काठमाडौं । विश्वकै सबैभन्दा ठूलो सामाजिक तथा मानवीय सेवा संगठन लायन्स क्लब्स इन्टरनेशनल अन्तर्गत मल्टिपल डिष्ट्रिक्ट ३२५ को राष्ट्रिय महाअधिवेशन आगामी जेठ १६ गते काठमाडौँमा आयोजना हुने भएको छ । काठमाडौँको प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लबमा आयोजना हुने उक्त महाअधिवेशनमा सभामुख डोलप्रसाद (डिपी) अर्यालको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ ।
महाधिवेशनका अवसरमा वर्तमान प्रतिनिधिसभामा निर्वाचित भएका तथा लायन्स क्लबमा आबद्ध रहेका कुल २० जना सांसदहरूलाई विशेष सम्मान गर्ने कार्यक्रम समेत छ ।
विश्वका २१० देशमा झन्डै १४ लाख सदस्य रहेको लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत नेपालमा मात्रै हाल झन्डै ४७ हजार सक्रिय सदस्यहरू छन् । नेपालमा हाल २ हजार ४ सयभन्दा बढी क्लबहरू तथा १५ वटा डिस्ट्रिक्टहरू क्रियाशील छन् । नेपालमा संस्था स्थापना भएको ५५ वर्षको इतिहासमा पहिलोपटक यस वर्ष महिला काउन्सिल चेयरपर्सन (अध्यक्ष) निर्वाचित भई पोखराकी लायन मिलन थापाले समग्र नेपाल लायन्सको नेतृत्व गरिरहेका छन् । उनको कार्यकाल आगामी जुन ३० तारिखमा सकिने र जुलाई १ तारिखदेखि नयाँ लायन्स वर्षको सुरुवात हुने भएकाले नयाँ नेतृत्व चयनका लागि जेठ १४ गतेदेखि नै निर्वाचन प्रक्रिया सुरु हुने कार्यक्रम छ । लायन्स मल्टिपलको विधान अनुसार काउन्सिल परिषद्को अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सहसचिव पदका लागि निर्वाचन हुनेछ भने अन्य केही पदहरू मनोनीत गरिनेछन् ।
लायन्स क्लबले नेपालको स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विविध क्षेत्रमा दुर्गम भूगोलसम्म पुगेर मानवीय सेवा पु¥याउँदै आएको छ । नेपालमा यसका सयौँ स्थायी परियोजनाहरू समेत सञ्चालनमा छन् । अचानक आइपर्ने भूकम्प, बाढी, पहिरो जस्ता दैवी प्रकोपका समयमा नेपालका हजारौँ लायन्स सदस्यहरूले तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पु¥याउँदै आएका छन् । विशेषगरी अन्धोपन निवारण तथा दादुरा–रुबेला विरुद्धको खोप अभियानका लागि लायन्स अन्तर्राष्ट्रियले नेपाल सरकारसँग प्रत्यक्ष सहकार्य गर्दै आएको छ । यसबाहेक थुप्रै आँखा अस्पताल, मुटुरोग उपचार केन्द्र तथा विद्यालय भवनहरू निर्माणमा समेत लायन्सको ठूलो योगदान छ । यसका अलावा स्थानीय क्लबहरूले आफैँ पनि आर्थिक स्रोत जुटाएर विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ।
सन् १९१७ मा अमेरिकाको सिकागोमा प्रादुर्भाव भएको लायन्स अन्तर्राष्ट्रियको संगठन नेपालमा भने सन् १९७१ मा पूर्वप्रधानमन्त्री स्वर्गीय मातृकाप्रसाद कोइरालाको नेतृत्वमा ‘लायन्स क्लब विराटनगर’ मार्फत सुरुवात भएको थियो ।

लायन्स अन्तर्राष्ट्रियको यस वर्षको अन्तर्राष्ट्रिय महाधिवेशन आगामी जुलाई ३ देखि ७ तारिखसम्म हङकङमा आयोजना हुँदैछ । सोही कन्भेन्सनबाट नेपालका तर्फबाट राजन लम्सालले अन्तर्राष्ट्रिय निर्देशकको जिम्मेवारी सम्हाल्दैछन् । यस्तै, आगामी डिसेम्बर १६ देखि १९ सम्म विश्वका १४ देशका झन्डै ३ हजार जना प्रतिनिधिहरू सहभागी हुने क्षेत्रीय स्तरको विशाल सम्मेलनसमेत नेपालको काठमाडौँमा आयोजना गर्न लागिएको जनाइएको छ ।







Comments are closed.