युवा गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय सदस्यमा राजेन्द्र अधिकारी मनोनीत

काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय सदस्यमा राजेन्द्र अधिकारी मनोनीत भएका छन् । वि.सं. २०६५ सालमा स्थापना भएको महासंघ नेपाली युवाको क्षेत्रमा झन्डै दुई दशकदेखि सक्रिय रहँदै आएको छ। महासंघमा देशभरका २,१०० भन्दा बढी युवा संस्था आबद्ध छन् ।

केन्द्रीय सदस्यमा मनोनयन भएपछि अधिकारीले यसलाई गौरवका साथै थप जिम्मेवारीका रूपमा ग्रहण गरेको बताएका छन् । युवाको क्षेत्रमा आफूले लामो समयदेखि गर्दै आएको निरन्तर योगदानको कदर भएको महसुस गरेको उल्लेख गर्दै उनले गाउँदेखि सहर, टोलदेखि सिंहदरबार तथा स्थानीय तहदेखि केन्द्रीय तहसम्मको युवा अभियानमा साथ दिने सबै अग्रज, सहयात्री र भाइबहिनीप्रति आभार व्यक्त गरेका छन् । उनले महासंघका अध्यक्ष नारायण गिरी, महासचिव रबिन्द्र लामिछाने तथा सम्पूर्ण केन्द्रीय नेतृत्व, पदाधिकारी र महासंघ परिवारप्रति विश्वास व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।

यसअघि दैलेख जिल्ला संयोजकका रूपमा जिम्मेवारी सम्हालिसकेका अधिकारीले अब केन्द्रीय सदस्यका रूपमा महासंघको उद्देश्य, मूल्य र अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले युवा अधिकार, नेतृत्व विकास, क्षमता अभिवृद्धि, सामाजिक रूपान्तरण तथा राष्ट्र निर्माणमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न इमान्दारी, सक्रियता र समर्पणका साथ योगदान गर्ने बताएका छन् ।

अधिकारीले यो सम्मानलाई थप जिम्मेवारीका रूपमा स्वीकार गर्दै आगामी दिनमा पनि सम्पूर्ण अग्रज, शुभेच्छुक, साथीभाइ तथा युवा अभियानका सहयात्रीहरूको निरन्तर साथ, सहयोग, सुझाव र विश्वासको अपेक्षा गरेका छन् ।

You might also like

Comments are closed.