‘नेपाल हस्तकला एक्स्पो एण्ड कल्चरल शो’ जारी

काठमाडौं। नेपाल हस्तकला महासंघको आयोजनामा भएको ‘नेपाल हस्तकला एक्स्पो एण्ड कल्चरल शो– २०२६’ जारी छ । जेठ ८ गते शुरु भएको एक्स्पो जेठ १० गतेसम्म चल्नेछ । काठमाडौंको बालुवाटारस्थित अम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म एक्स्पोे संचालन भएको छ ।

विभिन्न प्रदेश तथा जिल्लास्तरमा उत्पादित हस्तकला वस्तुको प्रदर्शनी एवं प्रचारप्रसार गरी स्थानीय हस्तकला उद्यमीलाई बजार पहुँचमा सहयोग पुर्‍याउनु र हस्तकला उत्पादनको व्यावसायिक विकासमा टेवा पुर्‍याउनु एक्स्पोको उद्देश्य रहेको महासंघका अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिए।

हस्तकला क्षेत्रले स्वरोजगारको अवसर सिर्जना गरिरहेको र भारत, चीन लगायत तेस्रो विश्वका देशहरूमा वार्षिक २८ अर्ब रुपैयाँ बराबरका हस्तकला वस्तु निर्यात भइरहेको पृष्ठभूमिमा एक्स्पो आयोजना गरिएकोमेला आयोजक समिति संयोजक तथा महासंघकी उपाध्यक्ष मलिका श्रेष्ठले जानकारी दिइन् ।

एक्स्पोमा हस्तकला प्रदर्शनी तथा बिक्री, विविध सांस्कृतिक कार्यक्रम, स्थानीय उद्यमी, कलाकार र कालिगढको प्रत्यक्ष सीप प्रदर्शन, तथा स्थानीय उत्पादन र परम्परागत रैथाने परिकारहरूको स्वाद पस्कने विशेष फुड स्टल छन्। शोमा काठमाडौं उपत्यका भित्रका जिल्लालगायत संखुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, बर्दिया, काभ्रेपलाञ्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहुँ, पाल्पा, बागलुङ लगायतका जिल्लाहरूबाट त्यहाँका स्थानीय जिल्ला संघको सहभागिता रहेको महासंघले जनाएको छ ।

एक्स्पोमा मेक इन नेपाल र मेड इन नेपालको अवधारणा अनुसार हस्तकला लगायत अन्य नेपाली निकासी सम्भाव्यता भएका वस्तुको करिब ७० वटा व्यापारिक स्टल छन् । मेलामा आउने सम्पूर्ण आमन्त्रित तथा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था रहेको छ ।

एक्स्पोको प्रमोटिङ पार्टनर हेल्भेटास नेपाल, लजिस्टिक पार्टनर एभरेष्ट डि कार्गो, ट्राभल पार्टनर लक्की ट्राभल, प्रिन्टिङ पार्टनर विजय अफसेट, र इन्स्योरेन्स पार्टनरमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, मिडिया पार्टनरमा आर्थिक अभियान राष्ट्रिय दैनिक तथा सहयोगी संस्थामा नेपाल टेलिकम, एनएमबि बैंक रहेका छन् ।

You might also like

Comments are closed.