व्यापार, जीवन र सफलताका सूत्र : अनुभवबाट खारिएका दिनेश श्रेष्ठको जीवन दर्शन

दिनेश श्रेष्ठ

जीवन एउटा लामो यात्रा हो, जहाँ जन्म र मृत्युको बीचमा अनगिन्ती चुनौतीहरूको सामना गर्नुपर्छ । यिनै चुनौतीलाई चिर्दै अघि बढ्दा मात्रै सफलताको शिखर चुम्न सकिन्छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गरेको ‘योजना तर्जुमा कार्यशाला’मा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा काठमाडौं संघका संस्थापक अध्यक्ष दिनेश श्रेष्ठले यस्तै गहिरो जीवन दर्शन र व्यावसायिक सफलताका सूत्रहरू साटासाट गरेका छन् । उनको अनुभवबाट खारिएका यी विचारहरू हरेक नव–उद्यमी र सर्वसाधारणका लागि प्रेरणादायी छन् ।

जीवनको ‘बी’ देखि ‘डी’ सम्मको यात्रा र सिकाइ

मानव जीवन जन्म (Birth – B) बाट सुरु भई मृत्यु (Death – D) मा अन्त्य हुन्छ । श्रेष्ठका अनुसार यी दुईको बीचमा ‘C’ छ, जसले निरन्तर चुनौती (Challenges) लाई जनाउँछ । ‘जीवनमा गल्ती नगर्ने कोही हुँदैन, तर गल्तीबाट सिक्नु र त्यसलाई सुधार्नु नै जीवन हो,’ उनी भन्छन् । जीवनमा पटक–पटक असफल भए पनि हिम्मत हार्नु हुँदैन । असफलतालाई सिकाइको अवसरका रूपमा लिएर अगाडि बढ्नेहरू नै अन्ततः गन्तव्यमा पुग्छन् । जीवन निरन्तर सिकिरहने एउटा खुला पाठशाला हो ।

व्यापारमा सफलता : सीप र ‘समाधान’ को बिक्री

व्यापारमा सफल हुन कडा मिहिनेत मात्र पर्याप्त हुँदैन, त्यसका लागि ‘स्मार्ट वर्क’ र सीप (स्किल) अनिवार्य हुन्छ । आफूसँग भएको सीपलाई व्यापारमा सही रूपमा प्रयोग गर्न सके सफलता सहजै प्राप्त हुन्छ । श्रेष्ठको सुझाव छ, ‘हामीले धनका लागि काम गर्ने होइन, बरु धन र समयलाई आफ्नो हितमा काम गराउन सक्नुपर्छ ।’

व्यापारमा आइडिया जताततै पाइन्छ, तर त्यसलाई कार्यान्वयन गर्नु सबैभन्दा ठूलो चुनौती हो । प्रतिस्पर्धामा उत्रिन कि त अरूभन्दा सस्तोमा सामान बेच्न सक्नुपर्छ, कि उही मूल्यमा उत्कृष्ट गुणस्तर दिन सक्नुपर्छ । व्यापारको मूल मर्म बुझाउँदै उनी भन्छन्, ‘ग्राहकले वस्तु किन्दैनन्, उनीहरू आफ्नो समस्याको समाधान किन्छन् । मानिसहरूलाई जे चाहिएको छ, त्यो दिन सकियो भने व्यापार आफैँ चल्छ ।’ सिकाइ, सुधार र परिवर्तन (Learning, Improving, and Changing) नै प्रगतिका निरन्तर प्रक्रिया हुन् ।

निर्णय क्षमता, नैतिकता र देखावटीपनबाट मुक्ति

असफलताको दोष अरूलाई दिनुभन्दा आफू फेल हुनुको वास्तविक कारण खोज्न श्रेष्ठ आग्रह गर्छन् । समयमा ‘नो’ (ल्य) भन्न नसक्नुले पनि मानिसलाई समस्यामा पार्छ । आफ्नो क्षमता र प्राथमिकता बाहिरका कुरामा स्पष्ट रूपमा ‘नो’ भन्न सक्नुपर्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा, अरूलाई देखाउनका लागि कहिल्यै काम गर्नु हुँदैन । ‘कसैले महँगो गाडी चढ्यो भन्दैमा देखाउनकै लागि ऋण खोजेर गाडी किन्नु पर्दैन, आफ्नो आवश्यकता र क्षमता अनुसार स्कुटर नै सही हुन सक्छ,’ उनको तर्क छ । नतिजा जस्तोसुकै आए पनि आफ्नो निर्णयको परिणाम आफैँले भोग्नुपर्ने भएकाले सही र व्यावहारिक निर्णय लिनुपर्छ । साथै, व्यापारमा विश्वास नै सबैभन्दा ठूलो पुँजी हो । इमानदार भएर काम गरे पैसा स्वतः कमाइन्छ। व्यापारमा नैतिकता, आध्यात्मिकता र जीवन दर्शनको ठूलो भूमिका हुन्छ ।

वित्तीय अनुशासन र सच्चा नेतृत्व

ऋणको सही सदुपयोगका विषयमा श्रेष्ठको स्पष्ट धारणा छ, ‘ऋण सधैँ लगानी र उत्पादनमूलक क्षेत्रका लागि मात्र लिनुपर्छ, खर्च वा उपभोगका लागि होइन ।’ सुरक्षित ठाउँमा मात्र लगानी गर्न उहाँ सुझाउनुहुन्छ ।

हामी दिनरात लक्ष्मी (पैसा) को पछाडि कुदिरहेका हुन्छौँ । तर, व्यापारमा एउटा बलियो ‘सिस्टम’ विकास गर्न सकियो भने हामी निश्चिन्त हुँदा पनि लक्ष्मीको बास भइरहन्छ ।

अन्तमा, श्रेष्ठले नेतृत्वको वास्तविक अर्थ खुलाउँदै भन्छन्, ‘अवसरको पर्खाइमा बस्ने होइन, अवसर आफैँ सिर्जना गर्ने हो । नेतृत्व भनेको कुनै पद होइन, यो एक जिम्मेवारी हो ।’ एउटा सच्चा नेताले आफू मात्र अगाडि बढ्ने नभई आफ्ना सहयात्री र टोलीलाई सँगै अगाडि बढाउने क्षमता राख्नुपर्छ । उनका यी विचारहरूले सफल व्यवसायी बन्न चाहने जो कोहीलाई सही बाटो देखाउन मद्दत गर्छन् ।

You might also like

Comments are closed.