‘पोलिसी डायलग अन इभिजन नेपालः ड्राइभिङ द फ्युचर’ सम्पन्न

काठमाडौ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) द्वारा आयोजित दुईदिने ‘पोलिसी डायलग अन इभिजन नेपालः ड्राइभिङ द फ्युचर’ कार्यक्रम ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा सम्पन्न भएको छ ।

पोलिसि तथा इकोनोमी, उद्योग तथा पुर्वाधार, सुरक्षा तथा दिगोपन र युवा तथा नवप्रवर्तन मुख्य थिम रहेको कार्यक्रममा नीति निर्माता, सरकारी अधिकारी, अनुसन्धानकर्ता, उद्योग विशेषज्ञ, शिक्षाविद्, सञ्चारकर्मी तथा युवा नवप्रवर्तकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा ईभीको वर्तमान अवस्था, नीतिगत सुधार, चार्जिङ पूर्वाधार, सुरक्षा, ब्याट्री व्यवस्थापन, वित्तीय प्रोत्साहन, सीप विकास तथा भविष्यको रणनीतिबारे छलफल गरिएको थियो ।

यस कार्यक्रमको पहिलो सत्रमा नासा नेपालको तर्फबाट नेपालको विद्युतीय यातायातसम्बन्धी २००० भन्दा बढि सहभागीको सर्वेक्षण तथा ३० सरोकारवालाको अन्तरवार्ताको अध्ययनमा आधारित प्रतिवेदन प्रस्तुत गरिएको थियो । रेज कन्सल्ट प्रालिका अनुसन्धानकर्ता प्रविण सिंह भण्डारीले प्रतिवेदन पेश गर्दैे विद्युतीय सवारी साधनको प्रयोग तथा प्रवद्र्धनलाई बढावा दिन वित्तीय प्रोत्साहन, चार्जिङ पूर्वाधारको विकास, सुरक्षा मापदण्डको कार्यान्वयन, जनचेतना अभिवृद्धि, सार्वजनिक यातायातको विद्युतीकरण र सम्बन्धित निकायहरूबीच संस्थागत समन्वय गरी छ वटा प्रमुख नीतिगत स्तम्भहरू अवलम्बन गर्न सुझाव दिएका थिए ।

एसएइ इन्यिडाका अध्यक्ष डा. नागार्जुन गोविन्दनले नेपाल र भारतको सवारी बजार समान प्रकृतिको रहेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा लगानी, घरायसी चार्जिङको विस्तार र ईभीबारे सन्तुलित सूचना प्रवाहमा जोड दिए । केन्द्रबिन्दु डटकमका प्रधान सम्पादक विदुर खतिवडाले ईभीसम्बन्धी तथ्यपरक सूचना प्रवाहसँगै सडक, पूर्वाधार तथा सुरक्षा मापदण्डलाई ईभीमैत्री बनाउनुपर्ने बताए । फोटोन नेपालका मार्केटिङ हेड प्रकाश सुवेदीले कार्यक्रमका लागि नासा नेपाललाई धन्यवाद दिँदै ईभी क्षेत्रमा सहकार्य जारी राख्ने बताए ।

रोड सेफ्टी विज्ञ सरोज प्रधानले सबै प्रकारका सवारीको सुरक्षा जोखिमलाई समान रूपमा हेर्नुपर्ने र ईभीको जीवनचक्र लागत, चालकको व्यवहार, सडक डिजाइन तथा आपत्कालीन रेस्पन्समा ध्यान दिनुपर्ने बताए । यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक मणिराम भुसालले ईभीको एडप्सन राम्रो रहेको बताउँदै टाइप अप्रुभल, सीओपी, मोटर–ब्याट्री सुरक्षा, तेस्रो पक्ष परीक्षण तथा एबीएस, ईबीडी र एयरब्यागजस्ता सुरक्षा मापदण्ड अनिवार्य गर्ने तयारी भइरहेको जानकारी दिए । भारतका नामटेक इन्स्टीट्युटका प्रा. डा. केसी बोराले भारतको अनुभव प्रस्तुत गर्दै नेपालले नीति, उद्योग, पूर्वाधार, अनुसन्धान, सुरक्षा र दिगोपनलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने बताए । उनले ईभी प्रवद्र्धन, चार्जिङ पूर्वाधार, सीप विकास तथा ब्याट्री पासपोर्टका अभ्यासबारे जानकारी दिए ।

फोटोन नेपालका जनरल म्यानेजर लु झाङयाङले व्यावसायिक ईभी, नयाँ ऊर्जा प्रविधि तथा दिगो कमर्सियल मोबिलिटीसम्बन्धी अनुभव प्रस्तुत गरे ।
प्रतिनिधिसभा पूर्वाधार विकास समितिका अध्यक्ष आशिष गजुरेलले पहिलो दिनको समापन गर्दै सरकारले ईभीमैत्री नीतिमा सडक सुरक्षा, चार्जिङ पूर्वाधार, ब्याट्री रिसाइक्लिङ तथा स्वदेशी ईभी उत्पादनलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनले निजी क्षेत्र तथा विदेशी लगानीकर्तालाई ईभी उत्पादन, रिसाइक्लिङ र चार्जिङ पूर्वाधारमा लगानी गर्न आग्रह गरे ।
फोटोन नेपालको सहकार्यमा गरिएको यस कार्यक्रमको दोस्रो दिन मोटरिङ नेपालका सिजन भट्टराईले नासा नेपाल तथा यससंग आवद्ध संस्थाका युवासम्बन्धी विभिन्न गतिविधि र अभियानबारे जानकारी प्रस्तुत गरे । काठमाडौं विश्वविद्यालयकी प्राध्यापक सिरपा श्रेष्ठले ब्याट्री सुरक्षा, ड्राइभिङ साइकल, चार्जिङ पूर्वाधार, ब्याट्री रिसाइक्लिङ तथा लाइफ साइकल एसेसमेन्टमा अनुसन्धान भइरहेको बताउँदै नेपालको आफ्नै ड्राइभिङ साइकल र मापदण्ड आवश्यक रहेको उल्लेख गर्दै उनले विश्वविद्यालय, उद्योग र सरकारबीच सहकार्य तथा राष्ट्रिय डेटा प्रणालीमा जोड दिइन् ।

युवा तथा नवप्रवर्तकलाई प्रोत्साहनका लागी नासा नेपालले नेपालमा निर्मित पहिलो हाइव्रिड गाडी बनाउने युवा शहजाद आलमलाई सम्मान गर्दै नगद तीस हजारको सहयोग ग¥यो ।
पूर्वमन्त्री योगेश भट्टराईले सडक सुरक्षा, पूर्वाधार मापदण्ड र ईभीसम्बन्धी कानुनी स्पष्टता, ब्याट्री पुनःप्रयोग, ईभीमैत्री पूर्वाधार र राजस्व नीतिबीच सन्तुलन आवश्यक रहेको बताए । बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्रप्रसाद प्रजापतिले इन्धन सवारीसाधनभन्दा बाहिर सोच्ने समय आएको उल्लेख गर्दै सुरक्षा र दिगोपनामा कुनै सम्झौता नगरी विद्युतीय सवारीसाधन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । उनले विद्युतीय सवारीको प्रवद्र्धनका लागि विज्ञहरूबाट प्राप्त सुझावलाई सरकार सकारात्मक रूपमा ग्रहण गर्न तयार रहेको धारणा व्यक्त गरे ।

नेपाल विद्युत् प्राधिकरणको क्लिन इनर्जी इनोभेसन विभागका सागर ज्ञवालीले हालको चार्जिङ पूर्वाधार, यसको विस्तार तथा प्राधिकरणका आगामी योजनाबारे जानकारी दिए । उनले विद्युतीय सवारीका लागि अन्तरसहर चार्जिङ सञ्जालको आवश्यकता औँल्याउँदै इभी क्षेत्रको प्रभावकारी नियमनका लागि छुट्टै स्वायत्त सरकारी निकायको आवश्यकतामाथि जोड दिए । भारतको ओलेक्ट्रा ग्रीनटेक लिमिटेडका उपाध्यक्ष राजेश शर्माले विद्युतीय सवारीमा रूपान्तरणका फाइदा, विश्व तथा क्षेत्रीय ईभी प्रवृत्ति र ओलेक्ट्रा ग्रीनटेकका नवीन प्रविधि तथा अभ्यासबारे प्रस्तुति दिए ।

त्यसैगरी, टुरमाण्डु नेपालका इशान नेपालले दिगो पर्यटन विकासमा विद्युतीय सवारीको महत्वपूर्ण भूमिकाबारे आफ्ना धारणा प्रस्तुत गरे ।
नेपाल अटोमेकानिक्स फेडेरेसनका पूर्वअध्यक्ष ठाकुरप्रसाद न्यौपानेले बढ्दो विद्युतीय सवारीको बजारसँगै अटोमेकानिक्स क्षेत्रलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताए । उनले रोजगारीमा पर्न सक्ने प्रभावप्रति चिन्ता व्यक्त गर्दै इभी आयातका लागि स्पष्ट कार्यविधि, सरकारी नियमन तथा राष्ट्रिय मापदण्ड निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।
अन्तरक्रिया तथा छलफल सत्रमा सहभागीहरूले इभी क्षेत्रको दिगो विकासका लागि स्पष्ट मापदण्ड तथा नियमन, चालक तथा अटोमेकानिक्सको तालिम तथा क्षमता विकास र इभीको प्रयोग र सुरक्षासम्बन्धि व्यापक जनचेतनामूलक अभियान आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रमको समापन सत्रमा पूर्वाधार विकास मन्त्रालयका सहसचिव ई. सुशीलबाबु ढकालले विद्युतीय सवारीको प्रवद्र्धन तथा नियमनका लागि सरकारले अघि बढाइरहेका विद्यमान तथा आगामी योजना र कार्यक्रमबारे जानकारी गराए । कार्यक्रममा विद्युतीय सवारीको सुरक्षित, व्यवस्थित र दिगो विस्तारका लागि सरकार, निजी क्षेत्र, प्राविधिक जनशक्ति तथा सरोकारवालाबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।

एफआईए सेफ एण्ड सस्टेनेबल मोबिलिटी ग्रान्ट तथा एफआईए फाउण्डेशनको सहयोगमा भइरहेको यस “ईभिजन नेपालः ड्राइभिङ द फ्युचर” अभियान अन्तर्गत देशव्यापी रूपमा २ हजार सहभागीहरूको सर्वेक्षण, ३० जना सरोकारवालासँग अन्तर्वार्ता, ४ वटा क्षेत्रीय डाइलग, १ राष्ट्रिय कार्यशाला, ९० जना पत्रकारलाई तालिम सम्पन्न भइसकेको छ ।

You might also like

Comments are closed.

Secret Link