पोखरा । नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, गण्डकी प्रदेशको तदर्थ कार्यसमितिको महासचिव पदमा युवा उद्यमी तथा व्यवसायी दिलीप कुमार श्रेष्ठ मनोनीत भएका छन्।
संघका गण्डकी प्रदेश अध्यक्ष हरीराज पन्तले सोमबार श्रेष्ठलाई महासचिव पदमा मनोनयन गरेका हुन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रहेको संघको संगठन विस्तार, संस्थागत सुदृढीकरण तथा लोकतान्त्रिक उद्योगी–व्यवसायीहरूको हकहितमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षासहित श्रेष्ठलाई उक्त जिम्मेवारी प्रदान गरिएको अध्यक्ष पन्तले जारी गरेको मनोनयन पत्रमा उल्लेख छ ।
मनोनयन पत्र प्रदान गर्दै अध्यक्ष पन्तले श्रेष्ठको अनुभव, क्षमता, नेतृत्वदायी भूमिका र संगठनप्रतिको समर्पणले संघलाई अझ सशक्त, गतिशील र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै, लोकतन्त्रमा आस्थावान उद्योगी, व्यवसायी तथा समग्र निजी क्षेत्रको हित र अधिकारका लागि श्रेष्ठले उल्लेखनीय भूमिका खेल्ने अपेक्षा समेत पन्तले गरेका छन् ।
नवनियुक्त महासचिव श्रेष्ठ पोखराको व्यावसायिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुन् । उनी हाल पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य तथा नेपाल वितरक संघ कास्की शाखाको उपाध्यक्षसमेत छन् ।
गण्डकी प्रदेश तदर्थ समितिको अध्यक्ष मनोनयन भइसकेको अवस्थामा संघलाई जिल्ला तथा प्रदेश तहसम्म विस्तार गरी पूर्ण रूपको लोकतान्त्रिक उद्योग वाणिज्य संघ निर्माण गर्ने अभियानअन्तर्गत पदाधिकारी मनोनयन प्रक्रिया अघि बढाइएको संघले जनाएको छ। मनोनयनको बोधार्थ संघका केन्द्रीय अध्यक्ष चन्द्र कृष्ण कर्माचार्य र नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मालाई समेत पठाइएको छ ।






Comments are closed.