सिजी प्रोपर्टीज नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनीको तयारी पूरा

काठमाडौं । भृकुटीमण्डपमा असोज १ देखि ४ गतेसम्म आयोजना हुने सिजी प्रोपर्टीज नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३ को तयारी पूरा भएको छ ।

प्रदर्शनीका लागि आवश्यक सवै प्रक्रिया पूरा गरेर अहिले आयोजकहरु स्टल निर्माण गर्दै आ–आफ्नो स्टललाई आकर्षक र व्यवस्थित गर्न लागि परेका छन् । मेलाका लागि पत्राचार, कार्यक्रम सुनिश्चितता लगायतका सम्पूर्ण कार्य सम्पन्न भइसकेको र विहिवार सर्वसाधारणलाई निःशुल्क रुपमा स्वागत गर्न आतुर भएको एक्स्पो संयोजक रोशन भोयद्योले बताए ।

सुरक्षित, व्यवस्थित र आधुनिक आवास निर्माणलाई केन्द्रमा राखेर आयोजना हुने प्रदर्शनीमा रियल इस्टेट, बैंक, निर्माण सामग्री, कम लागतको आवास, प्रिफ्याब, इन्टेरियर, होम अप्लायन्सेस, बीमा तथा स्वास्थ्य सेवासहित विभिन्न क्षेत्रका एक सयभन्दा बढी स्टल रहने भएका छन् ।

प्रदर्शनीमा रियल इस्टेट क्षेत्रका १८, बैंक तथा वित्तीय संस्थाका ८, अस्पतालका २, वास्तुसम्बन्धी २, होम अप्लायन्सेसका २, सुरक्षा सेवाका २ तथा कम लागतको आवाससम्बन्धी २ वटा स्टल रहनेछन् । त्यस्तै पाइप तथा फिटिङ, टायल, सेनेटरी, अटोमेसन डोर, फाइबर वर्क्स, इन्टेरियर डिजाइन, प्रिफ्याब, रूफिङ, यूपीभीसी ढोका तथा झ्याल, म्याट्रेस र बीमालगायतका क्षेत्रका कम्पनी तथा व्यवसायीको समेत सहभागिता रहनेछ । यस प्रदर्शनीबाट उपभोक्ताले घर निर्माणको योजना बनाउँदादेखि निर्माण सम्पन्न भएपछि सजावट तथा आवश्यक प्रविधिसम्मका विकल्प एउटै स्थानमा हेर्न र तुलना गर्न सक्नेछन् ।

नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा नेपाल चेम्बर अफ कमर्सको सहकार्य रहेको छ । प्रदर्शनीको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रा.लि.ले गरेको छ । सीजी प्रोपर्टिज शीर्ष प्रायोजक रहेको प्रदर्शनीमा एसियन पेन्ट्स ‘पावर्ड बाइ’, प्रभु इन्स्योरेन्स ‘इन्स्योरेन्स पार्टनर’ तथा स्मार्ट पानीलगायतका संस्थाको सहभागिता रहनेछ ।

यसपटकको प्रदर्शनीको मूल सन्देश ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ रहेको छ । आयोजकले घरजग्गाको कारोबारलाई मात्र केन्द्रमा नराखी सुरक्षित आवास, व्यवस्थित बस्ती, आधुनिक निर्माण प्रविधि र वातावरणमैत्री विकासलाई प्राथमिकतामा राखेको जनाएको छ ।

आयोजकका अनुसार प्रदर्शनीमा सुरक्षित तथा भूकम्पप्रतिरोधी घर निर्माणमा विशेष जोड दिइएको छ । सम्बन्धित स्टलहरूमा घर सम्बन्धी इञ्जिनियरिङ्ग घर निर्माण, डिजाइन तथा वास्तुविद्बाट वास्तुसम्बन्धी परामर्श लिन सकिने व्यवस्था गरिएको छ । बाढी, पहिरो, नदी कटान तथा भूकम्पीय जोखिमलाई ध्यानमा राख्दै विपद् प्रतिरोधी आवास र सुरक्षित बस्ती विकासबारे पनि प्रदर्शनीमा जानकारी दिइनेछ ।

त्यस्तै सौर्य ऊर्जा, वर्षाको पानी संकलन, फोहोर व्यवस्थापन, ऊर्जा बचत गर्ने प्रविधि तथा वातावरणमैत्री निर्माण सामग्रीलाई पनि प्राथमिकता दिइएको छ । डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक किओस्क, डिजिटल डिस्प्ले तथा भर्चुअल रियालिटी/अग्मेन्टेड रियालिटीमार्फत आवास तथा निर्माण परियोजना प्रस्तुत गर्ने तयारी गरिएको छ ।

प्रिफ्याब तथा कम लागतको आवास निर्माणका विकल्पसमेत प्रदर्शनीमा प्रस्तुत गरिनेछन् । आयोजकले मध्यम तथा निम्न मध्यम वर्गलाई लक्षित गर्दै लागत घटाएर सुरक्षित आवास उपलब्ध गराउने अवधारणालाई समेत छलफलमा ल्याएको छ । काठमाडौं नजिकै नुवाकोट–रसुवा क्षेत्रमा तीन बेडरुम र दुई तलाको घर करिब रु. १ करोड ४० लाखको परियोजना समेत प्रस्तुत गरिनेछ ।

प्रदर्शनीमा सहभागी कम्पनीहरूले आफ्ना उत्पादन तथा सेवाअनुसार विभिन्न छुट तथा अफर ल्याउने तयारी गरेका छन् । डेभलपर्स गुरूको ‘डी–४’ स्टलमा जग्गामा २५ प्रतिशतसम्म छुट, रु. ५ हजार १ सयमा टोकन बैना गर्न सकिने तथा जग्गा उपयुक्त नलागेमा टोकन रकम फिर्ता हुने व्यवस्था राखिएको छ । त्यहाँ रु. ७७ लाख ५० हजारमा घरको विकल्पसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

प्रदर्शनीलाई व्यवसायीका लागि बजार विस्तारको अवसरसँगै उपभोक्ताका लागि सही सूचना र विकल्प प्राप्त गर्ने थलोका रूपमा विकास गर्न खोजिएको एक्स्पो संयोजक रोशन भोयद्योले बताए । उनका अनुसार घरजग्गा खरिद जीवनकै ठूलो आर्थिक निर्णय भएकाले उपभोक्ताले विभिन्न परियोजना, मूल्य, निर्माण गुणस्तर, कानुनी अवस्था र वित्तीय विकल्पबारे जानकारी लिएर मात्र निर्णय गर्नुपर्छ ।

प्रदर्शनीमा ६५ हजारभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको छ । चार दिनसम्म चल्ने कार्यक्रममा घरजग्गा तथा निर्माण क्षेत्रसँग सम्बन्धित सेमिनार, प्यानल छलफल, प्राविधिक परामर्श लगायतका गतिविधि सञ्चालन    गरिनेछन् । स्वास्थ्य शिविर र रक्तदान लगायतका सामाजिक गतिविधि समेत प्रदर्शनीका कार्यक्रम अन्तर्गत रहने आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.