पोखरा । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस, पोखराले आफ्नो सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रमअन्तर्गत आयोजना गरेको “एक्सपर्ट इन्टरस्कुल फुटसल टुर्नामेन्ट–२०८३” सफलतापूर्वक सम्पन्न गरेको छ।
विद्यालयस्तरीय खेलकुदको विकास, खेल प्रतिभाको पहिचान तथा विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पोखरा क्षेत्रका १५ वटा विद्यालयको सहभागिता रहेको थियो।
प्रतियोगिताको उपाधि इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालय, लामाचौरले जित्न सफल भयो भने गुरुकुल विद्यासदन उपविजेतामा सीमित रह्यो। विजेता इन्द्रराज्य लक्ष्मी विद्यालयले नगद रु. १ लाख, ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता गुरुकुल विद्यासदनले नगद रु. ५० हजार, ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगिताको ‘म्यान अफ द टुर्नामेन्ट’ उपाधि स्टेप बाइ स्टेप स्कुलका कुञ्जन पौडेलले प्राप्त गरे। त्यसैगरी फाइनल खेलको ‘म्यान अफ द म्याच’ गुरुकुल विद्यासदनका गोलरक्षक सिद्धान्त श्रेष्ठ घोषित भए। प्रतियोगिताभर ६ गोल गर्दै इन्द्रराज्य लक्ष्मी विद्यालयका कृजल लामाले ‘हाइएस्ट स्कोरर’ पुरस्कार जित्न सफल भए।
प्रतियोगितामा बालकल्याण विद्यालयलाई ‘फेयर प्ले टिम’ घोषणा गरिएको थियो। कार्यक्रमको स्वास्थ्य साझेदारका रूपमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले चिकित्सा सहयोग प्रदान गरेको थियो।
समापन समारोहमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसका बिजनेस डेभलपमेन्ट म्यानेजर विष्णु प्रसाद गौतमले प्रतियोगिताको उद्देश्यबारे प्रकाश पार्दै सहभागी सम्पूर्ण विद्यालय, प्रशिक्षक, खेलाडी तथा सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गरे।
त्यसैगरी खेल संयोजक सुभाष शर्माले आगामी वर्षहरूमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै खेल क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा दक्ष खेलाडी उत्पादनमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे । साथै आगामी संस्करणहरूलाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र प्रभावकारी बनाउँदै लैजाने विश्वास व्यक्त गरे ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले शिक्षा क्षेत्रसँगै खेलकुद तथा सामाजिक गतिविधिमा समेत सक्रिय भूमिका निर्वाह गर्दै युवाहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्याउँदै आएको छ।







Comments are closed.