राहत वितरण गर्दा लागेको ऋण मोवाइल बेचेर तिर्दै विद्यार्थी नेता सापकोटा

पोखरा । पोखराका एक विद्यार्थी नेताले राहत वितरण गर्दा लागेको ऋण मोवाइल बेचेर तिर्ने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूका केन्द्रीय सदस्य क्षितिज सापकोटाले राहत वितरण गर्दा लागेको ऋण मोवाइल बेचेर तिर्न लागेका हुन् । मोवाइल बेच्नका लागि उनले पोखरा महेन्द्रपुलस्थित मोवाइल पसलेलाई जिम्मा लगाइसकेका छन् । ताजुबलाग्दो त कुरा के छ भने राहत वितरण गर्दा लागेको ऋण तिर्न बेचेको मोवाइल उनको आफ्नै नभई साथीले उपहार स्वरुप विदेशबाट पठाएको मोवाइल हो । उनले चलाउँदै आएको आइफोन–फाइभ मोवाइल उनलाई २ वर्षअघि अमेरिकामा रहेका साथी राजु कार्कीले उपहार स्वरुप पठाई दिएका थिए ।

विद्यार्थी नेता सापकोटाको नेतृत्वमा पोखरामा केहि दिनअघि जिल्ला प्रशासन कार्यालय कास्कीले लगाएको निषेधाज्ञाका बेला विहान बेलुका हातमुख जोर्न नसक्नेहरुका लागि फुड सेन्टर सञ्चालन गरिएको थियो । फुड सेन्टरमा नहुनेलाई निःशुल्क सामान वितरण गरिएको थियो भने हुनेले राहत प्रदान गर्ने भनिएको थियो । भईदियो के भने नहुनेले सामान लिएर गए । तर दिने एकाधबाहेक कोहिपनि निस्केनन् । दाता नभेटिएपछि थालेको अभियानलाई सफल बनाउन उनले पोखरा शितलादेवीस्थित किशोर सप्लायर्सबाट उधारो सामान लिए ।

राहत लिने र दिने बराबरी नै हुने अनुमानका आधारमा खोलिएको फुड सेन्टरमा दिने भन्दा लिने बढी भएपछि ऋण लाग्यो । त्यहि राहत वितरण गर्दा लागेको ऋण तिर्न बारम्बार ताकेता हुन थालेपछि उनले मोवाइल बेचेर तिर्न लागेको बताएका छन् । फुड सेन्टर चलाउँदा राहत लिँदा रकममा आर्थिक सहयोग नलिई खाद्यान्न सामान मात्र लिने नियम बनाइएको थियो । हो त्यहि नियमका कारण उनी मोवाइल बेच्न बाध्य भएका हुन् । सहयोग गर्न केहिले अझैपनि ईच्छा व्यक्त गरेका छन्,‘उनले भने,‘तर पैसा तिर्नु पर्नेछ, नियमले सामान मात्र लिनु भन्नेछ, त्यसैले मोवाइल बेच्नुको विकल्प रहेन ।’ उनले मोवाइल बेच्नुपरेकोमा मोवाइल उपहार दिने साथी राजु कार्कीसँग माफी मागेका छन् ।

राहत वितरण गर्दा लागेको ऋण तिर्न मोवाइल बेचेको कुरा पब्लिसिटी स्टन्ट त होइन नि भन्ने नागरिकको प्रश्नमा उनले भने,‘किन हुन्थ्यो र ! आफ्नै घर जलाएर किन गर्नु परेको छ र पब्लिसिटी ।’

You might also like

Comments are closed.