भरतपुर । चितवन उद्योग वाणिज्य संघले दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष वसन्त जोशीको नेतृत्वमा पदाधिकारी, पूर्वअध्यक्ष, कार्यसमिति सदस्य तथा उद्यमीहरू सहितको अध्ययन अवलोकन भ्रमण टोलीलाई संघको सचिवालयमा स्वागत तथा अन्तरक्रिया गरेको हो । छलफलमा दुई फरक आर्थिक र भौगोलिक सम्भावना बोकेका जिल्लाका व्यवसायीहरूबीच अनुभव आदानप्रदान गर्ने, संस्थागत विकासमा सहकार्य गर्ने विषयमा केन्द्रित रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले भ्रमण टिमलाई स्वागत गर्दै संघको संक्षिप्त परिचय सहित चितवनको वर्तमान व्यवसायिक अवस्था, सम्भावना र पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारी गराए । उनले चितवन र दाङ दुवै कृषि, पशुपालन र व्यापारका हिसाबले देशकै अग्रणी जिल्ला भएको बताउदै दुई जिल्लाका उत्पादनहरूलाई एक–अर्काको बजारमा सहज पहुँच पु¥याउने गरी व्यावसायिक नेटवर्क निर्माण गर्न चितवन उद्योग वाणिज्य संघ सधै तयार रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवम् चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठले सरकारले पनि निजी क्षेत्रलाई राजस्व उठाउने माध्यमको रूपमा मात्र नहेरी अर्थतन्त्रको वास्तविक साझेदारको रूपमा लिनुपर्ने बताउदै उनले व्यवसायमैत्री नीति, सरल कर्जा प्रवाह र झन्झटिलो कर प्रणालीको सुधारका लागि राज्यको ध्यान जानु जरुरी रहेको बताए । उनले उद्योगी व्यवसायीका समस्या समधानका लागी महासंघ मार्फत पहल गर्ने बताउँदै भ्रमण सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले चितवन उद्योग वाणिज्य संघले गरेको आतिथ्यताप्रति कृतज्ञता ज्ञापन गर्दै भ्रमणको मुख्य उद्देश्य र दाङको वर्तमान अवस्थाबारे जानकारी गराए । उनले दाङ जिल्ला पनि हाल लुम्बिनी प्रदेशको राजधानी भएसँगै तीव्र सहरीकरण र औद्योगिकीकरणको दिशामा अघि बढिरहेको बताउदै कृषि, जडीबुटी, सिमेन्ट उद्योग र पर्यटन लगायत दाङका सम्भावनाका बारेमा जानकारी गराए । उनले उद्योगी व्यवसायीका समस्या समधानमा चितवन उद्योग वाणिज्य संघसँग हातेमालो गरेर अगाडी बढ्न बताए ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमलाल चुके र दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राम दयल गुप्ताले व्यवसायिक समस्या समधानका लागि दुवै उद्योग वाणिज्य संघले साझा धारणा बनाएर जानुपर्ने सुझाव दिएका थिए ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीको नेतृत्वमा पूर्वअध्यक्ष, पदाधिकारी कार्यसमिति, विभिन्न वस्तुगत संघका अध्यक्ष गरी ३२ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमलाल चुके, कल्याण जोशी सहनलाल प्रधान, उपाध्यक्ष नारायण प्रधान, राजन पिया, संघका कार्यसमितिका सदस्यज्यूहरू संघका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता एवम् वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन सहित समापन गरेको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए ।







Comments are closed.