लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्पादनमा कमी आइरहेको यहाँका विभिन्न आयोजनामा बर्खा लागेसँगै नदीनालामा पानीको बहाव बढ्न थालेपछि विद्युत् उत्पादन बढ्न थालेको हो ।
बेँसीसहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रमा पनि विद्युत् उत्पादन बढेको छ । केन्द्रका आयोजना प्रमुख तारादत्त भट्टले भने, “मस्र्याङ्दी नदीमा आयोजनाका लागि पानी पर्याप्त नहुँदा हिउँदमा बिजुली उत्पादन कमी भइरहेको थियो । पानी पर्याप्त हुन थालेपछि करिब १५ दिन अघिदेखि पूरै क्षमतामा बिजुली उत्पादन भइरहेको छ ।”
यस आवमा पानीको अभावले हिउँदमा २६–२७ मेगावाट मात्रै उत्पादन हुँदै आएकामा बर्खा लागेसँगै विस्तारै आयोजनाले आफ्नै क्षमतामा बिजुली उत्पादन गरिरहेको उनले जानकारी दिए । उनका अनुसार यहाँ ३५÷३५ क्षमताका दुई वटा टर्बाइनबाट ७० मेगावाट क्षमताको विद्युत् उत्पादन हुन्छ । सन् २००० मा रु २७ अर्ब २० करोड लागतमा निर्माण सुरु भई सन् २००८ मा सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन हुन थालेको थियो ।
त्यस्तै, मस्र्याङ्दी गाउँपालिका–८ स्थित भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको उत्पादनसमेत बढ्न थालेको आयोजना कार्यालयले जनाएको छ । आयोजनाका अनुसार केही दिन अघिदेखि पूरै क्षमतामा बिजुली उत्पादन भइरहेको छ । सन् २०१३ जनवरीदेखि आयोजना निर्माण थालनी गरी सन् २०१७ जनवरीदेखि व्यावसायिक रूपमा उत्पादन थालेको थियो ।
चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोइ समूह ९सगरमाथा हाइड्रोपावर कम्पनी० को १० प्रतिशत लगानीमा आयोजना निर्माण सम्पन्न भएको थियो । ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, ३० मेगाावट क्षमताको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, सात मेगावाटको उपरमिदिम, पाँच मेगावाटको सिउरीखोला तथा चार दशमलव चार मेगावाटको राँधीखोला आयोजनामा पनि विद्युत् उत्पादन वृद्धि भइरहेको छ ।
त्यस्तै, चार–चार मेगावाट क्षमताका खुदीखोला साना जलविद्युत् आयोजना र अपर छन्दीखोला, तीन मेगावाटको मिदिमखोला, दुई दशमलव चार मेगावटको अपर स्याँगे खोला, दुई मेगावाटको छन्दीखोला, १८३ किलोवाटको स्याँगे माइक्रोहाइड्रो र ८० किवाको मिदिम माइक्रोहाइड्रोमा पनि विद्युत् उत्पादन बढ्न थालेको आयोजना प्रमुख तारादत्त भट्टले जानकारी दिए ।
जिल्लामा उत्पादन थालेका आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएर देशलाई उज्यालो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका जानकारहरू बताउँछन् । ती आयोजनामा विद्युत् उत्पादन कम भएमा वा वृद्धि भएका आर्थिक रूपमा मुलुकमा पनि प्रभाव पारेको देखिन्छ । जिल्लामा बर्सेनि मस्र्याङ्दी नदी, दोर्दी, किसेदी, फिदिम खोलालगायत खोलामा पानीको बहाव कम हुँदा उत्पादन घट्ने र पानी पर्याप्त भएपछि पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने गरेको छ ।
रासस







Comments are closed.