लायन्स मल्टिपलको राष्ट्रिय महाधिवेशन सम्पन्न, लायन्स सदस्य रहेका २० सांसद सम्मानित

काठमाडौं । सामाजिक तथा मानवीय सेवा कार्यमा विश्वकै सबैभन्दा ठूलो संगठन ‘लायन्स क्लब्स इन्टरनेशनल’ अन्तर्गत नेपाल च्याप्टरको राष्ट्रिय महाअधिवेशन सम्पन्न भएको छ । जेठ १६ गते काठमाडौँको भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा विशेष समारोहबीच महाधिवेशन सम्पन्न भएको हो ।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । महाधिवेशनको उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि सभामुख अर्यालले नेपालको सामाजिक र मानवीय सेवाको क्षेत्रमा लायन्स क्लबले पु¥याएको योगदान अत्यन्तै महत्वपूर्ण र सराहनीय रहेको बताए ।

लायन्स आबद्ध २० जना सांसदहरू सम्मानित

उक्त विशेष अवसरमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित भएका र लायन्स क्लबमा आबद्ध रहेका २० जना सांसदहरूलाई विशेष सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा सभामुख डोलप्रसाद (डिपी) अर्यालसमेत छन् । सम्मानित हुने सांसदहरुमा प्रकाश सिंह कार्की, गणेश पराजुली, रुकेश रन्जित, प्रमिला कुलुजु प्रधानाङग, पुकार बम, डा. गंगा अवाल, गंगा छन्त्याल, बदन कुमार भण्डारी, बिनाा गुरुङ, बसुमाया तामाङ, सागर भुसाल, हरिप्रसाद भुसाल, खेमराज कोइराला, रमेशकुमार सापकोटा, रत्नकुमारी थापा, बासना थापा, श्रद्धा कुँवर क्षेत्री, अमृता बिक र खम्म बहादुर खाती रहेका छन् । १५ वटै डिस्ट्रिक्टका विभिन्न गभर्नर तथा लायन्स लिडरहरूलाई समेत मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापा लगायतका शीर्ष लायन्स अगुवाहरूले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापाले नेपालको समाजसेवाको क्षेत्रमा लायन्सको इतिहास र योगदान गौरवमय रहेको उल्लेख गरिन् ।

लायन्सको इतिहास र नेपालमा उपस्थिति

सन् १९१७ मा अमेरिकाको सिकागोबाट सुरु भएको लायन्स क्लब्स इन्टरनेशनलको सञ्जाल अहिले विश्वका २१० राष्ट्रमा फैलिएको छ, जहाँ झन्डै १४ लाख सदस्यहरू आबद्ध छन् । नेपालमा भने सन् १९७१ मा पूर्व प्रधानमन्त्री स्वर्गीय मातृकाप्रसाद कोइरालाको नेतृत्वमा ‘लायन्स क्लब विराटनगर’ स्थापना भएसँगै यसको संस्थागत यात्रा सुरु भएको हो ।

हाल नेपालभर लायन्स क्लबमा झन्डै ४७ हजार सक्रिय सदस्यहरू आबद्ध छन् । नेपालमा हाल २ हजार ४ सय क्लबहरू र १५ वटा डिस्ट्रिक्टहरूमार्फत विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधिहरू सक्रिय रूपमा सञ्चालन भइरहेका छन् ।

आगामी वर्ष मल्टिपलको नेतृत्व भण्डारीलाई

लायन्स क्लब्स इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५, नेपालको नयाँ नेतृत्व चयन भएको छ । काठमाडौँमा बिहीबार सम्पन्न काउन्सिल पदाधिकारीहरूको निर्वाचनबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित भएको हो । मल्टिपल काउन्सिल चेयरपर्सनमा केशर भण्डारी निर्वाचित भएका छन् ।

त्यसैगरी, मल्टिपल काउन्सिलको भाईस काउन्सिल चेयरपर्सनमा सन्दीप कसौधन र मल्टिपल प्रवक्तामा तारा भुसाल निर्वाचित भएकी छन् । नयाँ कार्यसमितिको काउन्सिल सेक्रेटरीमा रत्नप्रसाद पराजुली, काउन्सिल ट्रेजररमा श्यामकुमार यादव र काउन्सिल जोइन्ट सेक्रेटरीमा उद्धव सिलवाल चयन भएका छन् ।

You might also like

Comments are closed.