पोखरा । पोखरा महानगरपालिकाले अनलाइन मार्फत कृषकको वर्गीकरण गर्ने भएको छ । महानगरमा रहेका सम्पूर्ण कृषकहलाई परिचयपत्र वितरण गर्नका लागि अनलाईन मार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रकृया अगाडी बढाइएको महानगरपालिकाले जनाएको छ ।
महानगरले तयार पारेको वेवसाईट https://apms.pokharakrishi.com मा राखिएको अनलाईन दर्ता फारम भरेर कृषक सुचिकृत हुन सक्नेछन् । सोमबार महानगरका प्रमुख मान बहादुर जिसीले वेवसाईट क्लिक गरी शुभारम्भ गरे ।
सो अवसरमा बोल्दै मेयर जिसीले कृषिमा थप जागरण ल्याउन र वास्तविक कृषकको पहिचान गर्न सहज हुने विश्वास व्यक्त गरे । फारम भर्ने तरिका र यसलाई थप प्रभावकारी बनाउन कृषहरुलाई प्रत्यक्ष रुपमै जानकारी गराउनुपर्नेमा उनले जोड दिए ।
कृषि क्षेत्रको समग्र बिकासको लागि स्रोत साधनको न्यायोचित र प्रभावकारी व्यवस्थापन गरि वास्तविक कृषक लाभान्वित हुने सुनिश्चितता कायम गर्न यो प्रणाली महत्वपूर्ण रहेको मेयर जिसीले बताए । उनले स्मार्ट सिटी बनाउने अभियानका लागि यस किसिमको कार्य सहयोगी बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले फारम भर्न कार्यालयसम्मै धाउनुपर्ने बाध्यता अन्त्यका लागि अनलाईन फारमको व्यवस्था गरिएको बताए । कृषकहरुले सबै विवरण घरमै बसेर मोवाईलबाटै पनि भर्न मिल्ने गरी व्यवस्था मिलाईएको उनले बताए । फारममा कृषकको सम्पूर्ण विवरण भरेर पेश गरेपछि उक्त विवरणकै पहिचान गर्न सहज हुने उनको भनाई थियो । कोरोना भाईरसको महामारीका बेला कार्यालयमा भिडभाड गर्नुभन्दा अनलाईनबाटै काम गर्दा छरितो पनि हुने उनको धारणा थियो ।
कृषि क्षेत्रमा संलग्न कृषकहरुलाई संलग्न तालिकामा दिईए अनुसारको विवरण अनलाइनबाट भर्न उनले अनुरोध गरे । कृषकहरुले पेश गरेको विवरण सम्बन्धित वार्डले रुजु गरि सिफारिसका साथ महानगर कृषि तथा पशु बिकास महाशाखामा पठाउने र सम्बन्धित किसानले परिचय पत्र नं र बर्गिकरण सहितको कार्ड प्राप्त गर्ने उनले जानकारी दिए । उक्त कार्यविधिमा केहि परिबर्तन भएकोले बिगतमा कार्ड लिएका कृषकहरले पनि पुनः फर्म भर्न उनले अनुरोध गरेका छन् ।
Comments are closed.