सुनचाँदी क्षेत्रको समग्र विकासका लागि महासङ्घको अभियान निरन्तर जारी

निर बहादुर बि.क (बिमल धमला)
महासचिव
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ

नेपालको आभूषण व्यवसाय केवल व्यापारिक क्षेत्र मात्र होइन, यो नेपालको सांस्कृतिक पहिचान, परम्परा, सीप, कला र अर्थतन्त्रसँग गहिरो रूपमा जोडिएको क्षेत्र हो। हजारौँ व्यवसायी, शिल्पकर्मी, कालीगढ तथा श्रमिकहरूको जीवनयापन यस क्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ। देशको आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउने, रोजगारी सिर्जना गर्ने तथा राज्यको राजस्व वृद्धिमा योगदान पुर्‍याउने यस क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण छ। यति महत्वपूर्ण क्षेत्र भए पनि लामो समयदेखि सुनचाँदी व्यवसाय विभिन्न नीतिगत अस्पष्टता, कानुनी जटिलता तथा प्रशासनिक असहजताका कारण अनेकौँ चुनौतीहरूको सामना गर्दै आएको छ। स्पष्ट नीति, समयानुकूल कानुन तथा व्यवसायमैत्री वातावरणको अभावले व्यवसाय सञ्चालन कठिन बन्दै गएको छ। यसले व्यवसायी मात्र होइन, उपभोक्तालाई समेत प्रत्यक्ष रूपमा प्रभावित बनाएको छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ स्थापना कालदेखि नै देशभरका व्यवसायीहरूको साझा आवाजका रूपमा क्रियाशील रहँदै आएको छ। व्यवसायीहरूको हकहितको संरक्षण, व्यवसायको मर्यादा अभिवृद्धि, शिल्पकर्मीहरूको सम्मान, उपभोक्ताको हितको रक्षा तथा व्यवसायलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथ महासङ्घले निरन्तर रूपमा आफ्नो भूमिका निर्वाह गर्दै आएको छ। विगतका वर्षहरूमा व्यवसायीहरूले विभिन्न प्रकारका समस्याहरू भोग्नुपरेको यथार्थ कसैबाट लुकेको छैन। कहिले आयात–निर्यात प्रक्रियामा देखिएका जटिलता, कहिले कर तथा राजस्वसम्बन्धी अन्योल, कहिले प्रशासनिक झन्झट, त कहिले अस्पष्ट कानुनी व्यवस्थाका कारण व्यवसाय सञ्चालनमा अनावश्यक अवरोध सिर्जना भएका छन्। यस्ता समस्याले व्यवसायीहरूको लगानी, आत्मविश्वास र व्यवसायिक वातावरणमा प्रतिकूल प्रभाव पार्नुका साथै उपभोक्ताले पनि सहज र गुणस्तरीय सेवा प्राप्त गर्न कठिनाइ अनुभव गरेका छन्।

महासङ्घले यी समस्याहरूलाई केवल गुनासोका रूपमा होइन, समाधान गर्नुपर्ने साझा जिम्मेवारीका रूपमा लिएको छ। त्यसैले सम्बन्धित मन्त्रालय, विभाग, नियामक निकाय, नेपाल राष्ट्र बैंक तथा अन्य सरोकारवाला निकायहरूसँग निरन्तर संवाद, छलफल र समन्वय गर्दै व्यवसायका वास्तविक समस्याहरू समाधान गर्न पहल गर्दै आएको छ। व्यवसायीहरूको आवाजलाई नीतिनिर्माण तहसम्म पुर्‍याउने, व्यावहारिक सुझाव प्रस्तुत गर्ने तथा व्यवसायमैत्री कानुन निर्माणका लागि निरन्तर दबाब सिर्जना गर्ने कार्यमा महासङ्घ सधैँ अग्रसर रहेको छ।

नेपालमा लामो समयसम्म कायम रहेको राजनीतिक अस्थिरता र बारम्बार सरकार परिवर्तन हुने अवस्थाले व्यवसाय क्षेत्रलाई समेत गम्भीर रूपमा प्रभावित पर्यो । एउटा सरकारसँग व्यवसायका समस्याबारे विस्तृत छलफल भई समाधानको आशा जाग्दा नजाग्दै सरकार परिवर्तन हुने, नयाँ नेतृत्वसँग फेरि सुरुदेखि नै संवाद सुरु गर्नुपर्ने अवस्थाले धेरै महत्वपूर्ण निर्णयहरू कार्यान्वयन हुन सकेनन्। यसले नीति निर्माणमा ढिलाइ मात्र गरेन, व्यवसायीहरूलाई लामो समयसम्म अन्योलको अवस्थामा पनि राख्यो। यद्यपि, महासङ्घले कहिल्यै आफ्नो जिम्मेवारीबाट पछि हटेको छैन। सरकार परिवर्तन भए पनि व्यवसायीहरूको हकहितका विषयमा महासङ्घको आवाज कहिल्यै कमजोर भएको छैन। हरेक सरकारसँग समान रूपमा संवाद गर्दै व्यवसायको विकास र सुधारका लागि आवश्यक नीतिगत पहललाई निरन्तरता दिइएको छ।

हाल नयाँ सरकार गठन भएको सन्दर्भमा महासङ्घले पुनः उच्चस्तरीय समन्वयलाई तीव्र बनाएको छ। व्यवसायसँग सम्बन्धित ऐन, नियमावली, कार्यविधि तथा नीतिहरूलाई समयानुकूल परिमार्जन गर्दै व्यवसाय सञ्चालनलाई अझ सहज, सुरक्षित, पारदर्शी र विश्वसनीय बनाउने विषयमा सम्बन्धित निकायहरूसँग निरन्तर छलफल भइरहेको छ। महासङ्घले नयाँ सरकारसँग व्यवसायीहरूको जायज मागलाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै व्यावहारिक समाधानका लागि सकारात्मक वातावरण निर्माण गर्न निरन्तर प्रयास गरिरहेको छ। हाम्रो विश्वास स्पष्ट छस्थिर सरकार, स्पष्ट नीति, पारदर्शी कानुनी व्यवस्था र सरकार–निजी क्षेत्रबीचको विश्वासपूर्ण सहकार्यबाट मात्र आभूषण व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन सकिन्छ। व्यवसायीले सम्मानका साथ व्यवसाय गर्न पाउने, उपभोक्ताले गुणस्तरीय र विश्वसनीय सेवा प्राप्त गर्ने तथा राज्यले व्यवस्थित र पारदर्शी व्यवसायिक प्रणाली निर्माण गर्ने वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो।

यस अभियानमा महासङ्घ केवल व्यवसायीहरूको प्रतिनिधि संस्था मात्र होइन, व्यवसायको समग्र सुधार र भविष्य निर्माणको जिम्मेवार साझेदारका रूपमा अगाडि बढिरहेको छ। व्यवसायीहरूको सुझाव, अनुभव र आवश्यकतालाई नीतिगत तहसम्म पुर्‍याउँदै दिगो समाधानका लागि महासङ्घ निरन्तर क्रियाशील रहनेछ। व्यवसायीको विश्वास, एकता र सहकार्य नै महासङ्घको शक्ति हो, र यही शक्तिका आधारमा सुनचाँदी व्यवसायको उज्ज्वल भविष्य निर्माण गर्न हामी सबै एकजुट भएर अघि बढ्नेछौँ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ विगतमा व्यवसायीहरूको साथमा थियो, आज पनि दृढतापूर्वक उभिएको छ र भविष्यमा अझ सशक्त रूपमा साथ दिनेछ। व्यवसायीहरूको हकहितको संरक्षण, सम्मान, सुरक्षा, व्यवसायिक अधिकार, शिल्पकर्मीहरूको उन्नति तथा सुनचाँदी क्षेत्रको समग्र विकासका लागि महासङ्घको अभियान निरन्तर जारी रहनेछ।

You might also like

Comments are closed.