नेपाल जग्गा तथा आवास विकास महासंघ र भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रबीच सम्झौता

काठमाडौं । नेपालको घरजग्गा तथा रियल इस्टेट क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, उत्तरदायी तथा व्यावसायिक बनाउने उद्देश्यसहित नेपाल जग्गा तथा आवास विकास महासंघ(Nepal Land and Housing Developers’ Federation) र भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रबीच सम्झौता भएको छ । यस सहकार्यअन्तर्गत रियल इस्टेट क्षेत्रसँग सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन हुने बताइएको छ।

समझदारीअनुसार भूमि व्यवस्थापन, नाप–नक्सा, भौगोलिक सूचना प्रणाली, सुशासन तथा व्यावसायिक विकासका विषयमा तालिम सञ्चालन हुने छन् । तालिमले रियल इस्टेट व्यवसायीलाई प्रचलित नीति, कानून तथा मापदण्डबारे अद्यावधिक गराउँदै सेवा प्रवाहको गुणस्तर, व्यावसायिक नैतिकता र सेवाग्राहीको विश्वास अभिवृद्धि गर्ने लक्ष्य रहेको महासंघले जनाएको छ

तालिममा महासंघका सदस्य, घरजग्गा तथा रियल इस्टेट व्यवसायी, सम्बन्धित संस्थाका प्रतिनिधि, इजाजतपत्र प्राप्त रियल इस्टेट एजेन्ट तथा इजाजतपत्र लिन इच्छुक व्यक्तिहरू सहभागी हुन सक्नेछन्। न्यूनतम शैक्षिक योग्यता कक्षा १२ वा सो सरह तोकिएको छ।

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले पाठ्यक्रम, प्रशिक्षण सामग्री, प्रशिक्षक व्यवस्थापन तथा परीक्षा सञ्चालन गर्नेछ भने सफल प्रशिक्षार्थीलाई प्रमाणपत्र पनि प्रदान गरिने बताइएको छ। तालिम आवश्यकता अनुसार प्रत्यक्ष, अनलाइन वा मिश्रित (हाइब्रिड) माध्यमबाट सञ्चालन गरिने छ।

महासंघले तालिम सञ्चालनमा आवश्यक समन्वय, स्रोत व्यवस्थापन, सूचना तथा प्रचारप्रसार, सहभागी छनोट र अनुगमन–मूल्याङ्कनमा सहयोग गर्नेछ। साथै दुवै संस्थाले पाठ्यक्रम विकास, अनुसन्धान, कार्यशाला, गोष्ठी तथा अन्य क्षमता विकास कार्यक्रम सञ्चालनमा समेत सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

तालिमका अतिरिक्त पाठ्यक्रम विकास, प्रशिक्षक व्यवस्थापन, अध्ययन तथा अनुसन्धान, कार्यशाला, गोष्ठी, सेमिनार तथा अन्य क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनमा समेत सहकार्य हुने बताइएको छ । महासंघले यस समझदारीपत्रलाई नेपालको रियल इस्टेट क्षेत्रलाई दक्ष, जिम्मेवार, पारदर्शी र व्यावसायिक बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको छ। यस सहकार्यबाट रियल इस्टेट क्षेत्रमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धि भई सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न तथा घरजग्गा व्यवसायमा व्यावसायिक मर्यादा, उत्तरदायित्व र सार्वजनिक विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा महासंघको छ ।

You might also like

Comments are closed.