सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट तथा मोबाइल एप सार्वजनिक

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायीको व्यावसायिक आवश्यकता, दैनिक कारोबार व्यवस्थापन तथा सूचना प्रवाहलाई सहज, सुरक्षित तथा प्रविधिमैत्री बनाउन आधिकारिक वेबसाइट तथा मोबाइल एप सार्वजनिक गरेको छ । महासंघले साउन ५ गते सोमबार औपचारिक रूपमा एपको सार्वजनिक गरेको हो ।

महासंघको सचिवालय कार्यालय, बोगनभिल्ला, त्रिपुरेश्वर, काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले वेबसाइट तथा मोबाइल एपको औपचारिक शुभारम्भ गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अग्रवालले सूचना प्रविधिको प्रयोगमार्फत व्यवसायलाई आधुनिक, व्यवस्थित तथा पारदर्शी बनाउने महासंघको प्रयास सराहनीय, दूरदर्शी र अनुकरणीय रहेको बताए। उनले डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबाट व्यवसाय सञ्चालन, सेवा प्रवाह तथा सूचना आदानप्रदानलाई अझ सहज, छिटो र विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा महासंघका अध्यक्ष किसान सुनारले वेबसाइट तथा मोबाइल एप निर्माणको उद्देश्य, आवश्यकता, विशेषता तथा यसबाट व्यवसायीहरूले प्राप्त गर्ने सेवा–सुविधाबारे विस्तृत जानकारी गराए । उनले महासंघलाई प्रविधिमैत्री संस्थाको रूपमा विकास गर्दै सदस्य व्यवसायीहरूलाई एउटै डिजिटल प्लेटफर्ममार्फत आवश्यक सूचना, सेवा तथा व्यवसाय व्यवस्थापनसम्बन्धी सुविधा उपलब्ध गराउने लक्ष्य रहेको बताए ।

महासंघले सार्वजनिक गरेको वेबसाइट तथा मोबाइल एपमार्फत सदस्य व्यवसायीहरूले सुन तथा चाँदीको दैनिक बजार मूल्य, महासंघका सूचना तथा परिपत्र, ऐन, नियम तथा निर्देशिका, कार्यक्रमहरूको जानकारी, संस्थागत तथा व्यवसाय व्यवस्थापनसम्बन्धी सेवासहित अन्य आवश्यक सूचनाहरू सहज रूपमा प्राप्त गर्न सक्ने जानकारी दिइएको छ। यस डिजिटल प्रणालीले व्यवसाय सञ्चालनलाई थप व्यवस्थित, सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने महासंघको विश्वास छ।

कार्यक्रममा भौतिक तथा अनलाइन माध्यमबाट महासंघमा आबद्ध सदस्य संस्थाका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीले वेबसाइट तथा मोबाइल एपको प्रभावकारी प्रयोग, यसको उपयोगिता, व्यवसायमैत्री सेवाको विस्तार तथा आगामी दिनमा थप सेवा–सुविधा समावेश गर्नुपर्ने विषयमा रचनात्मक सुझाव तथा धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको समापनमा महासंघका प्रथम उपाध्यक्ष ताराचन्द्र गुरुङले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने प्रमुख अतिथि, अतिथि, सहभागी सदस्य संस्था अध्यक्ष तथा प्रतिनिधि, सञ्चारकर्मी, वेबसाइट तथा मोबाइल एप निर्माणकर्ता फेवा टेक्नोलोजिज प्रा। लि। का सम्पूर्ण प्राविधिक टोली तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे । उनले महासंघले सञ्चालनमा ल्याएको वेबसाइट तथा मोबाइल एपको अधिकतम उपयोग गरी सुनचाँदी तथा आभूषण व्यवसायलाई थप व्यवस्थित, सुरक्षित, पारदर्शी तथा प्रविधिमैत्री बनाउन सम्पूर्ण व्यवसायीलाई आग्रह गरे ।

महासंघले आगामी दिनमा पनि सूचना प्रविधिको अधिकतम उपयोगमार्फत सुनचाँदी तथा आभूषण व्यवसायलाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

You might also like

Comments are closed.