उत्पादनमूलक उद्योगमार्फत आर्थिक समृद्धिको अभियानमा डिजिटल बहुउद्देश्यीय सहकारी

रैथाने फलफूलको प्रशोधनदेखि अन्तर्राष्ट्रिय बजारसम्म विस्तार, स्थानीय महिलालाई रोजगारी र किसानको उत्पादनलाई उचित मूल्य दिलाउने लक्ष्य

काठमाडौं । काठमाडौं। काठमाडौं महानगरपालिका–१५, स्वयम्भूस्थित डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। सभामा सहकारीलाई बचत तथा ऋण कारोबारमा मात्र सीमित नराखी कृषि, उद्योग, उत्पादन, प्रशोधन, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनको माध्यम बनाउनुपर्नेमा जोड दिइएको छ। संस्थाका अध्यक्ष दीपक चन्द्र गौतमको अध्यक्षता तथा काठमाडौं महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वर मान डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न सभाको उद्घाटन पानसमा दीप प्रज्वलन गरी गरिएको थियो।

सभामा सहकारीको पहलमा सञ्चालित ‘डिजिटल हिमालयन स्वीट्स एन्ड ट्रिट्स’ उद्योगलाई नेपाली कृषि उपजको मूल्य अभिवृद्धि, स्थानीय महिलाको आर्थिक सशक्तीकरण तथा नेपाली मौलिक स्वादलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उत्पादनमुखी अभियानका रूपमा प्रस्तुत गरिएको थियो।

किसानको उत्पादनलाई उद्योग र बजारसँग जोड्नुपर्छ भन्ने मिल उद्देश्य सहित अध्यक्ष गौतमले सभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई परम्परागत बचत तथा ऋण कारोबारमा मात्र सीमित नराखी उत्पादनमूलक आर्थिक गतिविधिसँग जोड्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको बताए। लामो समयदेखि कृषि क्षेत्रमा काम गर्दै विभिन्न जिल्लाका किसानसँग प्रत्यक्ष सम्बन्ध कायम गरेको अनुभव सुनाउँदै उनले किसानले उत्पादन गरेको कृषि उपजले उचित मूल्य नपाउने, प्रशोधन तथा भण्डारणको अभाव हुने र बजारसम्म सहज पहुँच नपाउने समस्या रहेको उल्लेख गरे।

किसानको उत्पादनलाई संकलन, प्रशोधन, प्याकेजिङ र बजारीकरणमार्फत मूल्य अभिवृद्धि गर्ने उद्देश्यले अघि बढाइएको उद्योग स्थापना अभियानलाई सहकारीका शेयर सदस्य, सञ्चालक तथा शुभेच्छुकहरूको सामूहिक सहयोगले सम्भव बनाएको उनको भनाइ थियो।“सहकारीको वास्तविक सफलता आर्थिक कारोबारको आकारमा मात्र होइन, यसले सदस्य, किसान र समुदायको जीवनमा ल्याउने सकारात्मक परिवर्तनमा देखिनुपर्छ,” अध्यक्ष गौतमले भने। उनले कृषिलाई उद्योग र बजारसँग प्रभावकारी रूपमा जोड्न सके किसानको आम्दानी वृद्धि हुनुका साथै स्वदेशी उत्पादन र राष्ट्रिय अर्थतन्त्रलाई समेत बलियो बनाउन सकिने धारणा व्यक्त गरे। रैथाने फलफूलबाट नेपाली मौलिक स्वादका उत्पादन सहकारीको पहलमा सञ्चालित डिजिटल हिमालयन स्वीट्स एन्ड ट्रिट्स उद्योगले लप्सी, किवी, स्ट्रबेरी, अमला, स्याउलगायतका फलफूल प्रशोधन गरी क्यान्डी, तितौरा, जाम, अचार तथा अन्य खाद्य सामग्री उत्पादन गर्दै आएको संस्थाले जनाएको छ।

त्यसैगरी स्थानीय मसला, टिमुरछोप तथा फलफूल र तरकारीमा आधारित विभिन्न प्रशोधित खाद्य सामग्रीको उत्पादन र विविधीकरणलाई पनि प्राथमिकता दिइएको छ।

परम्परागत नेपाली स्वादलाई आधुनिक प्रशोधन प्रविधि, आकर्षक प्याकेजिङ र गुणस्तरीय उत्पादन प्रणालीसँग जोडेर उपभोक्तासम्म पुर्‍याउने उद्योगको लक्ष्य रहेको छ।व्यावसायिक उपयोग हुन नसकेका स्थानीय तथा रैथाने फलफूललाई बजारयोग्य खाद्य सामग्रीमा रूपान्तरण गर्न सके किसानले उचित मूल्य पाउने र कृषि उपजको खेर जाने समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने संस्थाको विश्वास छ। आगामी दिनमा उत्पादन विविधीकरण गर्नुका साथै हिमाली फलफूल तथा जडीबुटीमा आधारित नयाँ खाद्य सामग्रीको अनुसन्धान र विकासलाई अघि बढाउने योजना पनि संस्थाले बनाएको छ।

स्थानीय महिलालाई रोजगारी, आर्थिक आत्मनिर्भरतामा जोड
उद्योगले उत्पादन तथा प्रशोधनसँगै स्थानीय स्तरमा रोजगारी सिर्जना र महिला आर्थिक सशक्तीकरणलाई प्राथमिकता दिएको छ। संस्थाका अनुसार स्थानीय महिलाहरूलाई उत्पादन, प्रशोधन, प्याकेजिङ तथा अन्य कार्यमा सहभागी गराइएको छ। सीप विकास र कार्यगत तालिममार्फ महिलालाई उत्पादनमूलक गतिविधिमा संलग्न गराउँदा उनीहरूको आयआर्जन बढ्नुका साथै पारिवारिक आर्थिक अवस्थामा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

सहकारीले व्यावसायिक गतिविधिसँगै समुदायको आर्थिक सशक्तीकरणलाई पनि आफ्नो जिम्मेवारीका रूपमा अघि बढाएको जनाएको छ।

नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा विस्तार हुँदै डिजिटल हिमालयन स्वीट्स एन्ड ट्रिट्सका उत्पादनहरू काठमाडौं उपत्यकाका विभिन्न मार्ट तथा किराना पसलमा बिक्रीवितरण हुँदै आएका छन्। अध्यक्ष गौतमका अनुसार बिगमार्ट लगायतका व्यावसायिक बिक्री केन्द्रमा समेत उत्पादनको पहुँच विस्तार भएको छ। संस्थाले नेपाली मौलिक स्वादका खाद्य सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित निर्यात विस्तारका लागि पहल गरिरहेको जनाएको छ। संस्थाका अनुसार उत्पादनको पहिलो खेप मध्यपूर्वी बजारतर्फ निर्यात भइसकेको छ। कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, बहराइन र कुवेतलगायतका मुलुकमा वितरण सञ्जाल विस्तार गर्ने योजना रहेको छ। भविष्यमा अस्ट्रेलिया, अमेरिका, बेलायत, युरोप तथा पूर्वी एसियाली बजारसम्म नेपाली उत्पादन पुर्‍याउने दीर्घकालीन लक्ष्यसमेत संस्थाले लिएको छ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न स्वादसँगै गुणस्तर, खाद्य सुरक्षा, प्याकेजिङ, ब्रान्डिङ र विश्वसनीय वितरण प्रणाली आवश्यक हुने भएकाले उद्योगले यी पक्षमा ध्यान दिएको जनाएको छ। अध्यक्ष गौतमका अनुसार उद्योगमा खाद्य प्रविधिविज्ञको प्राविधिक निगरानीमा उत्पादन तथा प्रशोधन कार्य हुँदै आएको छ। उनले उद्योगले आईएसओ २२००० खाद्य सुरक्षा व्यवस्थापन प्रणाली, हलाल तथा जीएमपीसम्बन्धी प्रमाणीकरण हासिल गरेको जानकारी दिए ।

कार्यक्रममा विशेष अतिथिका रुपमा रहेका नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ बस्तुगत परिषदका सदस्य प्रल्हाद दाहालले उत्पादनमूलक सहकारीले अर्थतन्त्रलाई बलियो बनाउँछ । बहुउद्देश्यीय सहकारी संस्थाहरूले कृषि, पशुपालन, दुग्ध उत्पादन, खाद्य प्रशोधन तथा उत्पादनमूलक उद्योगसँग जोडेर अघि बढ्नुपर्ने बताए । उनले नेपाली किसानले उत्पादन गरेको वस्तुलाई व्यवस्थित संकलन, प्रशोधन र बजारीकरणमार्फत मूल्य अभिवृद्धि गर्न सके ग्रामीण अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उल्लेख गरे । स्थानीय कृषि उपजमा आधारित उद्योगको विकासले किसानको आम्दानी वृद्धि, स्वदेशी उत्पादनको प्रवर्द्धन र रोजगारी सिर्जनामा सहयोग पुर्‍याउने उनको भनाइ थियो। सहकारीको पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सके मुलुकभित्रै उद्यमशीलता विकास र आर्थिक आत्मनिर्भरताको आधार तयार हुने उनले बताए।

स्थानीय सरकारको सहयोग रहने वडाध्यक्ष डंगोलको प्रतिबद्धता कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले स्थानीय आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना र समुदायको आर्थिक सशक्तीकरणमा सहकारीले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए। उनले सहकारीको मूल मर्मअनुसार सदस्यहरूको आर्थिक हित संरक्षण गर्दै पारदर्शिता, सुशासन र उत्पादनमूलक गतिविधिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

डिजिटल बहुउद्देश्यीय सहकारीले उद्योग सञ्चालन गरी स्थानीय महिलालाई रोजगारी दिनुका साथै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन गरेको प्रयास सम्पूर्ण वडाका लागि गौरवको विषय भएको उनको भनाइ थियो। उत्पादनमूलक सहकारी तथा स्थानीय उद्योगको संरक्षण र प्रवर्द्धन गर्न स्थानीय सरकार सकारात्मक रहेको उल्लेख गर्दै उनले उद्योगको विकास, विस्तार र आवश्यक सहयोगका लागि वडा कार्यालयका तर्फबाट साथ रहने प्रतिबद्धता व्यक्त गरे। सुशासन, व्यावसायिक व्यवस्थापन र सामाजिक उत्तरदायित्वमा जोड सभामा युनाइटेड नेचर इन्टरनेसनल पिस ९युनिपुन० नेपाल च्याप्टरका अध्यक्ष तथा इन्टरनेसनल ह्युमन राइट्स नेपालका निर्देशक डा।राजु लामा पी। कोन्दनले सहकारी अभियानलाई आर्थिक समृद्धिसँगै सामाजिक सद्भाव, मानवीय मूल्य, आपसी सहयोग र समुदायको दिगो विकाससँग जोड्नुपर्ने बताए।

त्यसैगरी संस्थाका सल्लाहकार, उद्योग विभागका पूर्व महानिर्देशक तथा नेपाल सरकारका पूर्वसहसचिव शंकर अर्यालले उत्पादनमूलक उद्योग सञ्चालन गर्ने सहकारीको प्रयासको प्रशंसा गर्दै संस्थागत सुशासन, व्यावसायिक व्यवस्थापन र दीर्घकालीन योजनामा जोड दिए। सहकारीको पुँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्न सके उद्यमशीलता विकास र स्वदेशमै रोजगारी सिर्जनामा सहयोग पुग्ने उनको धारणा थियो।

संस्थाका अर्का सल्लाहकार तथा गीतमाता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठले सहकारी अभियानलाई सफल बनाउन शिक्षा, अनुशासन, इमानदारी, पारदर्शिता र सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

सभामा शेयर सदस्यहरूको प्रतिनिधित्व गर्दै पुष्कर बसेल र सुमित्रा अर्यालले संस्थाको प्रगति, सदस्यहरूको आर्थिक हित, उद्योग विस्तार तथा सुशासनका विषयमा धारणा राखेका थिए । उत्कृष्ट कर्मचारी सम्मानित साधारण सभाको अवसरमा संस्थाको दैनिक कार्यसम्पादन, सदस्य सेवा तथा संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्‍याउने कर्मचारीलाई उत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो। कर्मचारीहरूको मेहनत, लगनशीलता, इमानदारी र जिम्मेवारीबोधको कदर गर्दै सम्मान गरिएको संस्थाले जनाएको छ।

कार्यक्रम सञ्चालन गर्दै संस्थाका सचिव अशोक खनालले सहकारीको पाँच वर्षे यात्रामा शेयर सदस्यको विश्वास, सञ्चालक समितिको सक्रियता, कर्मचारीहरूको मेहनत तथा सल्लाहकार र शुभेच्छुकहरूको सहयोग महत्त्वपूर्ण रहेको बताए। उनले सहकारीलाई विश्वसनीय, पारदर्शी र उत्पादनमुखी संस्थाका रूपमा विकास गर्न सबैको सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे। उद्योग विस्तार र किसानसँग प्रत्यक्ष सहकार्य आगामी प्राथमिकता साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार आगामी दिनमा संस्थागत सुशासन, आर्थिक अनुशासन, सदस्यहरूको हित संरक्षण र उत्पादनमूलक गतिविधिलाई थप प्रभावकारी बनाउने योजना रहेको छ।

उद्योगको उत्पादन क्षमता विस्तार, नयाँ खाद्य सामग्रीको विकास, बजार व्यवस्थापन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिक्री सञ्जाल विस्तार र किसानसँगको प्रत्यक्ष सहकार्यलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ। किसानलाई गुणस्तरीय बिरुवा, प्राविधिक परामर्श तथा उत्पादन सुधारसम्बन्धी सहयोग उपलब्ध गराउँदै कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न आवश्यक प्रणाली विकास गर्ने लक्ष्य पनि राखिएको छ।

किसानको उत्पादनदेखि प्रशोधन र बजारीकरणसम्मको मूल्य शृंखला व्यवस्थित गर्न सके किसानले राम्रो प्रतिफल पाउने, उद्योगले आवश्यक कच्चा पदार्थ सहज रूपमा प्राप्त गर्ने र ग्रामीण क्षेत्रमा रोजगारीका अवसर बढ्ने संस्थाको विश्वास छ।

अध्यक्ष गौतमले सहकारीलाई सदस्यहरूको बचत र विश्वासको संरक्षण गर्ने संस्थाका रूपमा मात्र नभई उत्पादन, उद्यमशीलता, रोजगारी सिर्जना तथा सामाजिक–आर्थिक विकासको माध्यमका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

किसानको उत्पादनलाई उद्योगसँग, उद्योगका उत्पादनलाई बजारसँग र स्थानीय स्रोतसाधनलाई उद्यमशीलतासँग जोड्ने लक्ष्यसहित डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो।

You might also like

Comments are closed.

Secret Link