काठमाडौं । हस्पिटालिटी सेल्स एन्ड मार्केटिङ एसोसिएसन नेपाल (एचएसएमएएन) को आयोजनामा ‘सेल्स मिट २०२६’ काठमाडौँको वेभ हस्पिटालिटीमा सम्पन्न भएको छ । आतिथ्य तथा पर्यटन क्षेत्रका बिक्री र बजारीकरण व्यवसायीहरूलाई एकीकृत गर्दै व्यावसायिक विकास, नेटवर्किङ र बीटुबी सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।
सन् २०२२ अगस्ट ३१ मा होटल सत्कार एन्ड स्पाबाट सुरु भएको यो यात्रा आज पर्यटन र हस्पिटालिटी क्षेत्रको एकता, बिजनेस एक्सचेञ्ज र व्यावसायिक समृद्धिको बलियो मञ्चका रूपमा स्थापित भएको संस्थाका महासचिव दीपक पोखरेलले बताए । आतिथ्य क्षेत्रका सेल्स प्रोफेसनल्सहरूलाई एउटै छातामुनि ल्याएर क्षेत्रगत चुनौतीहरूलाई सम्बोधन गर्दै अघि बढ्ने संस्थाको लक्ष्य रहेको उनले स्पष्ट पारे ।
एसोसिएसनले यसअघि टेप्स रिसोर्ट, चित्लाङ (मकवानपुर) तथा काठमाडौँका विभिन्न प्रमुख होटलहरूमा चारवटा सेल्स मिट आयोजना गरिसकेको छ । व्यावसायिक गतिविधिबाहेक संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान जस्ता सामाजिक कार्यहरूलाई समेत निरन्तरता दिँदै आएको जानकारी पोखरेलले दिए ।
एचएसएमएएनले आगामी दिनमा केवल ‘सेल्स मिट’ मा सीमित नरही समग्र पर्यटन तथा आतिथ्य उद्योगको प्रवर्द्धन र दक्षता अभिवृद्धिका लागि देहायअनुसारका रणनीतिक कार्यक्रम अघि बढाउने जनाएको छ । होटल, रिसोर्ट, ट्राभल एजेन्सी लगायत सम्पूर्ण पर्यटन सरोकारवालाहरूलाई एउटै प्लेटफर्ममा जोड्ने गरी टुरिजम मिट कार्यक्रम आयोजना गर्ने, सेल्स तथा मार्केटिङ प्रोफेसनल्सका लागि नियमित रूपमा उच्चस्तरीय तालिम र सीप विकास कार्यक्रम सञ्चालन गर्ने, समान प्रकृतिका हस्पिटालिटी तथा पर्यटन संघ–संस्थाहरूसँग मिलेर संयुक्त वर्कसप, नलेज सेयरिङ र बीटुबी अवसरहरू सिर्जना गर्ने संस्थाले जनाएको छ ।

आतिथ्य क्षेत्रमा भित्रिँदै गरेका युवा प्रोफेसनल्सहरूलाई नेटवर्कमा जोड्दै उनीहरूको करियर विकासमा सहयोग पु¥याउने लक्ष्य रहेको पोखरेलले जानकारी दिए । कार्यक्रममा महासचिव पोखरेलले संस्थाको यस यात्रामा योगदान पु¥याउने सम्पूर्ण कार्यसमिति, सदस्यहरू, प्रायोजक, साझेदार तथा होटल व्यवसायीहरूप्रति धन्यवाद ज्ञापन गरे । ‘एकता, नेटवर्किङ, सिकाइ र व्यावसायिक समृद्धि’को साझा अवधारणामार्फत समग्र पर्यटन र आतिथ्य उद्योगलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धताका साथ कार्यक्रम समापन भएको थियो ।




Comments are closed.