चितवन उद्योग संघको सहकार्यमा राष्ट्रिय उद्योग दिवसमा अन्तरक्रिया सम्पन्न

चितवन । उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय चितवनको आयोजना र चितवन उद्योग संघको सहकार्यमा बाह्रौं राष्ट्रिय उद्योग दिवस–२०८३ को अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ ।

“औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्र आधार” भन्ने नारासहित आयोजित कार्यक्रममा उद्योगीहरूका समस्या र औद्योगिक वातावरण सुधारका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले उद्योगीले भोग्दै आएका समस्याबारे जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला उद्योग प्रवद्र्धन समिति चितवनका संयोजक नारायण प्रसाद अधिकारी, चितवन उद्योग संघका पूर्वअध्यक्ष हरि प्रसाद सुवेदी र भेषराज दुवाडी, चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, चितवन उद्योग संघ खैरहनी पालिका समितिकी अध्यक्ष लक्ष्मी थापा खराल, राप्ती पालिका समितिका अध्यक्ष खिल प्रसाद घिमिरे र उद्योग संघ युवा उद्यमी मञ्चका अध्यक्ष भरत दवाडी लगायतले बोलेका थिए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा पर्यटन कार्यालयको स्वरोजगार परियोजना अन्तर्गत बोटे, माझी, हायु, मुसहर र बनकरिया समुदायलाई सिपमूलक तालिम दिइएको थियो। तालिमबाट उद्यमी बनेका फ्रुजो फुड्स एण्ड डिहाइड्रेशन र हाम्रो मिठो अचार उद्योगका सञ्चालकलाई यस अवसरमा सम्मान गरिएको थियो ।

उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय चितवनकी उद्यम विकास सहजकर्ता रञ्जु भट्टले सञ्चालन गरेको कार्यक्रमलाई कार्यालय प्रमुख महेश राज पौडेलले धन्यवाद मन्तव्यसहित समापन गरेका थिए ।

You might also like

Comments are closed.

Secret Link