लेखनाथ। गण्डकी प्रदेशकै प्रतिष्ठित औद्योगिक तथा व्यापार मेला ‘लेखनाथ महोत्सव’ को २२ औं संस्करण आगामी पुस २ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने भएको छ। आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका अनुसार महोत्सवको तयारीलाई तीव्र पारिएको छ।
पोखरा महानगरपालिका–२७ स्थित तालचोक, डाँडाको नाकमा आयोजना हुने महोत्सवको व्यवस्थापकीय तथा प्रवर्द्धनात्मक कार्यहरू धमाधम अगाडि बढिरहेका छन्। महोत्सवलाई भव्य र सभ्य बनाउन यतिबेला प्रायोजकहरू खोजी गर्ने काम भइरहेको संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले जानकारी दिइन्।
संघले महोत्सवका लागि स्टल बुकिङको कार्यतालिका समेत सार्वजनिक गरेको छ। जसअनुसार पहिलो चरणमा संघका साधारण सदस्यहरूका लागि आगामी मंसिर ७ गतेदेखि स्टल बुकिङ खुला गरिनेछ। सदस्यहरूको बुकिङ प्रक्रिया सकिएलगत्तै अन्य इच्छुक व्यवसायी तथा सर्वसाधारणका लागि खुला रूपमा स्टल बुकिङ आह्वान गरिने संघले जनाएको छ।
महोत्सवको प्रचारप्रसार समितिका संयोजक एवं संघका उपाध्यक्ष ध्रुव भट्टराईले महोत्सवलाई विगतका संस्करणहरूभन्दा अझ व्यवस्थित, आकर्षक र परिणाममुखी बनाउने गरी तयारी थालिएको बताए। “लेखनाथ महोत्सव यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक पहिचान बनिसकेको छ,” भट्टराईले भने, “स्थानीय उत्पादनको बजारीकरण, लघु तथा घरेलु उद्योगको प्रवर्द्धन र सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउन २२ औं संस्करणले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं। प्रचारप्रसारको कामलाई पनि हामीले तीव्रता दिएका छौं।”
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ विगत दुई दशकभन्दा लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको लेखनाथ महोत्सवमा औद्योगिक उत्पादन, हस्तकला, कृषि उपज, अटोमोबाइल, सूचना प्रविधि, बैंक तथा वित्तीय संस्थाका स्टलहरूका साथै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति र बाल उद्यान मुख्य आकर्षणका रूपमा रहने गर्दछन्।
महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धन तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन विगतका वर्षहरूमा जस्तै यसपटक पनि उल्लेख्य योगदान पुर्याउने अपेक्षा आयोजकले राखेको छ।






Comments are closed.