पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिलाई पूर्णता दिइएको छ । बिहीबार बसेको संघको दोस्रो पूर्ण बैठकबाट ४ जनालाई मनोनित गरिएको महासचिव सुरेन्द्रमान बिजुक्छेले आर्थिक आवाजलाई जानकारी दिए ।
संघका अध्यक्ष नारायण कोइरालाले संघको विधानको परिच्छेद ६.१.१. को ‘ड’ ले दिएको अधिकार प्रयोग गर्दै ४ जना सदस्य मनोनित गरेका हुन् । विधानले अध्यक्षलाई साधारण सदस्यबाट ४ जना सदस्य मनोनितको अधिकार दिएको छ ।
मनोनित हुनेहरुमा मानस मार्केटिङका मनोज श्रेष्ठ, रामकृष्ण बस्त्रालयका यामनाथ तिमिल्सिना, माउण्ट कैलाश रिसोर्टका नरेश भट्टराई र पोखरा फ्लोरिङ एण्ड फर्निसिङका प्रोपाइटर प्रदीप राजभण्डारी छन् । कार्यसमितिमा ४ जनाको मनोनयसँगै २९ सदस्यीय कार्यसमितिले पूर्णता पाएको छ ।
बैठकले ६७औं वार्षिकोत्सव भव्यताका साथ मनाउने समेत निर्णय गरेको छ । माघ २५ गते संघको वार्षिकोत्सव हो ।
विभिन्न उपसमिति गठन
संघको बिहीबार बसेको कार्यसमितिको बैठकले विभिन्न उपसमितिहरु पनि गठन गरेको छ । संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार राजश्व, बैक तथा हेल्पडेक्स उपसमितिको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिलाई दिइएको छ ।
रोजगारदाता, उद्योग, मेला समन्वय उपसमितिको जिम्मेवारी उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले लिएका छन् । वाणिज्य तथा बजार व्यवस्थापन उपसमितिको संयोजकमा वाणिज्यतर्फका उपाध्यक्ष अर्जुन पोखरेल छन् । प्रशासन र सदस्यता उपसमितिमा महामसचिव सुरेन्द्रमान विजुक्छे, आर्थिक उपसमितिमा कोषाध्यक्ष बलराम तिमिल्सिना र महिला उद्यमी उपसमितिको संयोजकमा कुमारी मुना बास्तोला छन् ।
बस्तुगत संघ समन्वय उपसमिति संयोजकमा कार्यसमिति सदस्य बलराम तिमिल्सिना, पर्यटन विकास उपसमिति संयोजकमा कार्यसमिति सदस्य देवेन्द्र केसी, कृषि उपसमिति संयोजकमा कार्यसमिति सदस्य दीनेश बास्तोला, घरेलु उद्योग तथा हस्तकला उपसमितिमा कार्यसमिति सदस्य पवित्रा गुरुङ, शिक्षा उपसमितिमा उपमहासचिव केशवबहादुर खत्री चयन भए ।
सूचना प्रविधि व्यवस्थापन, प्राइभेट पार्टनरसीप, संघ÷संस्था व्यवस्थापन, प्रोजेक्ट प्रोग्राम समन्वय र स्वास्थ्य उपसमिति संयोजकको जिम्मेवारी क्रमशः कार्यसमिति सदस्यहरु सुदीप प्रधानाङ्ग, हरिराज पन्त, हर्कबहादुर अधिकारी र भरतबहादुर केसीले लिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ,प्रदेश महासंघ, जिल्ला नगर उद्योग वाणिज्य संघसँगको समन्वय उपसमितिको संयोजकको जिम्मेवारी महासंघका केन्द्रीय सदस्य तथा संघका निवर्तमान अध्यक्ष दामु अधिकारीले लिएका छन् । उपसमिति संयोजकहरुले आवश्यकता अनुसार सदस्यहरु मनोनित गर्ने महासचिव विजुक्छेले जानकारी दिए । संघका अध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा बैठक बसेको हो ।



Comments are closed.