पोखरा । गण्डकी प्रदेशका लागि ‘ओमोडा जेको’ तथा ‘आइकार’ सवारी साधनहरूको आधिकारिक विक्रेता इलाइट मोटर्स प्रालिले पोखरामा नयाँ ‘ओमोडा इ५ प्रो’ सार्वजनिक गरेको छ । पोखरा इभेन्ट सेन्टरमा विशेष कार्यक्रमसहित गाडी सार्वजनिक गरिएको इलाइट मोटर्सका प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए ।
कम्पनीले नयाँ गाडी सार्वजनिक गरेसँगै पोखरामा यसअघि ओमोडा, जेको र आइकार खरिद गरेका पुराना ग्राहकका लागिसमेत ११ वर्षको ब्याट्री वारेन्टी सुविधा दिने विशेष उपहारको घोषणा गरेको छ ।
कम्पनीले नयाँ ओमोडा ई फाइभ प्रोको आधिकारिक मूल्य समेत तय गरेको छ । यसको सिंगल टोन भेरियन्टको ५१ लाख ५९ हजार रुपैयाँ मूल्य तोकिएको छ । यसैगरी डबल टोन भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । ओमोडा ई फाइभ यसअघि नै नेपालमा १५ सय युनिटभन्दा बढी बिक्री भइसकेको छ । यसको सफलतालाई निरन्तरता दिँदै नयाँ ई फाइभ प्रो अझ उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित बजारमा आएको हो ।
नयाँ ओमोडा ई५ प्रो पहिलाको भन्दा सानो ब्याट्रीप्याकमा उपलब्ध छ । यसमा ५०.७ किलोवाट आवरको ब्याट्रीप्याक जडान गरिएको छ । यसले एकपटकको फुलचार्जमा ३५० किलोमिटर डब्लूएलटीपी रेन्ज दिन्छ । यसअघिको ई फाइभमा भने ६१ किलोवाट आवरको ब्याट्रीप्याक उपलब्ध थियो । यसमा मोटर भने हालकै ९९ किलोवाटलाई निरन्तरता दिइएको छ, जसले २८८ न्युटन मिटर टर्क प्रदान गर्छ । नयाँ ई फाइभ प्रोमा १९१ मिलिमिटर अग्लो ग्राउन्ड क्लियरेन्स छ । यसमा १८ इन्चको अलोय ह्वील दिइएको छ ।
नेपालमा लन्च भएदेखि नै ओमोडा ई५ आफ्नो फ्युचरिस्टिक डिजाइन र आधुनिक प्रविधिका कारण लोकप्रिय बनेको छ । नयाँ ओमोडा ई फाइभ प्रोले यसै विरासतलाई अझ सुदृढ बनाउँदै आधुनिक नेपाली ग्राहकलाई लक्षित प्रिमियम अनुभव प्रदान गर्छ । यसको बाहिरी डिजाइन ओमोडाको फ्युचरिस्टिक डिजाइन फिलोसफीमा आधारित छ । जसमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल र विशेष प्यानथम विङ टेललाइटहरू समावेश छन् । यसले सडकमा गाडीको शक्तिशाली उपस्थिति सिर्जना गर्दछ ।
यस गाडीको इन्टेरियरमा प्रिमियम क्याबिन अनुभव दिने इलेक्ट्रिक सनरूफ र आधुनिक प्रविधिको संयोजन रहेको छ । गाडीभित्र ड्राइभर मसाज सिट, ८ वटा सोनी स्पिकरहरूको इमर्सिभ अडियो सिस्टम र ठूलो १५.६ इन्चको वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले समावेश छ । यसले ड्राइभिङ अनुभवलाई अझ प्रिमियम बनाउँछ । सुरक्षाका दृष्टिले यसमा १९ भन्दा धेरै सुविधा भएको एडास फिचर र ५४० डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणाली रहेको छ । यसले चालकलाई उच्च सुरक्षा र आत्मविश्वास प्रदान गर्दछ ।
पोखराको बजारमा ओमोडा जेकोले छोटो समयमै उल्लेख्य सफलता पाएको छ । यहाँका सडकमा अहिले ३५० भन्दा बढी ओमोडा ई फाइभ गुडिरहेका छन् । त्यसैगरी १०० भन्दा बढी जेको जे६ र ६० भन्दा बढी आइकार गुडिरहेको तथ्यांक छ । छोटो समयमै यसले सयौं ग्राहकको विश्वास जित्न सफल भएको छ ।
ग्राहकको निरन्तर विश्वास, समर्थन तथा माया नै ओमोडा जेकोको सफलताको प्रमुख आधार भएको उल्लेख गर्दै कम्पनीले आगामी दिनहरूमा पनि उत्कृष्ट उत्पादन तथा सेवामार्फत ग्राहकसँगको सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।







Comments are closed.