ज्यानको जोखिम मोलेर पहिरो नियन्त्रणमा ‘न्यू टेक्निकल इन्फ्रा’को टिम, कामको चौतर्फी प्रशंसा

चितवन । देशकै सर्वाधिक व्यस्त मानिने मुग्लिन-नारायणघाट सडकखण्ड अन्तर्गत तुइन खोला क्षेत्रमा जाने पहिरो र खस्ने खुकुला ढुङ्गाहरूले बिगत लामो समयदेखि सडक यातायातमा ठूलो चुनौती थप्दै आएका छन् । तर, यस्तै उच्च जोखिमयुक्त र चुनौतीपूर्ण परिस्थितिबीच पनि यात्रुको सुरक्षा र सडकको निरन्तर सञ्चालनलाई प्राथमिकतामा राखेर ‘न्यू टेक्निकल इन्फ्रा प्रा.लि.’ले पहिरो नियन्त्रण तथा सडक संरक्षणको काम तीव्र पारिरहेको छ ।

उक्त क्षेत्रमा नेपाल सरकारसँग भएको सम्झौता बमोजिम कम्पनीले काम अगाडि बढाएको भए पनि यसको प्रकृति भने सामान्य विकास निर्माणभन्दा अत्यन्तै फरक र जोखिमपूर्ण छ । माथिबाट खस्न सक्ने लेदो र ढुङ्गाको परवाह नगरी प्राविधिक टोली २४सै घण्टा कार्यक्षेत्रमै खटिएका छन् । यो कामको प्रशंसासमेत भइरहेको छ ।

‘हामीले यस परियोजनालाई केवल ठेक्का वा सम्झौताको रूपमा मात्र लिएका छैनौँ, यसलाई देश र जनताप्रतिको दायित्व र कर्तव्य ठानेर काम गरिरहेका छौँ,’ न्यू टेक्निकल इन्फ्राका सञ्चालक लक्ष्मीप्रसाद सुवेदी भन्छन्, ‘सार्वजनिक यातायात सकेसम्म नरोकिओस्, सडक निरन्तर सञ्चालनमा रहोस् र यात्रुहरूले सास्ती भोग्नु नपरोस् भन्ने नै हाम्रो पहिलो प्राथमिकता हो ।’

पहाडको ठाडो र कडा भिरमा उच्च सतर्कता, इमानदारी र समर्पणका साथ रोकथामका अत्याधुनिक उपायहरू अपनाएर काम अगाडि बढाइएको कम्पनीले जनाएको छ ।

यो अत्यन्तै संवेदनशील कार्य भएकाले कम्पनी एक्लैको प्रयासले मात्र पूर्णता नपाउने भन्दै न्यू टेक्निकल इन्फ्राले सम्बन्धित सबै निकायसँग ऐक्यबद्धताका लागि हार्दिक अपिल गरेको छ ।

कम्पनीले यो अभियानलाई सफल बनाउन नेपाल सरकार तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जिल्ला प्रशासन कार्यालय चितवन, सडक विभाग र डिभिजन सडक कार्यालय भरतपुर, नेपाल प्रहरी तथा ट्राफिक प्रहरी, स्थानीय तह, स्थानीय बासिन्दा तथा सञ्चारमाध्यम, सडक प्रयोगकर्ता एवं सम्पूर्ण यात्रु महानुभावहरू अनुरोधसमेत गरेको छ ।

कठिन भौगोलिक परिस्थिति र सम्भावित जोखिमबीच काम गर्नुपर्ने भएकाले यातायात सञ्चालन र नियन्त्रणका क्रममा केही समय असुविधा हुन सक्ने भन्दै कम्पनीले यात्रुहरूलाई धैर्यता धारण गरिदिन र प्राविधिक टोलीलाई सहयोग गर्न विनम्र अनुरोध गरेको छ । सबैको साथ, सहयोग र विश्वासले मात्र यो जोखिमपूर्ण कार्यलाई सुरक्षित, प्रभावकारी र समयमै सम्पन्न गर्न सकिने कम्पनीको विश्वास छ ।

वर्षाको समयमा यात्रा गर्दा सुरक्षित भएर गर्नसमेत कम्पनीले अनुरोध गरेको छ ।

You might also like

Comments are closed.