सिएमसी कास्कीको अध्यक्षमा विष्णुप्रसाद अधिकारी सर्वसम्मत निर्वाचित

पोखरा । कोअपरेटिभ म्यानेजर्स क्लब (CMC) कास्कीको नवौँ वार्षिक साधारणसभा तथा निर्वाचन सम्पन्न भएको छ। पोखरा महानगरपालिका–१०, बुद्धचोकस्थित रोयल दिदीबहिनी किचनमा आयोजित साधारणसभाले विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

सहकारी क्षेत्रका व्यवस्थापकहरूको व्यावसायिक क्षमता अभिवृद्धि, नेतृत्व विकास, आपसी एकता र अनुभव आदानप्रदानलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको क्लबको साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो। निर्वाचनबाट अध्यक्षमा चयन भएका अधिकारी सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा शंकरप्रसाद पौडेल, सचिवमा सन्तोष रानाभाट, कोषाध्यक्षमा प्रेमसागर अधिकारी र सहसचिवमा दीपक थापा चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा रविन्द्र तिवारी, सुशील केसी, रविन्द्रराज पौडेल, विकास रानाभाट, शम्भु पौडेल र दिव्य सुनार चयन भएका छन् । नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन हुनुले क्लबभित्रको आपसी समझदारी, सहकार्य र साझा उद्देश्यप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ।

क्लबका अध्यक्ष मोहनप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव शंकरप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा क्लबका मानार्थ सदस्य भीमबहादुर गुरुङ, संस्थापक अध्यक्ष मिलन ढकाल, पूर्वअध्यक्ष डम्बर सिंह बस्नेतलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले क्लबले स्थापना कालदेखि सहकारी व्यवस्थापकहरूको व्यावसायिक विकास र सहकारी क्षेत्रको संस्थागत सुदृढीकरणका लागि पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै क्लबका मानार्थ सदस्य भीमबहादुर गुरुङले सिएमसी कास्कीले सहकारी अभियानमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए। उनले क्लब देशमा सहकारी क्षेत्रसँग सम्बन्धित पहलहरूमध्ये अग्रणी स्थानमा रहेको उल्लेख गर्दै स्थापनाको मूल परिकल्पना र उद्देश्यअनुरूप काम गर्दै आएको बताए। संस्थाको उद्देश्य र मूल्यलाई आत्मसात् गर्दै अघि बढ्नु नै यसको निरन्तरताको आधार भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि अझ उत्साह, सक्रियता र प्रभावकारिताका साथ कार्यक्रमहरू सञ्चालन गर्न क्लबलाई शुभकामना व्यक्त गरे।

गुरुङले सहकारी क्षेत्र एकअर्कासँग अन्तरसम्बन्धित भएकाले कुनै एउटा सहकारी संस्थामा समस्या देखिँदा त्यसको असर समग्र सहकारी क्षेत्रमै पर्न सक्ने बताए । एउटा सहकारी संस्था समस्यामा पर्दा त्यसले अन्य सहकारीप्रतिको विश्वास र समग्र क्षेत्रको छविमा समेत असर पार्न सक्ने भएकाले सबै सहकारी संस्थाले एकअर्कालाई सहयोग गर्नुपर्नेमा उनले जोड दिए। कुनै एउटा संस्था समस्यामा पर्दा त्यसलाई बेवास्ता नगरी सहकार्य र आपसी सहयोगका माध्यमबाट समाधान खोज्नुपर्ने उनको भनाइ थियो। सहकारी क्षेत्रको विश्वसनीयता र गरिमा जोगाउन सबै संस्थाले साझा जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले आपसी सहयोग, एकता र सहकार्यलाई अझ बलियो बनाउन आग्रह गरे।

यसैगरी, संस्थापक अध्यक्ष मिलन ढकाल तथा पूर्वअध्यक्ष डम्बर सिंह बस्नेतलगायतले क्लबको संस्थागत विकास, व्यवस्थापकहरूबीचको सहकार्य र सहकारी क्षेत्रको व्यावसायिक उन्नतिमा क्लबले खेल्नुपर्ने भूमिकाबारे शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरूले व्यवस्थापकहरूबीच ज्ञान, सीप र अनुभवको आदानप्रदानलाई निरन्तरता दिँदै बदलिँदो सहकारी क्षेत्रका आवश्यकता र चुनौतीअनुसार आफूलाई सक्षम बनाउँदै लैजानुपर्ने धारणा राखेका थिए ।

क्लबको नयाँ नेतृत्व चयनका लागि संस्थापक उपाध्यक्ष कमलमोहन आचार्यको संयोजनमा गठित निर्वाचन उपसमितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो। उपसमितिले सर्वसम्मत रूपमा चयन भएका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेको थियो। सर्वसम्मत निर्वाचन प्रक्रियाले क्लबमा आपसी सहमति, सहकार्य र संस्थागत एकताको अभ्यासलाई थप बलियो बनाएको छ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद अधिकारीले सिएमसी कास्की सहकारी क्षेत्रका व्यवस्थापकहरूको व्यावसायिक क्षमता, दक्षता तथा नेतृत्व विकासका लागि स्थापना गरिएको साझा र महत्वपूर्ण मञ्च भएको बताए। उनले सहकारी संस्थाको प्रभावकारी सञ्चालन, संस्थागत सुशासन र गुणस्तरीय सेवा प्रवाहमा व्यवस्थापकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे । सहकारी संस्थाको नीति, उद्देश्य र कार्यक्रमलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी व्यवस्थापन पक्षमा रहने भएकाले व्यवस्थापकहरू सक्षम, जिम्मेवार र समयअनुकूल हुन आवश्यक रहेको उनको भनाइ थियो।

समय परिवर्तनसँगै सहकारी क्षेत्रका चुनौती, आवश्यकता र व्यवस्थापकीय जिम्मेवारीसमेत परिवर्तन हुँदै जाने भएकाले व्यवस्थापकहरू पनि समयअनुसार अध्ययनशील, ज्ञान र सीपमा दक्ष तथा निरन्तर परिष्कृत हुँदै जानुपर्नेमा उनले विशेष जोड दिए । व्यवस्थापकहरूले आफ्नो कार्यक्षेत्रमा देखिएका समस्या, चुनौती र सम्भावनाबारे निरन्तर अध्ययन गर्दै नयाँ ज्ञान तथा प्रविधिलाई आत्मसात् गर्न सकेमा सहकारी संस्थाहरूको सञ्चालन थप व्यवस्थित र प्रभावकारी बन्ने उनको धारणा थियो।

अध्यक्ष अधिकारीले ‘व्यवस्थापकको क्षमता, सहकारी संस्थाको एकरूपता’ भन्ने क्लबको मूल नारालाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त नारालाई सार्थक बनाउन सहकारीका व्यवस्थापन प्रमुख तथा कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि समयको माग र आवश्यकताअनुसार विभिन्न तालिम, प्रशिक्षण, अन्तरक्रिया तथा अनुभव आदानप्रदानका कार्यक्रम सञ्चालन गर्ने उनले बताए।

 

You might also like

Comments are closed.

Secret Link