आर्चरी मैदानमा हक्की खेलाउन बाध्य

सन्देश श्रेष्ठ

पोखरामा आर्चरी मैदानमा हक्की प्रतियोगिता आयोजना गरिएको छ । सहाना प्रधान स्मृति दोश्रो महिला हक्की प्रतियोगिता पोखरा रंगशालास्थित आर्चरी मैदानमा खेलाइएको हो । हक्की मैदान नहुँदा आर्चरी मैदानमा खेलाउन बाध्य भएको प्रतियोगिता आयोजक नेपाल हक्की संघले जनाएको छ । संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक हिमाल खड्काले भने,‘हामीले रहरले होइन, बाध्य भएर आर्चरी मैदानमा खेल खेलाएका हौं ।’

अहिले प्रतियोगिता भइरहेको आर्चरी मैदानपनि हक्कीका लागि उपयुक्त मैदान भने होइन । हक्की एस्ट्रो टर्ल बिछ्याएको मैदानमा खेलाइनुपर्ने हो तर अहिले प्रतियोगिता भइरहेको मैदान धुलाम्मे घाँसे मैदान छ । जसका कारण हक्की स्टिकले बलमा हान्दा धुलो उड्छ । यसले गर्दा बेलाबेला खेलाडीको आँखामासमेत धुलो पर्नेगरेको छ । पोखरामा हक्कीका लागि उपयुक्त मैदान नै नभएकाले बाध्य भएर अलिअलि धुलो उड्ने भएपनि प्रतियोगिता आयोजना गरिएको संयोजक खड्काको भनाई छ ।

jutta mela

आर्चरी मैदानमा हक्की प्रतियोगिता गरिएको यो पहिलोपटक भने होइन । यसअघी गत वर्ष पुरुषको राष्ट्रिय हक्की प्रतियोगिता यहि मैदानमा गरिएको थियो । मैदान अभावमा हक्की प्रतियोगिता आर्चरी मैदानमा गरिदै आएको हो । आगामी वर्ष गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमापनि हक्की प्रतियोगिता हुँदैछ । तर मैदान अभाव हुँदा प्रतियोगिता आयोजना गर्न कठीनाई हुने पक्का छ ।

पोखरामा मात्रै होइन, काठमाडौंमा पनि हक्कीको मैदान नरहेको नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले बताए । हक्की मैदानकै अभावमा गत मंसिरमा भएको तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा हक्की खेल खेलाइएको थिएन । भारतले हक्की खेलाउन दवाब दिएपनि मैदान अभावमा नेपालले सो खेल नखेलाउने निर्णय गरेको थियो । राज्यलाई जग्गा देउ भन्दापनि बेवास्ता गरेको खड्काको गुनासो छ । हामीले मैदान देउ भनेर पटक÷पटक राज्यलाई भनिरहेकै छौं,‘उनले भने,‘राज्यले मैदान नदिदा हामी अर्काको मैदानमा खेल खेलाउन बाध्य छौं ।’ उनले पोखरा र काठमाडौं मध्ये कुनै एक ठाउँमा मैदान दिए तत्काल हक्की मैदान बनाउन सकिने बताए ।

हक्कीको रंगशाला बनाउनका लागि एसियन हक्की फेड्रेसनले १० करोड बराबरको सामग्री दिन्छु भन्दापनि ठाउँको अभावमा बनाउन नसकिएको खड्काले बताए । उनले हक्की मैदानका लागि एस्ट्रो टर्ललगायतका सामग्री एसियन हक्की फेड्रेसनले दिने उनको भनाई छ । उनका अनुसार हक्की मैदान केहि ओसिलो हुनुपर्छ । बल गुड्न सजिलोका लागि हक्की मैदानमा स्पेसल विशेष ढलान गर्नुपर्छ र त्यहाँ पानीको पाइप बिछ्याउनुका साथै म्याट राखिन्छ । खेल खेल्दा मैदान ओसिलो भइरहनुपर्ने र बल प्रहार गर्दा पानीको छिटासमेत अलिअलि उछिट्टिने खालको हुनुपर्ने भन्दै उनले त्यस्तो प्रकारको सामग्री फेड्रेसनले दिन्छु भनेको बताए । ३ वर्षअघी दिन्छु भनेको बजेट नेपालले उपयुक्त ठाउँ नपुग्दा गुम्यो,‘उनले भने,‘अहिलेपनि पछिल्लो २ वर्षदेखि दिन्छु भनिरहेकै छ उसले, तर राज्यले जमिन नदिदा योपनि गुम्ने खतरा छ ।’ उनले अब १ वर्ष भित्रमा ठाउँ दिए एसियन हक्की फेड्रेसनले दिन्छु भनेको १० करोड बराबरको हक्की मैदानको सामग्री दिने बताए ।

हक्की संघ कास्कीका महासचिव एकराज गिरीले हक्कीका लागि पोखरा रंगशाला भित्रै ठाउँ दिन आग्रह गरे । हक्की प्रतियोगिताको उद्घाटन कार्यक्रमको सञ्चालनका क्रममा उनले भने,‘मैदान अभावमा हामीले बाध्य भएर आर्चरी मैदानमा हक्की खेलाएका छौं,‘माननीय मन्त्री ज्यू हामीलाई रंगशाला भित्रै जग्गा दिनुस्, हामी हक्की मैदान बनाउँछौं ।’

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा भने २०१० सालमा स्थापित पुरानो खेल संघ भएपनि हक्की संघ निस्कृय हुँदा हक्की खेल मैदान निर्माण र खेल गतिविधि नभएको बताउँछन् । उनले मैदान बनाउनदेखि खेल गतिविधि बढाउन हक्की संघ गम्भीर भएर लाग्नुपर्ने बताए । उनले हक्कीका लागि जग्गा दिन सकिने बताउँदै त्यसका लागि हक्की संघ नै तात्नुपर्ने बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ हक्कीका लागि पोखरा रंगशालामै मैदान दिन सकिने बताउँछन् । ह्याण्डबल सँगैको मैदान हक्कीका लागि दिनसकिने भन्दै उनले भने,‘यो बारेमा यसअघी पर्याप्त छलफल भएन, अब भोलि नै हक्की संघका पदाधिकारीसँग बसेर टुंगो लगाउँछौं ।’

You might also like

Comments are closed.