दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

काठमाडौं । नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडिपी) ले आठ वर्षमा नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार ५०० भन्दा बढी शिलालेख र आठ हजारभन्दा बढी पुरातात्विक वस्तुको विस्तृत विवरण सङ्कलन गरेको छ ।

सन् २०१८ मा सुरु भएको परियोजनाले विभिन्न जात्रा, पर्व र अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी वृत्तचित्र तथा अभिलेख पनि तयार पारेको हो । सङ्कलित विवरण पुरातत्व विभागको राष्ट्रिय सम्पदा सूची र परियोजनाको ‘डिजिटल डेटाबेस’मा समावेश गरिएको छ ।

परियोजना जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गतको हाइडेलबर्ग सेन्टर फर ट्रान्सकल्चरल स्टडिज र हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एण्ड ह्युम्यानिटिज तथा नेपालका सराफ फाउन्डेसन फर हिमालयन ट्रेडिसन्स एन्ड कल्चर र पुरातत्व विभागको सहकार्यमा सञ्चालन भएको हो । परियोजनाका लागि बेलायतको आर्केडिया फण्डले मुख्य आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

यसमा हाइडेलबर्ग विश्वविद्यालय पुस्तकालय, काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभिपिटी), युनेस्को नेपाल, काठमाडौं विश्वविद्यालयको सेन्टर फर आर्ट एन्ड डिजाइन तथा हाइडेलबर्ग विश्वविद्यालयको साउथ एसिया इन्स्टिच्युटको काठमाडौँ कार्यालयले पनि सहकार्य गरेका थिए । प्रारम्भिक चरणमा जर्मनीको आइथ्री माइन्जसमेत संलग्न थियो ।

परियोजना सम्पन्न भएसँगै डिजिटल डेटाबेसको सञ्चालन, रेखदेख र व्यवस्थापन नेपाल आर्किटेक्चर आर्काइभमार्फत सराफ फाउन्डेसनले गर्नेछ । परियोजना प्रमुख प्राडा क्रिष्टियाने ब्रोसियसका अनुसार यो डिजिटल भण्डारले अनुसन्धानकर्ता, विद्यार्थी र सम्पदाप्रेमीलाई अध्ययन तथा संरक्षणका लागि आधार उपलब्ध गराउनेछ । परियोजनाको समापनलाई सम्पदा संरक्षणको नयाँ यात्राको सुरुआतका रूपमा लिनुपर्ने उनको भनाइ थियो ।

सराफ फाउन्डेसनका अध्यक्ष अरुण सराफले सङ्कलित ज्ञान र तथ्याङ्क नेपालमै सुरक्षित राख्न तथा सहज पहुँच सुनिश्चित गर्न फाउन्डेसन प्रतिबद्ध रहेको बताए । डेटाबेसको व्यवस्थापनलाई निरन्तरता दिँदै अध्ययनकर्ता र सम्पदा क्षेत्रमा कार्यरत विज्ञलाई जानकारी उपलब्ध गराइने उनले जानकारी दिए ।

परियोजनाअन्तर्गत नुवाकोटका ऐतिहासिक भवन र सांस्कृतिक सम्पदाको पनि विस्तृत अभिलेख तयार पारिएको ब्रोसियसले जानकारी दिए । बाढीबाट क्षति पुगेका वा बगेका संरचनाको पुरानै स्वरूपमा पुनर्निर्माण र संरक्षण गर्न ती अभिलेख उपयोगी हुने उनको भनाइ थियो ।

जोसेफ पिटर रिन्डफ्लेइस सङ्ग्रहका ८०० भन्दा बढी ऐतिहासिक नेपाली हस्तलिखित ग्रन्थ तथा कागजात पनि राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको छ । जर्मनीबाट नेपाल फिर्ता ल्याइएका सामग्रीमा १३औँदेखि २०औँ शताब्दीसम्मका ताडपत्र, लालमोहर, अदालती स्रेस्ता, संस्कृत ग्रन्थ, यात्रा संस्मरणलगायत छन् ।

सङ्ग्रहकर्ता स्वर्गीय रिन्डफ्लेइसको इच्छाअनुसार सन् २०१८ मा यी सामग्री हाइडेलबर्ग विश्वविद्यालयका प्राडा एक्सेल माइकेल्सलाई सुम्पिइएको थियो । जर्मनीमा संरक्षण, डिजिटलाइजेसन र सूचीकरणको काम पूरा भएपछि ती सामग्री नेपाल ल्याएर राष्ट्रिय अभिलेखालयलाई बुझाइएको हो ।
रासस

You might also like

Comments are closed.

Secret Link