयनमा समस्या भएको छ”, उनि भन्छन् ।

गौतमले यातायात व्यवसायीको अस्वस्थ प्रतिस्पर्धाका कारण निर्णय कार्यान्वयनमा समस्या परेकाले ट्राफिक प्रहरी र महानगरले ट्राफिक व्यवस्थापनका लागि निर्णय कार्यान्वयन गराउनुपर्ने र व्यवसायीले पनि सहयोग गर्नुपर्ने बताए ।

महासचिव गौतमले भने, “सर्वपक्षीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न आफूहरूलाई कुनै समस्या छैन । सार्वजनिक सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन नहुँदा स्थानीय सवारीसाधनलाई समेत असर परेको छ । यस विषयमा सबै गम्भीर बन्नुपर्छ ।”

ट्राफिक प्रहरीले गत मङ्सिर १८ गते काठमाडौं उपत्यकामा हुने जाम व्यवस्थापन गर्न लामो दूरीका दिवा तथा रात्रिकालीन सार्वजनिक सवारीसाधनलाई नयाँबसपार्कबाट सञ्चालन गर्ने व्यवस्था लागू गरेको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदी नयाँबसपार्कभित्र जान नमान्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गर्दै आएको बताउछन् । “लामो दूरीका दिवा तथा रात्रिबस नयाँबसपार्कभित्र नजाँदा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको छ । ट्राफिक जामलगायत समस्या समाधान गर्न उक्त व्यवस्था गरेका हौँ”, उनि भन्छन् ।

प्रवक्ता सुवेदीले लामो दूरीका दिवा तथा रात्रिकालीन सवारीसाधनलाई गन्तव्यस्थलसम्म पुगे नपुगेका विषयमा आफूहरूले काठमाडौं भित्रिने नाकाबाटै निगरानी बढाउँदै आएको र गन्तव्यस्थलसम्म नपुग्ने सवारीसाधनलाई कारबाही गर्ने गरिएको बताए । “बाटो इजाजतअनुसारको गन्तव्यमा नगई जथाभावी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा असर पु¥याउने सवारीसाधनलाई ट्राफिक प्रहरीले यातायात व्यवस्था ऐन, २०४९ को दफा ७५ अनुसारको कसुर अनुसार कारबाही गरिरहेको छ । उक्त कसुरविपरीत गर्ने सवारीसाधनलाई रु एक हजारदेखि पाँच हजारसम्म कारबाही गरिँदै आएको छ”, उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर काठमाडौंभित्रको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन महानगर लागिरहेको बताउछन् । “काठमाडौं महानगरपालिकाभित्रको यातायातलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि महानगरपालिकाले ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा मजदुरसँग सहकार्य गरिरहेका छौँ”, उनि भन्छन् ।

प्रवक्ता मानन्धरले चक्रपथ वरपर राखिएका धेरैजसो टिकट काउन्टर हटाइसकिएको र बाँकी काउन्टरलाई पनि चाँडो हटाएर व्यवस्थित महानगर बनाउने लक्ष्य रहेको बताए ।

काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारीसाधनलाई व्यवस्थित तथा पार्किङ गर्न महानगरपालिकाले विसं २०५६ मा लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको उक्त बसपार्कमा आठ सयभन्दा बढी सार्वजनिक सवारीसाधन राख्न मिल्ने क्षमता छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौं उपत्यकामा झन्डै १८ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने झण्डै दुई हजार ट्राफिक जनशक्ति कार्यरत छन् । पछिल्लो समय मुलुकको राजधानी काठमाडौँलगायत देशभर निजी तथा सार्वजनिक सवारीसाधनको सङ्ख्या वृद्धि हुँदा र बाटो साँघुरो हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।
रासस

You might also like

Comments are closed.