पोखरा । पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजना तथा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) कास्कीको सहकार्यमा सञ्चालित पोखरा आइडिया मार्टको चौथो संस्करण बुधबार सम्पन्न भएको छ ।
सात दिनको बुट क्याम्प पछि ४० जनाको सहभागिता रहेको कार्यक्रमको प्रस्तुतीकरणमा ११ वटा टिम सहभागी थिए ।
कार्यक्रमको उद्घाटनका अवसरमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस्ता कार्यक्रमले युवालाई आइडिया निर्माणमा र उद्यमशीलता विकासमा सहयोग पुग्ने बताए ।
महानगरले सञ्चालन गरेको आइडिया मार्ट कार्यक्रम उपलब्धीपूर्ण रहेको पनि उनले बताए । ‘कार्यक्रम चौथो संस्करणसम्म आइपुग्दा यस भन्दा अगाडिका आइडियाहरुमा धेरै उद्यमी बनिसकेका छन्,’ उनले भने । महानगरकातर्फबाट उनीहरुलाई सबै किसिमको सहयोग गर्दै आएको पनि उनले बताए । यो कार्यक्रम नेपालमा सरकारी तवरबाट पहिलो रहेको महानगर प्रमुख आचार्यको भनाइ छ ।
कार्यक्रममा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले यस्ता कार्यक्रमले पोखरालाई आइडिया निर्माणमा ठूलो सहयोग गर्दै आइरहेको बताए । यो कार्यक्रम महानगरपालिकाको ७० प्रतिशत र नेपाली युवा उद्यमी मञ्चको ३० प्रतिशत लागत साझेदारीमा सञ्चालन गरिएको हो ।
प्रस्तुतीकरणको निर्णायक (जज) मा मीड टाउनका सञ्चालक निकेश द्वा, होटल मेजेस्टिक लेक फ्रन्ट र बी जी वि रेस्टुरेन्ट सञ्चालक सुनिलबहादुर भट्टराई र ग्लोबल हबका संदिप मानन्धर रहेका थिए ।
नेपाली युवा उद्यमी मञ्च पोखराका अध्यक्ष समेजराज भण्डारीको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रमको संयोजन लुस्कानराज श्रेष्ठले गरेका थिए । कार्यक्रममा व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारी, चेम्बर अफ कमर्श कास्की अध्यक्ष उमराज बास्तोला, मञ्चका पूर्व अध्यक्ष सुयास मल्ल र केन्द्रीय सदस्य वेदीका मुरारका लगायतले बोलेका थिए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी र उपाध्यक्ष विक्रम कर्मचार्य, महिला उद्यमी मञ्च पोखराका अध्यक्ष एलिना बराल लगायतको उपस्थितिमा कार्यक्रम समापन गरिएको छ ।
प्रतियोगितामा ११ वटा टिम मध्येबाट हिमेक्साका रविन पौडेल र दीपक पनेरु विजेता बनेका छन् । पहिलो रनर अपमा द डाएनामिक ड्युओमा सुजन लामिछाने र विक्रम कुँवर, दोस्रो रनर अपमा अर्गानिक साइकलका ओसन मगर, गौतम राजा र निर्मला सुवेदी तथा तेस्रो रनर अपमा आमाबा केयरका अनुजा गौतम र जगतजननी अधिकारी विजयी बनेका छन् ।
उनीहरूको समूहले क्रमशः एक लाख लाख ५० हजार, ४० हजार, ३० हजार र २० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।







Comments are closed.