वासुदेव पौडेल / वसन्त भण्डारी
बागमती । त्रिभुवन राजपथअन्तर्गत भीमफेदी बजार क्षेत्रबाट करिब चार किलोमिटरको दूरीमा पर्छ सुुन्दर सुपिङ गाउँ । मकवानपुरको भीमफेदी गाउँपालिका–५ मा रहेको यो गाउँ पनि देशका अन्य गाउँ जस्तै बढ्दो बसाइँसराइको चपेटामा परेको छ ।
बढ्दो बसाइँसराइले घरहरू खाली हुँदै जान थालेको यो गाउँमा पछिल्लो एक वर्षयता भने पर्यटकीय चहलपहल बढ्दै गएको छ । बसाइँसराइका कारण खाली हुँदै गएका पुराना घरलाई पर्यटन व्यवसायीहरूको पहलमा साजसज्जासहित रिसोर्टकै स्वरुपमा घरवासको प्रत्यक्ष अनुभूति गर्न सकिने किसिमको सुपिङ गोर्ज क्याम्प सञ्चालन गरिएको हो ।
विभिन्न सेवा, पेसा र व्यवसायको खोजीसँगै सहरी क्षेत्रप्रतिको बढ्दो आकर्षणले यहाँका धेरै स्थानीयवासीहरू हेटौँडा, काठमाडौँलगायतका सहरमा पुगेका छन् । मानिसहरू बस्न छोडेसँगै खाली भएका यहाँका नौ घरलाई भाडामा लिएर पर्यटन व्यवसायी देवेन्द्र नेपालले सुपिङ गोर्ज क्याम्प सञ्चालन गरेका हुन् । “जसरी एउटा चराले छोडेर गएको गुँडमा अर्का चरा आएर बस्दछन्, त्यही मान्यतामा ‘रिनेष्ट टुरिजम’को अवधारणामा मैले सुपिङमा पर्यटन व्यवसाय सुरु गरेको हुँ”, उनले भने, “हाम्रो पर्यटन व्यवसायबाट समाजको तल्लो तहमा बस्ने स्थानीयले पनि त्यसबाट लाभ लिन पाउनुपर्छ भन्ने मेरो मान्यता हो । ”
नेपालले भनेजस्तै अहिले सुपिङका केही स्थानीयले त्यहाँ सञ्चालित सुपिङ गोर्ज क्याम्पबाट रोजगारी पाएका छन् भने गाउँलेले लगाउने तरकारी तथा फलफूलले पनि सहज रुपमा मूल्य पाउन थालेको छ । सुुपिङमा व्यवसाय सुरु गर्नुभन्दा १५ वर्षअघि यही किसिमको अवधारणामा आफूले चित्लाङमा व्यवसाय सुरु गरी सञ्चालन गरिरहेको उनले बताए ।
स्थानीयको बसाइँसराइसँगै रित्तिएका गाउँ र उजाडिएका बस्तीमा पछिल्ला समयमा बढ्दो पर्यटकीय चहलपहलले यहाँको सम्भावनासमेतलाई थप उजागर गरेको छ । यसअघि बाँझिएका खेतबारीमा क्रमशः उत्पादन हुन थालेको छ भने पुराना घरहरू साजसज्जाले राम्रा त बनेका छन् । होमस्टेकै कारण गाउँमा पर्यटकको आगमन पनि निरन्तर भइरहेको सुपिङ गोर्ज क्याम्पका व्यवस्थापक सन्देश जोशीले बताए ।
सुपिङ गाउँ प्राकृतिक सौन्दर्यताले सम्पन्न गाउँ हो । वरपर रमणीय डाँडाकाँडा, हरियाली, चिसो हावापानी र मौलिक किसिमको रहनसहन र ग्रामिण जीवशैली यहाँको विशिष्टता हो । यस गाउँको नजिकै रह्ेका प्राचीन भीमफेदी बजार, गुप्तेश्वर गुफा, गुम्बा, चिसापानी गढी, हात्तीसार आदिले यहाँको महिमा र गरिमालाई अझै उँचो बढाएका छन् । उहाँका अनुु्सार रिर्सोट स्तरको सेवा सुविधासँगै घरवासको प्रत्यक्ष अनुुभव पाउने किसिमका पूर्वाधारले हेटौँडा, काठमाडौंलगायतका स्थानबाट पर्यटकहरू आउन थालेका छन् । होमस्टेमा आएका पर्यटकले छोटो दुूरीको हाइकिङसमेत गर्न पाउने उनले बताए।
आन्तरिक पर्यटकका साथै विदेशी पर्यटकको आगमन पनि बढ्दो क्रममा रहेको उनले बताए । रसुुुवा बाढी अघिसम्म होमस्टेमा विदेशी पर्यटकहरूको आगमन भइरहे पनि त्यसयता भने आगमनको क्रममा केही कमी आएको उनले बताए । गाउँको प्राकृतिक सौन्दर्य र मौलिक जीवनशैलीलाई पर्यटनसँग जोड्नुु नै आफूहरूको मुख्य उद्देश्य हरेको बताउँदै उनले पर्यटनको प्रचुर सम्भावनाका साथै यहाँको मौलिक संस्कृतिलाई पर्यटकीय रुपमा उपयोग गर्न खोजिएको बताए ।
पर्यटकलाई स्थानीय उत्पादनको स्वाद
सुपिङ गोर्ज क्याम्पमा आउने पर्यटकका लागि स्थानीय उत्पादनका परिकारलाई नै प्राथमिकता दिने गरिएको छ । व्यवसाय सञ्चालनका लागि २६ रोपनी जग्गा वार्षिक रु एक लाख २० हजार दिने गरी भाडामा लिइएको छ । उक्त जग्गामध्ये १५ रोपनी जग्गामा खेतीपाती गरिएको छ । उक्त खेतीपातीबाट उत्पादित अर्गानिक वस्तुुहरूको स्वाद यहाँ आउने पर्यटकले लिने गरेका छन् ।
यसअघि सूर्यमुखी फूल रोपिएको यस परिसरमा अहिले तोरी छरिएको छ । यहाँ आएका पर्यटकलाई यही उत्पादन भएको सूर्यमुखी फूलको तेलबाट बनेका परिकारहरू खुवाउने गरिएको बताउँदै व्यवस्थापन जोशीले तोरीको याममा यहीँ उत्पादन हुने तोरीको तेलबाट परिकारहरू बनाइने बताए । पर्यटकको इच्छाअनुसारका ढिडो, लोकल कुखुुेरा, स्थानीय चामल, सिस्नो आदिका परिकारहरू खुवाउने गरिएको उनले बताए । पर्यटकका लागि आगामी दिनमा यही उत्पादित फलफूलसमेत खुवाउने उद्देश्यका साथ परिसरमा एभोकाडो, नासपति, अम्बालगायत विभिन्न फलफूलका बिरुवासमेत लगाइएको उनले बताए ।
स्थानीय उत्पादनको खपतसँगै स्थानीयलाई रोजगारी
सुपिङ गाउँका युुवा प्रमेश मगर गाउँमा नै सञ्चालनमा आएको सुपिङ गोर्ज क्याम्पमा रोजगारी पाउँदा खुसी छन् । रोजगारीका लागि गाउँ छोड्न नपर्दा खुुसी लागेको बताउँदै उहाँले आफूजस्ता यही गाउँका अन्यले पनि रोजगारी पाएको बताए । होमस्टेमा हाल प्रत्यक्ष रुपमा नौ जनाले रोजगारी पाएको बताउँदै व्यवस्थापक जोशीले त्यसमा अधिकांश स्थानीयवासी रहेको बताए ।
स्थानीयवासीलाई प्रत्यक्ष रोजगारीसँगै अप्रत्यक्ष रुपमा विभिन्न किसिमले फाइदा पुगेको उनले बताए । होमस्टेमा आउने पर्यटकका लागि खुवाइने तरकारीजन्य वस्तुुहरू आफ्नो उत्पादनसँगै यहीँका स्थानीयबाट खरिद गर्ने गरिएको बताउँदै उनले त्यसबाट स्थानीयवासीहरू राम्रैसँग लाभान्वित बनिरहेको बताए । घरगाउँमा नै उत्पादन भएको सागसब्जी, गुन्द्रुक, दाल, अन्न आदिको खपत बढ्न थालेसँगै स्थानीयवासीहरू उत्पादनका लागि प्रेरित बनेका छन् । बसाइँसराइले सुनसानजस्तै बन्दै गएको गाउँमा सञ्चालन गरिएको होमस्टेले गाउँको सौन्दर्य बढाउनुका साथै गाउँप्रतिको आकर्षणसमेत बढाएको स्थानीयको अनुभव छ ।
पर्यटकका लागि आकर्षक प्याकेज
सुपिङ गोर्ज क्याम्पमा पर्यटक लक्षित विभिन्न प्याकेज निर्धारण गरिएको छ । व्यवस्थापक जोशीका अनुुसार व्यक्तिगत आउने, समुुहगत आउने तथा दम्पतीका लागि छुट्टाछुट्टै प्याकेज रहेका छन् । पाँच जनासम्मको समूहमा आउनेका लागि प्रतिव्यक्ति रु दुई हजार ५०० को प्योकज रहेको छ । उक्त प्याकेजअन्तर्गत बेलुकाको खाना, रातको सुताईका साथै बिहानको ब्रेकफाष्टको व्यवस्था रहेका छ । दम्पतीका हकमा छ हजारको प्याकेज निर्धारण छ । कोठासहित रातको खाना तथा बिहानको ब्रेकफाष्ट उक्त प्योकजमा समावेश गरिएको उनले जानकारी दिए ।
काठमाडौं तथा हेटौँडाबाट सिधै आउन चाहनेका लागि ल्याउने लैजाने यातायातको व्यवस्थापनसहित प्रतिव्यक्ति रु चार हजार ५०० को प्याकेज तय गरिएको छ । पाँच जनाभन्दा माथि भएका अवस्थामा उक्त सुविधा प्रदान गर्ने गरिएको छ । व्यक्तिगत आउन चाहनेका हकमा रु तीन हजार ५०० को प्याकेज निर्धारण गरिएको उनले जानकारी दिए ।
दैनिक ४० देखि ७० जनासम्म राख्न सकिने
होमस्टेमा दैनिक ४० जनादेखि ७० जनासम्म राख्न सकिने अवस्था रहेको छ । पारिवारिक समूहमा आउँदा ३५ देखि ४० जनासम्म राख्ने गरिएकोमा विद्यार्थीहरू ७० जनासम्म राख्न सकिने व्यवस्थापक जोशीले बताए । व्यवसाय सञ्चालनमा आएयता एक वर्ष अवधिमा क्षमताको लगभग ६० प्रतिशत भरिभराउ नै भइरहेको उनले बताए । भाडामा लिइएका नौ घरमध्ये चारवटा घर साजसज्जा गरी पाहुना राख्ने गरिएको छ भने अन्य ६ वटा कटेज समेत पर्यटकका लागि प्रयोग गरिएको छ ।
आकर्षक बत्तीको साजसज्जासँगै ढुङ्घेधाराकै झल्को दिने गरी राखिएका धारासहित स्नान कक्षसहितको शौचालय आदिका कारण यहाँ आउने पर्यटकहरू लोभिने गरेका छन् । कोठाभित्र मात्र नभई बाहिर परिसरमा गरिएको बत्तीको व्यवस्थापनले रातको समय समग्र परिसर नै रमणीय देखिने गरेको छ । यहाँका घरहरू भाडामा लिएबापत मासिक रु २७ हजार ७०० भाडा तिर्ने गरिएको छ ।
विगतमा घरहरू खाली भएसँगै वरपर फोहर तथा झाडी बनेको बताउने स्थानीयहरू पुराना घरमा गरिएको साजसज्जा एवम् बत्ती व्यवस्थापन, सरसफाइ आदिले यहाँको सौन्दर्यमा नै आमूल परिवर्तन आएको बताउँछन् । पर्यटकलाई नै लक्षित गरी परिसरमा सानो आकारको पौडी पोखरीलगायतका संरचना निर्माण यहाँको सौन्दर्यलाई अझै चम्काएको छ ।
परिसरमा लगाइएको फलफूूलका बिरुवासँगै पुराना घर सरसफाई गरेर रातो माटो तथा कमेरोले गरिएको लिपपोतले ग्रामीण परिवेशको झल्को दिने गरेको छ । ढुङ्गेधारोको शैलीमा बनेका पानीका धारा, पुराना सन्दुक, ठेकी, जाँतो, हलोजस्ता परम्परागत सामग्रीको प्रयोगले ग्रामीण परिवेशको मौलिकतालाई थप उजागर गरेका छन् ।
रासस






Comments are closed.