कोरोनाको जोखिम बढेको भन्दै बर्खे अधिवेशन अन्त्य गर्न माग

पोखरा  । कोरोनाको जोखिम बढेको भन्दै गण्डकी प्रदेश सभाका सदस्यले बर्खे अधिवेशन अन्त्य गर्न माग गरेका छन् । गण्डकी प्रदेश सभाको आइतबारको बैठकको शून्य समयमा बोल्ने प्रतिपक्षी दलका सांसदहरुले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिम बढेको भन्दै प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य गर्न माग गरेका हुन् ।

आइतबारको शून्य समयमा बोल्दै प्रदेश सभा सदस्य मनकुमारी गुरुङले प्रदेश सभाको बर्खे अधिवेशन आईतबार नै अन्त्य गर्न माग गरिन् । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम गण्डकी प्रदेशमा बढेको छ,‘सरकारले ल्याउनैपर्ने विधेयक ल्याईसकेको छ, बाँकी विधेयक हिउँदे अधिवेशनमा ल्याएपनि हुन्छ, त्यसैले बर्खे अधिवेशन भने आजै अन्त्य गर्न माग गर्दछु ।’ उनले प्रधानमन्त्रीका सल्लाहकारदेखि सुरक्षाकर्मीसम्म संक्रमण देखिनुले कोरोनाको जोखिम कति छ भन्ने प्रष्ट हुने भन्दै यसमा हेलचेक्राईं नगर्न आग्रह गरिन् ।

jutta mela

अर्का सदस्य डोबाटे विश्वकर्मालेपनि कोरोनाको जोखिम बढेको भन्दै प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य गर्न आग्रह गरे । कोरोना समुदायमा फैलिइसकेको छ,‘उनले भने,‘प्रदेश सभामा अत्यावश्यक बिजनेस खास केहि छैन, त्यसैले प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य गर्दा उपयुक्त होला कि ? ।’ विश्वकर्माले नेपालीको महान चाड दशैंको अवसरमा आफू भन्दा ठूला बडाको हातबाट टीका ग्रहण गर्ने प्रचलन रहेपनि यस वर्ष कोरोनाको जोखिमलाई मध्यनजर गर्दै आफ्नो घरबाहेक अन्य आफन्तकोमा टीका लगाउन नजाने वातावरण निर्माण गर्नसमेत सरकारलाई आग्रह गरे । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोनाको जोखिम हाम्रो गण्डकी प्रदेशमा पनि बढ्यो,‘उनले भने,‘त्यसैले घरबाहेक अन्य आफन्तकोमा टीका थाप्न नजाने वातावरण निर्माण गर्न म सरकारलाई आग्रह गर्दछु ।’

बैठकमा विशेष समयमा बोल्ने अन्य सांसदहरुले भने दशैंसँगै प्रदेश राजधानी पोखराबाट घर फर्कनेको संख्या बढ्ने भएकाले अबरुद्ध सडक खुलाउने, सामानहरुको अभाव हुन नदिन, बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तीमा परेकाहरुलाई राहत उपलब्ध गराउनेलगायतका कार्य चाँडो भन्दा चाँडो गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । सांसद मीना गुरुङले प्रदेश सरकारलाई कुरा भन्दा बढी काम गर्न आग्रह गरिन् । सरकारले गरेका सकारात्मक निर्णयहरुपनि कर्मचारी प्रशासनका कारण ब्यबहारमा कार्यान्वयन नभएको भन्दै तत्काल कार्यान्वयन हुने वातावरण निर्माण गर्न उनले आग्रह गरिन् ।

You might also like

Comments are closed.