दमौली । स्थानीयवासीले राखेका माग पूरा गर्न तनहुँ जलविद्युत आयोजना अग्रसर भएको छ । आयोजना प्रभावित क्षेत्र तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारका स्थानीयवासीले राखेका विभिन्न माग मध्ये प्राथमिकताका आधारमा माग सम्बोधन गर्न लागिएको हो ।
आयोजना प्रमुख अच्युत घिमिरेले पूरा गर्न सकिने मागलाई सम्बोधन गरिएको जानकारी दिए । उनका अनुसार सुरुङ निर्माणका क्रममा क्षति पुगेका खानेपानी पाइप र सडकमा जडान गरिएका सडकबत्ती मर्मत गरिएको छ ।
कतिपय मागहरु आयोजना एक्लैले मात्रै पूरा गर्न नसकिने हुँदा सबै पक्षसँग समन्वय गरिने घिमिरेले जानकारी दिए । स्थानीयवासी केशर थापाले खानेपानीको पाइप मर्मत गरिएपछि खानेपानीको समस्या केही हदसम्म समाधान भएको बताए ।
एक सय चालीस मेगावाट क्षमताको आयोजनाअन्तर्गत सिनो हाइड्रोले दोस्रो प्याकेज अन्तर्गतको विद्युतगृह निर्माणको काम गरिरहेको छ । विद्यृतगृह निर्माणका लागि १ सय ८८ मिटर केवल टनेलको काम केही समय अगाडी मात्रै सम्पन्न भएको थियो । सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।
Comments are closed.