काठमाडौं । व्यापार सहजीकरणका लागि भन्सार र सीमा नाकाका पूर्वाधारमा ध्यान दिनुपर्ने सुझाव उद्यमी व्यवसायीले दिएका छन् । हाल रेलमा आधारित सुख्खा बन्दरगाह वीरगञ्जको मात्रै भएकाले विराटनगर, भैरहवालगायत भन्सारमा पनि त्यस्तै सुविधा विस्तारमा ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार आयोजित अन्तरक्रियामा सहभागी उद्यमी व्यवसायीले विराटनगर र भैरहवा नाका अत्याधिक मात्रामा सञ्चालनमा आएकाले पूर्वाधारमा जोड दिनुपर्ने धारणा राखेका थिए । नेपाल भारत सीमामा बन्दै गरेका एकीकृत जाँच चौकीको निर्माण तत्काल पूरा गर्नुपर्नेमा जोड दिँदै कार्यक्रममा सहभागी उद्यमी व्यवसायीले व्यापार सहजीकरणका साथै लागत घटाउनेतर्फ जोड दिए । उनीहरुले भौतिक पूर्वाधारमा मात्र नभई अन्य सुविधा र प्रविधिको प्रयोग बढाउनु आवश्यक रहेको स्पष्ट पारे ।
राजश्व सचिव, भन्सार विभागका महानिर्देशक र अर्थमन्त्रालयअन्तगत विभिन्न निकायका पदाधिकारी सहभागी कार्यक्रममा उद्यमी व्यवसायीले नेपाल भारत सीमामा बन्दै गरेका एकीकृत जाँच चौकीको निर्माण तत्काल पूरा गर्नुपर्ने बताए । नेपाल भारतबीचको खुला सीमाका कारण हुने अनधिकृत व्यापारलाई रोक्नेतर्फ ध्यान जानुपर्नेमा जोड दिँदै भन्सार प्रशासनले यसको नेतृत्व लिन सुझाव दिएका थिए । भन्सारमा हुने सम्पूर्ण भुक्तानी विद्युतीय माध्यमबाट हुनुपर्नेमा पनि उनीहरुको जोड थियो ।
महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडको विश्वव्यापी महामारिका कारण यस वर्षको अन्तर्राष्ट्रिय भन्सार दिवसको नारा पनि दिगो आपूर्ति श्रृंखलाको लागि भन्सारको पुनरुत्थान, नवीकरण र दृढता रहेकामा प्रसन्नता व्यक्त गरे । ‘भन्सारमा मुख्य विषय भन्सार मूल्याङ्कन र वर्गीकरणको हो । हाम्रो भनाइ भन्सार मूल्याङ्कन र वर्गीकरण दुवै यथार्तपरक हुनुपर्छ । यसमा सरकारको राजश्व पनि नगुमोस र पैठारीकर्तालाई पनि भन्सार मूल्याङ्कन बढी भयो र वर्गीकरण फरक भयो भन्ने गुनासो आउने ठाउँ राख्नु भएन,’ उनले भने ।
भन्सारबाट छुटेको सामान राजश्व अनुसन्धान विभागले बाटोमा रोक्ने गरेका घटना छन भन्दै अध्यक्ष गोल्छाले एउटा विभागले अर्कोलाई विश्वास नगर्ने वातावरण नहोस् भन्ने निजी क्षेत्रको चाहना रहेको उल्लेख गरे । भन्सारसम्बन्धी शीघ्र विवाद समाधान गर्न एक विवाद समाधान संयन्त्र बनाउनुपर्ने सुझाव पनि उनको थियो । भन्सारलगायत राजश्व नीति निर्माणमा सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले प्रशासनको नियमित सुधारका लागि विभाग क्रियाशील रहेको र कार्यस्थलमा देखिएका समस्या समाधानमा आफूहरु सधैँ तयार रहेको बताए । उनले विभागमा निकै धेरै सुधार भएको र यो नियमित रहेको पनि स्पष्ट पारे ।
अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनीले हरेक सुधारका अभियानमा सरकारलाई निजी क्षेत्रबाट बलियो सहयोग प्राप्त भएको भन्दै कर राजश्व सुधारमा पनि निजी क्षेत्रको सहयोग आवश्यक भएको बताए । ‘निजी क्षेत्रलाई उद्योग व्यवसाय गर्दा कहाँ समस्या छन् तपाईंहरु स्पष्ट रुपमा भन्नुहोस् सरकार सहयोग गर्न तयार छ,’ सचिव पुडासैनीले भने ।
कार्यक्रममा महासंघको कर तथा राजश्व समितिका सभापति सन्दीप अग्रवाल, उपाध्यक्ष दिनेश श्रेष्ठले भन्सार प्रशासनको समसामयिक सुधार हुनुपर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष अञ्जन श्रेष्ठ, रामचन्द्र संघईं, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, कार्यकारिणी समितिका सदस्यको सहभागिता थियो ।



Comments are closed.