महासंघको स्वास्थ्य तथा सीप विकास समितिमा ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्वास्थ्य तथा सीप विकास समिति विस्तार गरेको छ । कार्यकारिणी समितिका सदस्य हेमराज ढकालको सभापतित्वमा गठित समितिको सह–सभापतिद्वयमा भक्तबहादुर हमाल र लोकनाथ गैरे चुनिएका छन् । समितिका सदस्यमा हेमराज बडाल, मृगेन्द्रमेहर श्रेष्ठ, सीताराम रेग्मी, रामेश्वर पराजुली, शङ्कर खड्का र राजेन्द्र बराल छन् ।

यस्तै समितिको आमन्त्रित सदस्यमा नेपाल हस्तकला महासंघका उपाध्यक्ष सुनिल चित्रकार, ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उसन बज्राचार्य, नेपाल उद्योग वाणिज्य संघ, काठमाडौँका कार्यकारिणी समिति सदस्य सदिस श्रेष्ठ, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र साह, कुवेर निरौला, केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसिएशन अफ नेपाल अध्यक्ष सुरेश घिमिरे, नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेशकुमार अग्रवाल र सम्यक डाइगोन्स्टिक प्रालिका अध्यक्ष डा केयुर गौतमलगायत छन् ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले वैदेशिक रोजगारीमा रहेका युवा सीपबिना नै गएका कारण न्यूनतम पारिश्रमिक नपाउने अवस्था आएको भन्दै दक्ष जनशक्ति विकासमा समितिले आफूलाई केन्द्रित गर्न सुझाव दिए । उनले देशभित्र कपाल काट्ने व्यवसायदेखि, ज्वेलरी तथा निर्माण क्षेत्रमा लाखौँ विदेशी कामदारले काम गरिरहेकाले स्वदेशमै आवश्यक सीपसहित दक्ष जनशक्ति उत्पादन गर्न सके स्वदेशमा नै रोजगारी सिर्जना गर्न सकिने बताए ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उक्त समितिको भूमिका ठूलो रहेको भन्दै समयसमयमा बैठक राखेर विभिन्न कार्यक्रमको तर्जुमा गर्न सुझाव दिए । महासंघको रोजगारदाता परिषद्का सभापति एवं पदेन उपाध्यक्ष रामचन्द्र संघईले अहिले पनि विदेशी दातृ निकायले नेपाली कम्पनीको सहकार्यमा नेपाली कामदारलाई तालीम दिँदै आएको जानकारी दिँदै अबका दिनमा यस्ता विषयमा समितिले अग्रता लिनुपर्ने धारणा राखे ।

समितिका सभापति ढकालको अध्यक्षतामा बसेको पहिलो बैठकले नेपाली युवालाई क्षेत्रगत रुपमा तालीम दिएर स्वदेशमै रोजगारी सिर्जना गर्ने काम गर्ने, नेपाल सरकार शिक्षा मन्त्रालय र विभिन्न संघसंस्थासँग सहकार्य गरी नेपाली उद्योग व्यवसायका लागि आवश्यक जनशक्ति विकासका लागि पहल गर्ने निर्णय गरेको छ ।

You might also like

Comments are closed.