काठमाडौं । महाविपत्तिपछि मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेका बेला जसले जहाँबाट जे सक्छौं, त्यति नै सहयोग गर्न वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी संस्थापक सुष्मा महराले आह्वान गरेकी छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंकी सल्लाहकारसमेत रहेकी महराले बुधबार रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि आइतबार एक भिडियो सन्देश जारी गर्दै विपत्तिको सामना सबै मिलेर गर्नुपर्ने बताएकी हुन् ।
उनले राहत तथा पुनस्स्थापनाका लागि सहयोग गर्दा रकम सानो वा ठूलो भन्ने सोच नराख्न पनि आग्रह गरेकी छन् । “जसले जहाँबाट जे सक्छ, त्यति नै सहयोग गरौँ । जति सक्नुहुन्छ, त्यति सहयोग गर्नुहोस् । थोरै रकम सहयोग गरेँ भनेर मन खिन्न नपार्नुहोस् । आफ्नो ठाउँबाट, आफ्नो क्षमता अनुसार सहयोग गर्नुहोस्,” महराले भनेकी छन् ।
सामाजिक सञ्जालमा केही व्यक्तिले सरकारको राहत कोषमा ठूलो रकम सहयोग गरेको बैंक स्टेटमेन्ट सार्वजनिक गरिरहेका कारण थोरै आम्दानी भएका व्यक्तिहरूमा आफूले गर्ने सानो सहयोगले के फरक पार्ला भन्ने भावना उत्पन्न हुन सक्ने उनको भनाइ छ । तर विपत्तिको समयमा सहयोगको रकम भन्दा सहयोग गर्ने भावना महत्वपूर्ण हुने उनले बताएकी छन् । “कतिपयले ५० हजार, एक लाखदेखि एक करोड रुपैयाँसम्म सहयोग गरेको बैंक स्टेटमेन्ट सामाजिक सञ्जालमा राख्नुभएको छ ।
त्यसले गर्दा थोरै आम्दानी भएका व्यक्तिहरूलाई हामीले गर्ने सानो रकमले सरकारलाई के सहयोग होला भन्ने लाग्न सक्छ । तर त्यस्तो सोच्नु हुँदैन,” उनले भनेकी छन् ।
यसै क्रममा उनले रौतहटका २६ जना विद्यालयका विद्यार्थीले मिलेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरेको ४७० रुपैयाँ सहयोगको उदाहरण दिएकी छन् । विद्यार्थीहरूले खाजा खाने रकमबाट ५, १० र ५० रुपैयाँ जम्मा गरेर राहत कोषमा सहयोग गरेको भन्दै उनले त्यसलाई उदाहरणीय कामका रूपमा उल्लेख गरेकी हुन् ।
“रकम सानो होला, तर मन र भावना निकै ठूलो छ । विद्यार्थीहरूले आफ्नो खाजा खाने पैसाबाट ५, १०, ५० रुपैयाँ जम्मा गरेर सहयोग गर्नुभएको छ । यो निकै उदाहरणीय काम हो,” महराले भनेकी छन् । महराले आफू सहित फेसियल हाउसका सबै सदस्यले पनि राहतका लागि सहयोग गरिरहेको तर त्यसलाई सामाजिक सञ्जालमा सार्वजनिक नगरेको बताएकी छन् ।
उनले सहयोग भनेको पैसा मात्र नभएको पनि स्पष्ट पारेकी छन् ।
घरमा रहेको खाद्यान्न, कपडा वा अन्य आवश्यक सामग्री सहयोग गर्न सकिने तथा प्रभावित क्षेत्र नजिक रहेका व्यक्तिले श्रमदान मार्फत समेत योगदान गर्न सक्ने उनको भनाइ छ । “सबैले पैसा नै सहयोग गर्नुपर्छ भन्ने छैन । आफ्नो घरमा भएको खाद्यान्न, पसलमा भएको लत्ताकपडा वा आवश्यक सामग्री सहयोग गर्न सकिन्छ । प्रभावित ठाउँ नजिक हुनुहुन्छ भने श्रमदान गर्न सकिन्छ । थोपा–थोपा मिलेर समुद्र बन्छ,” उनले भनेकी छन् ।

देश तथा विदेशबाट सरकारको राहत कोषमा प्राप्त भइरहेको सहयोग सराहनीय रहेको उल्लेख गर्दै महराले विपत्तिको यो घडीमा सबै नेपालीले आ–आफ्नो ठाउँबाट सकेको योगदान गर्नुपर्नेमा जोड दिएकी छन् । देश विदेशमा रहेका नेपालीहरूले आफ्नो क्षमता र अवस्थाअनुसार सरकारलाई सहयोग पठाउनु एकताको सकारात्मक उदाहरण भएको उनको भनाइ छ ।
हिन्दु नारीहरूको महान् पर्व तीजसँगै दसैँ, तिहार र छठजस्ता पर्वसमेत नजिकिँदै गरेको उल्लेख गर्दै उनले यसपटक चाडपर्वलाई विगतभन्दा केही सामान्य रूपमा मनाएर बचत भएको रकम विपत्तिमा परेकाहरूका लागि सहयोग गर्नसमेत आग्रह गरेकी छन् । कतिपयले तीजका कार्यक्रम स्थगित गरेको र कतिपयले राहत सामग्री जुटाउन भेटघाट तथा कार्यक्रम मार्फत सहयोग संकलन गरिरहेको भन्दै उनले आफ्नो क्षमता र परिस्थिति अनुसार हरेक व्यक्तिले कुनै न कुनै रूपमा योगदान गर्न सक्ने बताएकी छन् । महराले विपत्तिको यो कठिन घडीमा सरकार, संघसंस्था वा कुनै एक पक्षको मात्र प्रयास पर्याप्त नहुने भन्दै सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।




Comments are closed.