काठमाडौं । सरोकारवालासँग पर्याप्त परामर्श र अर्थपूर्ण संवादबिना ल्याइएको “शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३” ले नेपालको शैक्षिक परामर्श क्षेत्रले दशकौँदेखि राष्ट्र निर्माणमा पुर्याएको योगदानको उचित मूल्याङ्कन गर्न नसकेको इक्यानले जनाएको छ । यसको विरोधस्वरुप व्यवसायीले हातमा कालोपट्टी बाधेर काम गरेका छन् ।
नेपाली शैक्षिक परामर्श क्षेत्रले विद्यार्थीलाई विश्वका उत्कृष्ट शैक्षिक अवसरहरूसम्म पहुँच दिलाएको र यस क्षेत्रले अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सीप र दक्षता हासिल गरेका योग्य मानव संसाधन उत्पादन गर्दै नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताइएको छ ।
व्यवसायीले “शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३” तत्काल संशोधन गर्नुपर्ने,
सम्पूर्ण सरोकारवालासँग अर्थपूर्ण, समावेशी र पारदर्शी छलफल गर्नुपर्ने, संविधानको मर्म, व्यावहारिक आवश्यकता तथा शिक्षा क्षेत्रको वास्तविकताअनुसार नियमावली परिमार्जन गर्नुपर्ने लगायतका मागसहित हातमा कालो पट्टी बाधेर विरोध जनाएका हुन् ।
प्रस्तुत नियमावलीले यस क्षेत्रको वास्तविक योगदानलाई बेवास्ता गर्नुका साथै शैक्षिक परामर्श संस्था, विद्यार्थी, अभिभावक तथा व्यवसायीमा गम्भीर अन्योल, असन्तुष्टि र अनिश्चितता सिर्जना गरेको इक्यानका अध्यक्ष लक्ष्मण पौडल (एन्ड्र्यु)ले बताए । सरकराको कदमले हामी आन्दोलन गर्न बाध्य भएका छौं, हातमा बाँधिएको कालोपट्टी हाम्रो मौन विरोधको प्रतीक हो, पौडेलले भने, ‘हाम्रो उद्देश्य टकराव होइन, संवाद, सहकार्य र न्यायपूर्ण नीतिनिर्माण हो। हामी विश्वास गर्छौं कि गुणस्तरीय शिक्षा प्रणालीका लागि सरकार र सरोकारवालाबीच सहकार्य नै दीर्घकालीन समाधानको आधार हो ।’ व्यवसायी संवादको प्रतीक्षा र न्यायपूर्ण समाधानको पक्षमा रहेको पनि उनले बताए ।







Comments are closed.