व्यवसायको दिगोपन र सफलताका लागि निरन्तरता, विश्वास र समर्पण आवश्यक

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहकार्यमा सञ्चालन भइरहेको व्यवसाय संवर्धन सेवा कार्यक्रम अन्तर्गत छनोट भएका उद्यमी तथा मेन्टरहरूबीच आइतबार लेखनाथ उद्योग वाणिज्य संघको सभा हलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमले नवप्रवद्र्धनशील उद्यमीहरूलाई व्यवसाय विकास, बजार व्यवस्थापन, ब्रान्ड निर्माण तथा व्यवसाय सञ्चालनका व्यावहारिक अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले व्यवसायीहरूले नीतिगत, व्यवहारिक तथा व्यावसायिक क्षेत्रमा भोगिरहेका विभिन्न चुनौतीहरूको समाधानका लागि संघ सधैं व्यवसायीहरूको पक्षमा उभिने बताइन् । उनले स्थानीय उद्यम र उद्योगहरूको विकासबाट मात्र क्षेत्रीय आर्थिक समृद्धि सम्भव हुने उल्लेख गर्दै व्यवसायीहरूको क्षमता अभिवृद्धि तथा समस्या समाधानका लागि संघले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन् ।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष तथा मेन्टर संयोजक विक्रम कर्माचार्यले व्यवसायमा सफलता हासिल गर्न निरन्तरता, धैर्यता, समर्पण र विश्वास अपरिहार्य रहेको बताए । उनले व्यवसाय सुरुआत गर्नुभन्दा त्यसलाई दीर्घकालीन रूपमा टिकाइराख्नु ठूलो चुनौती भएको उल्लेख गर्दै व्यवसायमा तत्काल प्रतिफलको अपेक्षा नगरी दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने धारणा राखे ।

कर्माचार्यले व्यवसाय सञ्चालनका क्रममा नाफा–नोक्सान दुवै पक्षलाई समान रूपमा स्वीकार गर्न सक्नुपर्ने बताउँदै व्यवसायमा लगानीको प्रतिफल प्राप्त गर्न समय लाग्ने भएकाले उद्यमीहरूले आत्मविश्वास र सकारात्मक सोच कायम राख्नुपर्ने सुझाव दिए । उनले मेन्टरहरूबीच पनि व्यवसायसम्बन्धी विषयमा समान बुझाइ र समन्वय आवश्यक रहेको उल्लेख गर्दै अनुभवी व्यवसायीहरूको ज्ञान र अनुभव नवउद्यमीहरूका लागि महत्वपूर्ण मार्गदर्शन बन्न सक्ने बताए ।

संघका पूर्वअध्यक्ष बाबुराम गिरीले व्यवसायी जीवनमा आउने उतारचढावलाई अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। उनले व्यवसायका सुख–दुःखलाई संगठनमार्फत साझा गर्दै सहकार्य र एकताको भावनासहित अघि बढ्न सके व्यवसायिक सफलता हासिल गर्न सहज हुने बताए। गिरीले बजारमा विश्वास निर्माण गर्नु सफल व्यवसायको मुख्य आधार भएको उल्लेख गर्दै ग्राहकको भरोसा जित्न सके व्यवसाय स्वतः विस्तार हुँदै जाने बताए ।

अन्तरक्रिया कार्यक्रममा सहभागी उद्यमीहरूले आफ्नो व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या, चुनौती तथा सम्भावनाका विषयमा अनुभव साझा गरेका थिए । मेन्टरहरूले व्यवसाय प्रवद्र्धन, उत्पादनको गुणस्तर सुधार, बजार विस्तार, ब्रान्डिङ, वित्तीय व्यवस्थापन, ग्राहक सेवा तथा डिजिटल प्रविधिको प्रयोगजस्ता विषयमा सुझाव दिएका थिए ।

छलफलका क्रममा व्यवसायीहरूबीच आपसी सहकार्य, नेटवर्क विस्तार तथा अनुभव आदानप्रदानको आवश्यकता औंल्याइएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले व्यवसायिक ज्ञान र सीप अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए ।

कार्यक्रममा एक दर्जनभन्दा बढी नवप्रवद्र्धनशील व्यवसायी तथा विभिन्न क्षेत्रका अनुभवी मेन्टरहरूको सहभागिता रहेको थियो। आयोजकका अनुसार व्यवसाय संवर्धन सेवा कार्यक्रममार्फत उद्यमीहरूको क्षमता विकास, व्यवसायिक समस्या पहिचान तथा समाधान खोजी, बजार पहुँच विस्तार र व्यवसायको दिगो विकासमा सहयोग पु¥याउने उद्देश्य राखिएको छ ।

You might also like

Comments are closed.