पृथ्वी होटल व्यवसायी समितिले मुटुरोगीलाई सहयोग गरेर मनायो वार्षिकोत्सव

पोखरा । पृथ्वी होटल व्यवसायी समिति, पोखराले आफ्नो १०औं वार्षिकोत्सव मुटुरोगीलाई सहयोग गरेर मनाएको छ । समितिले पोखरा–१७ छोरेपाटन निवासी ११ वर्षिया मुटुरोगी जेनिसा परियारलाई सहयोग गरेर आफ्नो १० औं स्थापना दिवस मनाएको हो । सो अवसरमा समितिले मुटुरोगी जेनिसाको उपचारका लागि २२ हजार ५ सय ६० रुपैयाँ सहयोगसमेत प्रदान गरेको छ । कार्यक्रममा समितिका अध्यक्ष हरिप्रसाद पाण्डेले मुटुरोगी जेनिसालाई रकम हस्तान्तरण गरेका थिए ।

विपन्न परिवारकी जेनीसाको उपचारमा समस्या रहेपछि उनलाई सहयोग गरिएको पृथ्वी होटल ब्यबसायी समितिका बरिष्ठ उपाध्यक्ष बालकृष्ण निउरेले जानकारी दिए । जेनिसा विपन्न परिवारकी छोरी हुन् । उनको बुबा आर्थिक अभावले छोरीको उपचार गर्न नसकेर धन कमाउन भन्दै भारत पलायन भएका छन् । उनलाई आमा र मामाघरकी हजुरआमाले ज्याला मजदुरी गरि उपचार गराईरहेका छन् ।

पोखराको मनिपाल हस्पीटल र काठमाडौंको गंगालाल हृदयरोग केन्द्रले जेनिसालाई थप उपचारको लागि दिल्ली लैजान भन्दै रिफर गरिसकेको छ । तर आर्थिक अभावका कारण उनको उपचारका लागि भारत लैजान नसकेको परिवारले जनाएको छ । समितिका पदाधिकारीसहित साधारण सदस्यसमेतबाट सहयोग संकलन गरेर जेनिसालाई सहयोग गरेको समितिका महासचिव महेश ज्ञवालीले जानकारी दिए ।

सो अवसरमा मुटुरोगी जेनिसाको हातबाट १० किलोको केक काटेर समितिले वार्षिकोत्सवको खुशीयाली साटेका थिए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रिजन शेरचनले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएका थिए ।

lcci
You might also like

Comments are closed.