आयुर्वेद अनुसन्धान केन्द्रमा रोपियो गुर्जोका ५ सय बिरुवा

काठमाडौं । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र कीर्तिपुरमा औषधीय गुणले युक्त गुर्जोका ५ सय बिरुवा रोपिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले कार्यक्रमलाई सम्बोधन गर्दैै गुर्जोजस्ता औषधि गुणले युक्त वनस्पतिको प्रवद्र्धन गरिनुपर्ने, यसबाट औषधि बनाएर विदेशमा समेत निर्यात गर्न सकिने भएकाले कार्यक्रमलाई अन्यत्र पनि बिस्तार गर्न सकिने बताए ।

संस्कृतमा अमृता अर्थात् अमृतका रुपमा व्याख्या गरिएको गुर्जोको नेपालका पहाडी भेगमा समेत प्रशस्त पाइने भए पनि पछिल्लो समय औषधिका रुपमा उपयोग हुनेक्रम घटेको थियो । गत वर्ष चैतमा कोरोना महामारी फैलिएपछि भने गुर्जोलाई नयाँपुस्ताले समेत औषधिका रुपमा चिनेका छन् ।

सो अवसरमा १५७ किलो गुर्जोको काँचो टुक्रा डाँठ केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादवलाई प्रदान गरिएको थियो । कार्यक्रममा यादवले गुर्जोबाट बनेको चिया गर्भवती महिला र पाँच वर्ष मुनिका बालबालिका बाहेक अरुले सेवन गर्न हुने बताए। गुर्जो रोपण कार्यक्रममा कीर्तिपूर नगरपालिकाका प्रमुख रमेश महर्जन लगायत स्थानीयवासी पनि सहभागी थिए । नगर प्रमुख महर्जनमार्फत कीर्तिपुरवासीलाई दुई हजार गुर्जोका बिरुवा हस्तान्तरण गरिएको छ ।

केन्द्र परिसरमा रोपिएका करिब ५०० बिरुवा देशव्यापीरुपमा गुर्जो वितरण अभियानमा लागेका अभियानकर्मी एवं आन्तरिक राजश्व कार्यालय धुलिखेलमा प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले उपलब्ध गराएका हुन् ।

राजलवटले यसअघि आन्तरिक राजश्वको लहान कार्यालय प्रमुख रहदाँ त्यहाँको सरकारी आवास क्षेत्रमा लगाएका बिरुवा देशव्यापीरुपमा वितरण गरेका थिए । हालसम्म देशभर १ लाख ४० हजारभन्दा बढी बिरुवा वितरण गरिएको उनले बताए ।

यसैगरी नयाँबानेश्वरस्थित सचेतनामार्गमा पनि ३०० गुर्जोका बिरुवा वितरण गरिएको छ । पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले त्यस क्षेत्रमा गुर्जोका बिरुवा स्थानीयवासीलाई हस्तान्तरण गरेका हुन् ।

कीर्तिपुर र नयाँबानेश्वरमा समेत भएको कार्यक्रममा उपस्थितलाई गुर्जोको धुलो र चियासमेत वितरण गरिएको अभियानकर्मी राजलवटले जानकारी दिए । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा व्यक्ति जन्मन्छन् तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ ।

नेपालमा धेरै वनस्पति पाइने भए पनि पछिल्लो समय मानिसले बिर्संदै गएकाले चेतना जगाउने कामका रुपमा पनि गुर्जो वितरण अभियानलाई अघि बढाइएको जीवन विज्ञानका प्रशिक्षक रामप्रसाद पन्थीले बताए । अभियानकर्मी राजलवटलाई प्रशिक्षक पन्थीका साथै राष्ट्रिय योजना आयोगका सहसचिव एवं योग प्रशिक्षक किशोर जोशीले समेत साथ दिँदै आएका छन् ।

You might also like

Comments are closed.