पोखरा । पोखराको तुलसीघाटमा सुविधासम्पन्न दाहसंस्कार स्थल निर्माण हुने भएको छ। लायन्स क्लब अफ पोखराले आफ्नो स्थापनाको स्वर्ण महोत्सवको अवसरमा यो परियोजना अघि बढाएको हो।
सेती नदी किनारमा हिन्दू परम्पराअनुसार दाहसंस्कार गर्नका लागि ठाउँ निकै अप्ठ्यारो भएको र त्यसका लागि अलि सहज होस् भन्ने हिसाबले यो निर्माण गर्न लागिएको लायन्स क्लब अफ पोखराका पूर्वअध्यक्ष एवं डिस्ट्रिकका एनएलएफ चिफ दिपेन्द्र कोइरालाले जानकारी दिए। ‘नदीसँगै जोडेर बनाइने उक्त दाहसंस्कार स्थल निकै सुविधासम्पन्न हुने र प्राविधिक रूपमा पनि नापजाँच गरेर नदी बढेर आएको अवस्थामा समेत क्षति नपुर्याउने गरी निर्माण गरिनेछ,’ उनले भने। दाहसंस्कार स्थलसम्म पुग्नका लागि बाटो, गएका मलामीहरू बस्नका लागि सोही अनुसारको ठाउँ र शौचालयको प्रबन्धसमेत सोही अनुसारको योजना बनाइएको उनले बताए।
५० वर्षअघि पोखरामा खुलेको यो क्लब नेपालकै छैटौं लायन्स क्लब हो। पोखराका अग्रज व्यवसायी, शिक्षासेवी एवं समाजसेवीहरूको अग्रसरतामा ५० वर्षअघि पोखरामा यो क्लब खुलेको थियो।
आगामी मङ्सिर ५ गते क्लबले स्वर्ण महोत्सव मनाउँदैछ र सोही अवसरमा क्लबमा योगदान पुर्याउने सबैजनालाई सम्मान अर्पण गर्ने कार्यक्रम राखिएको छ। ५० वर्षका गतिविधिहरू समेटेर तयार गरिएको पुस्तक पनि सोही दिन विमोचन गरिने भएको छ।







Comments are closed.